
झापा । प्रतिनिधिसभा निर्वाचन २०८२ को मतगणनाअन्तर्गत झापा क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन्द्र शाह (बालेन) ले निकै फराकिलो मतान्तरले अग्रता लिइरहेका छन् ।
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको ‘गढ’ मानिने यो क्षेत्रमा बालेनले ओलीलाई निकै ठूलो अन्तरले पछि पारेका हुन् ।
पछिल्लो आधिकारिक तथ्याङ्क अनुसार, हालसम्म २०,४४४ कुल मत गणना भइसकेको छ। जसमा रास्वपाका बालेन्द्र शाहले १३,६५४ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जम्मा ३,०११ मत पाएका छन् ।
अहिले बालेन र ओलीबीचको मतान्तर १०,६४३ पुगेको छ । प्रारम्भिक मतपरिणामबाटै बालेनले भारी अग्रता लिएपछि यो क्षेत्रमा चुनावी नतिजा उल्टिने र एमालेको बलियो पकड भत्किने सम्भावना देखिएको छ । झापा ५ मा ओलीले लामो समयदेखि एकछत्र जित हासिल गर्दै आएका थिए, तर यसपटक रास्वपाका बालेनको उदयले नयाँ मोड लिएको छ ।
अहिले उक्त क्षेत्रमा मतगणना जारी छ र बालेनको अग्रता झन्झन् बढ्दै गएको देखिन्छ ।








प्रतिक्रिया