
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको मौन अवधि सुरु भएसँगै काठमाडौंका दुई स्थानमा सवारी साधनमा आगजनी भएको छ।
मंगलबार बिहान करिब ३ बजेतिर काठमाडौं महानगरपालिका–२६ स्थित सुकेधारा र चन्द्रागिरि नगरपालिका क्षेत्रको नैकापमा दुई वटा गाडी आगजनी गरिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईका अनुसार नैकापस्थित पुल नजिक बा ७ च १४०१ नम्बरको भ्यान र सुकेधारामा बिएए २८३६ नम्बरको कारमा आगजनी भएको हो । बिहान पौने ३ देखि पौने ४ बजेको बीचमा घटना भएको प्रारम्भिक जानकारी आएको उनले बताए।
घटनास्थलबाट दुर्गा प्रसाईंसँग सम्बद्ध पर्चा फेला परेको छ ।
प्रहरीका अनुसार पर्चा भेटिएकाले प्रसाईंसँग आबद्ध समूहको संलग्नता हुनसक्ने आशंकामा अनुसन्धान अघि बढाइएको छ।
राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई यसअघि फागुन १७ गते भक्तपुरस्थित निवासबाट पक्राउ गरिएको थियो ।
उनलाई निर्वाचन बिथोल्ने प्रयास गरेको आरोपमा अनुसन्धानका लागि हिरासतमा राखिएको छ। हाल उनी जिल्ला प्रहरी परिसर भक्तपुरको हिरासतमा छन् ।








प्रतिक्रिया