झापा-२: निवर्तमान सभामुख र उपसभामुख संसद पुग्लान्, कसले देला चुनौती ?

70
Shares

विराटनगर । फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनमा निवर्तमान सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना पुनः संसद् छिर्लान् वा दुवै रोकिएलान् ? यो प्रश्नले यसबेला झापामा मात्र नभई मुलुकभर चर्चा कमाएको छ ।

एमालेका घिमिरे र रास्वपाकी राना संसद् छिर्नका लागि झापा क्षेत्र नम्बर २ मा आमनेसामने छन् । उनीहरूलाई कांग्रेसकी सरिता प्रसाईं, नेकपाकी धर्मशिला चापागाईं मात्र नभई राप्रपाका स्वागत नेपाल सहित १८ जनाले चुनौती दिएका छन् । नेपाल अघिल्लो निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर घिमिरेसँग करिब २ हजार ३ सय मतले पराजित भएका थिए।

अघिल्लो निर्वाचनमा एमालेका घिमिरे २८ हजार ७१६ मत ल्याएर विजयी हुँदा स्वतन्त्र उम्मेदवार नेपालले २६ हजार ४५५ मत पाएका थिए। त्यसबेला माओवादीसँगको गठबन्धनका कारण कांग्रेस यहाँ उम्मेदवारविहीन थियो। त्यसबेला यस क्षेत्रमा रास्वपाका उम्मेदवारले ८ हजार ७८१ मत पाएका थिए।

यसपटक नेपाल राप्रपाबाट चुनावी मैदानमा छन् । राना रास्वपाबाट र प्रसाईं कांग्रेसको समानुपातिकतर्फबाट संसद् छिरेकी थिइन्। त्यसैगरी नेकपाकी चापागाईं २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन माओवादीबाट उम्मेदवार बन्दा कांग्रेस नेता चक्र वास्तोलालाई हराएर संविधानसभा सदस्य बनेकी थिइन् ।

यो क्षेत्रमा गत निर्वाचनमा एमालेले २६ हजार ४९०, रास्वपाले २२ हजार ५१७, कांग्रेसले १५ हजार ४९८, राप्रपाले ७ हजार ८८० र तत्कालीन माओवादी केन्द्रले ३ हजार ८६९ समानुपातिक मत पाएको थियो । यस क्षेत्रमा २०७० मा कांग्रेसका सुधिर शिवाकोटी र २०७४ मा एमालेकी पवित्रा निरौलाले जितेका थिए ।

बिर्तामोड र अर्जुनधारा नगरपालिका तथा कनकाई नगरपालिकाका दुई वडा समेटिएको यो निर्वाचन क्षेत्रमा १ लाख ४७ हजार ५२२ मतदाता छन् ।