ओली झापा ५ मा अस्तित्व जोगाउन संघर्षरत, बालेनको चुनौती

266
Shares

विराटनगर । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा झापा क्षेत्र नं ५ मा पूर्वप्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओली आफनो राजनीतिक अस्तित्व जोगाउन संघर्षरत छन् ।

चार पटक प्रधानमन्त्री भएका ओलीलाई रास्वपाका वरिष्ठ नेता बालेन शाहले चुनावी टक्कर दिएका छन् ।

२०७९ सालको निर्वाचनमा ओली राप्रपासँगको गठबन्धनमा सर्वाधिक मतान्तरले विजयी भएका थिए । उनले ५२ हजार ३१९ मत ल्याउदा तत्कालीन माओवादी केन्द्रसँग गठबन्धनमा रहेको कांग्रेसका खगेन्द्र अधिकारीले २३ हजार ७४३ मत ल्याएका थिए । त्यहाँ रास्वपाका सुरेश पोखरेलले ११ हजार ७५९ मत पाएका थिए ।
समानुपातिक तर्फ एमालेले ३५ हजार ८७२, कांग्रेसले १६ हजार ८५९, माओवादीले ८ हजार ६८०, राप्रपाले ७ हजार ३७० र रास्वपाले १८ हजार २०५ मत पाएका थिए ।

ओली एमालेबाट र बालेन रास्वपाबाट भावी प्रधानमन्त्रीका उम्मेदवार हुन् ।

ओली झापा ५ बाट यो सहित आठौँ पटक उम्मेदवार बनेका हुन् भने बालेन पहिलो पटक संसदीय निर्वाचनको परीक्षामा छन् ।

ओलीले यसअघिका सात निर्वाचनमध्ये ६ पटक विजयी बन्दै एक पटक पराजयको स्वाद चाखिसकेका छन् । २०४८, २०५१, २०५६, २०७०, २०७४ र २०७९ मा ओली विजयी हुँदा २०६४ मा भने माओवादी उम्मेदवार विश्वदीप लिङ्देनसँग १२ सय मतान्तरले पराजित भएका थिए ।

यसपाली झापामा सवै दलका आ–आफना उम्मेदवार छन् । यहाँ ओली र बालेनसहित कांग्रेसकी मन्थरा चिमरिया पौडेल र नेकपाका रञ्जित तामाङ लगायत छन् ।

उक्त क्षेत्रमा मुख्यगरि ओली र बालेनबीच चर्को प्रतिस्पर्धा देखिएको छ ।