बालेनको सम्बोधनः मेस्सी-रोनाल्डोलाई फुटबल खेल्न र चितवनलाई पर्यटन प्रबर्द्धन गर्न कसैले सिकाउनुपर्दैन

119
Shares

नमस्ते ! नमस्ते ! नमस्ते ! नमस्ते !

तपाईंहरूको मनपर्ने रंग के हो ? नीलो ? तपाईंहरूको मनपर्ने बाजा के हो ? बजाउन मिल्ने चिज ? (भिडबाट ‘घण्टी.. घण्टी..’को आवाज) । यसपाली के गर्ने त्यसलाई ? (घण्टी बजाउँछन्)

अघि प्लेन ल्यान्डिङ गर्दा गर्दै एउटा कुरा नोटिस गरिरहेको थिएँ । चितवनमा छत माथि नीलो जस्ता राख्ने चलन रहेछ । सबका सब निलो ! जिस्काउनलाई राख्या जस्तो । कसलाई जिस्काउनुभएको त्यस्तरी ? त्यो नीलो छानोले छतलाई मक्किनबाट जोगाउँदो रहेछ – राष्ट्रिय स्वतन्त्र पार्टी जस्तै !

चितवन झर्दै गर्दाखेरि एकजना भाइले भन्नुभयो, ‘दाइ देशभरि जाँदाखेरि जसरी टुरिजम प्रमोसन गर्नुभएको थियो, एकचोटि चितवनको पनि टुरिजम प्रमोसन गर्दिनुहोला।’ मैले भनेँ, ‘मेस्सीलाई फुटबल खेल्न सिकाउनुपर्छ ? रोनाल्डोलाई फुटबल खेल्न सिकाउनुपर्छ ?’

हाम्रो चितवनका थारु समुदायमा भएका होमस्टेहरू, रिसोर्टहरूमा देख्न सकिन्छ कि यहाँको उत्पादन, यहाँको लुगा, यहाँको म्युजिक, यहाँको खानेकुरालाई कसरी उहाँहरूले टुरिजम प्रमोसनको लागि प्रयोग गर्नु भएको छ र आफ्ना उत्पादनलाई विश्वमा चिनाउनुभएको छ, त्यो हेर्दाखेरि लाग्छ चितवनले चाहिँ देशलाई टुरिजम प्रमोसन गर्न सिकाउनुपर्छ । घरमा खाने खानालाई एउटा इन्टरनेसनल कुजिनको रूपमा उहाँहरूले प्रस्तुत गर्न सक्नुभएको छ, त्यो पूरै देशले सिक्न जरुरी छ । सिकाउने होइन त चितवनबासीले पूरै विश्वलाई टुरिजम प्रमोसन ?

राम्रो कुराहरू यहाँको धेरै छन् । एउटा समस्या रहेछ यहाँ, हरेक वर्ष न्यूजमा देख्न पाइन्छ- किसानले बाटोमा दूध पोखाएको, तरकारी फालेको । त्यो के रहेछ भन्दाखेरि किसानले सही बजार नपाएको, किसानले सही मूल्य नपाएको एउटा समस्या रहेछ । केही सीमित विचौलिया, केही सीमित नेताहरूको एउटा सिन्डिकेटले गर्दाखेरि पारी जुन अनुदानै अनुदानले कृषि हुन्छ, त्यो सस्तो जस्तो देखिन्छ । त्यो सस्तो तरकारी यहाँ ल्याएर यहाँको किसानको मूल्य चाहिँ महँगो जस्तो देखाएर एउटा भ्रम सिर्जना गरेर किसानलाई मार्ने काम भएको छ । त्यो रोक्न जरुरी छ ।

फेरि यो चिज समाधान गर्दै गर्दाखेरि ‘ओहो, महँगो तरकारी खानुपर्ने भयो’ जस्तो लाग्ला । त्यो भ्रम हो, त्यो भ्रमलाई चाहिँ चिर्न जरुरी छ ।

नेपालमै उत्पादन भएको सस्तो बिजुलीलाई नेपालकै सस्तो कोल्ड स्टोरमा सिजनको बेला जुनबेला तरकारी सस्तो हुन्छ त्यो बेला स्टोर गरेर राखियो भने भोलि महँगी हुने सिजनमा सोही मूल्यमा बेच्न सकिन्छ । किसानले पनि मूल्य पाउँछ, खाने मान्छेले पनि सस्तोमा तरकारी किन्न सक्छ, त्यो गर्न चाहन्छौँ हामी ।

तपाईंहरूले याद गर्नुभएको छ? देशभरि जुन लामो दूरीको यातायात ट्रकहरूमा ‘नारायणी’ (ना) लेख्या हुन्छ? याद गर्नुभएको छ नम्बर प्लेट? जसरी त्यो लामो दूरीको बसहरूको हब भएको छ यो चितवन, त्यसरी नै पूर्वदेखि पश्चिमसम्मको तरकारीलाई कोल्ड स्टोरेजमा स्टोर गर्ने हब बन्न सक्छ चितवन । त्यो बनाउन जरुरी छ । देशबासीलाई आफ्नै तरकारी खुवाउन जरुरी छ र किसानलाई सही मूल्य दिन जरुरी छ ।

आईलभयू ! बोल्नै दिँदैनन् यार ! गीत बजाउँ, नाचौँ ?

बर्खाको बेला नेपालमा उत्पादन भएको बिजुली खेर गइरहेको हुन्छ । सुक्खामा हामीसँग आफैँ बिजुली हुँदैन । तर त्यो बिजुली स्टोर गर्ने ब्याट्री त छैन जस्तो लाग्छ हामीलाई, तर छ । हाम्रो देशमा उत्पादन भएको सस्तो बिजुली बेचेर देश धनी बन्दैन, त्यसलाई प्रयोग गरेर, त्यसलाई स्टोर गरेर बन्छ । र त्यो स्टोर गर्ने ब्याट्री हो मल कारखाना, डाटा सेन्टर, कोल्ड स्टोरेजहरू । त्यस्तो ब्याट्रीहरू बनाउन जरुरी छ आफ्नो बिजुली थामेर राख्नलाई । त्यो बनाउने पार्टी बन्न चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टी ।

यो चुनावको क्रममा हामी पूर्वदेखि पश्चिमसम्म पूरै देश घुम्न गयौँ । लगभग ७–८ हजार किलोमिटर हिँडियो होला देश बुझ्नलाई । सबै लगभग ४५–५० वटा जिल्ला घुमियो होला । त्यो जिल्लाहरू घुम्न जाँदाखेरि के महसुस भयो भन्दाखेरि लगभग–लगभग देशभरिका समस्याहरू उस्तै रहेछन् । कृषि र पर्यटन क्षेत्रमा भएका समस्याहरू देखियो । तर एउटा गुड न्यूज पनि छ त्यहाँ । गुड न्यूज के हो भन्दाखेरि एउटा जिल्लामा समस्या छ भने त्यसको समाधान अर्को जिल्ला देश भित्रै रहेछ । त्यो समाधान मिलाउने पार्टी बन्न चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टी ।

हाम्रो देश हेटौँडा सिमेन्ट कारखाना जस्तै भएको छ । मेसिन पनि छ, म्यानपावर पनि छ, खानी पनि छ तर बन्द छ । अब चल्नुपर्‍यो । नेपाली कांग्रेसको (नेपाली कांग्रेसका नेता विनोद चौधरीको) वाइवाई फ्याक्ट्री जस्तै चल्नुपर्‍यो अब त्यो पनि । पूरै देशभरि चल्नुपर्‍यो, १०० वटा भन्दा बढी देशमा जानुपर्‍यो । त्यसरी देशका उद्योग कलकारखानाहरूलाई चलाउने पार्टी बन्न चाहन्छ, राष्ट्रिय स्वतन्त्र पार्टी ।

अब यहाँ आइयो, तपाईंहरूलाई भेटियो, धेरै खुसी लाग्यो । तपाईंहरू किन टेन्सन लिनुहुन्छ के? पार्टीको सभापति नै यहाँ उठ्नुभाछ, के को टेन्सन ? तपाईंहरूका समस्या, पूरै देशको समस्या सभापतिज्यू, हामी सबै पार्टीका नेतागण, कार्यकर्तादेखि लिएर तपाईं हामी सबै मिलेर अब देश बनाउने हो । धेरै बोल्न चाहिनँ । धेरै धेरै माया। तपाईंहरूको जय होस्, देशको सही होस् । जय घण्टी, जय देश, जय नेपाल !

(चितवनमा रास्वपाले आयोजना गरेको ‍सभामा वरिष्ठ नेता बालेन शाहले व्यक्त गरेको विचार ।)