सुनिल पौडेलको सिंगापुरस्थित बैंक खाताको विवरण पेस गर्न अख्तियारलाई विशेष अदालतको आदेश

105
Shares

काठमाडौं । विशेष अदालतले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलको सिंगापुरस्थित (यूओबी) मा रहेका बैंक खाताको विवरण पेस गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आदेश दिएको छ ।

सरकारी उपकरण तथा सफ्टवेयर खरिदका क्रममा सिंगापुरमा घुस लिएको र सो रकम त्यहाँको बैंक खातामा राखेको आरोपसहित अख्तियारले वैशाख २०८१ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । सोही मुद्दाको सुनुवाइका क्रममा अदालतले खातासम्बन्धी विस्तृत विवरण उपलब्ध गराउन निर्देशन दिएको हो ।

नेपाल र सिंगापुरबीच पारस्परिक कानुनी सहायता सम्बन्धी औपचारिक सम्झौता नभए पनि अख्तियारले सुनिल पौडेलको घरमा गरिएको खानतलासीका क्रममा सिंगापुर बैंक खातासम्बन्धी विवरण फेला पारेको जनाएको छ । अदालतले यस्तो अवस्थामा सिंगापुरबाट आवश्यक बैंक विवरण प्राप्त गर्न सकिने/नसकिनेबारे स्पष्ट पार्न कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग जवाफ मागेको छ ।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्य हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले ‘विवरण प्राप्त हुन सक्ने भए विवरण पठाउने र प्राप्त हुन नसक्ने भए सोको कारणसहितको जवाफ यथाशीघ्र पठाउन’ मन्त्रालयलाई निर्देशन दिएको आदेशमा उल्लेख छ ।

यसैगरी अदालतले सिंगापुरस्थित बैंक खाताको विवरण झिकाउन नेपाल राष्ट्र बैंकलाई पनि आदेश दिएको छ । सिंगापुरको केन्द्रीय बैंकसँग समन्वय गरी यूओबीबाट खातासम्बन्धी विवरण मगाउन राष्ट्र बैंकलाई भनिएको छ ।

अख्तियारले विभिन्न सरकारी ठेक्कापट्टाबाट घुसबापत प्राप्त रकम सिंगापुरमा जम्मा गरी बैंकमा बचत गरेको आरोपमा २०८१ वैशाख ९ मा सुनिल पौडेल र अनिल पौडेलविरुद्ध गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

अख्तियारले नेपाल र सिंगापुरमा गरी उनीहरुले २४ करोड ९४ लाख रुपैयाँ बराबरको सम्पत्ति आर्जन गरेका छन्, जसमध्ये २३ करोड ७५ लाख रुपैयाँ गैरकानुनी रुपमा भ्रष्टाचारबाट कमाएको दाबी गरेको छ ।

आरोपपत्रमा उल्लेख भएअनुसार आफू कार्यकारी प्रमुख रहेका निकायका लागि सामग्री आपूर्ति गर्ने स्वदेशी तथा विदेशी कम्पनीहरूसँग मिलेमतो गरी गैरकानुनी कमिसन लिएको, सो रकम विदेशी बैंकमा जम्मा गरेको र आफन्तमार्फत स्वदेश तथा विदेशका विभिन्न क्षेत्रमा लगानी गरेको भेटिएको अख्तियारको दाबी छ ।