
काठमाडौं । डाबर नेपालको व्यापारमा १ अर्ब १० करोड रुपैयाँभन्दा बढीको गिरावट आएको छ । सन् २०२४ को तुलनामा सन् २०२५ मा कम्पनीको व्यापार १ अर्ब १० करोड ३० लाख रुपैयाँले घटेको हो ।
तथ्याङ्कअनुसार कम्पनीले सन् २०२४ मा १६ अर्ब १६ करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो । तर, गत आर्थिक वर्षमा यो घटेर १५ अर्ब ६ करोड २० लाख रुपैयाँमा सीमित भएको छ । यसअघि सन् २०२३ मा भने कम्पनीले १३ अर्ब ६१ करोड ५० लाख रुपैयाँको कारोबार गरेको थियो ।
कम्पनीका अनुसार गत आर्थिक वर्षमा विशेषगरी निर्यातमा आएको कमीका कारण समग्र व्यापार प्रभावित भएको हो । व्यापार घटे पनि कम्पनीको नाफा मार्जिन गत वर्ष १५.८६ प्रतिशत छ ।
हाल कम्पनीको कुल नगद सञ्चिति २ अर्ब २४ करोड २० लाख रुपैयाँ छ, जुन सन् २०२४ मा २ अर्ब ५४ करोड २० लाख रुपैयाँ थियो । डाबर नेपालले ‘रियल’ ब्रान्डका ४० भन्दा बढी प्रकारका पेय पदार्थ उत्पादन गर्दै आएको छ । नेपालको कुल निर्यातमा ३.७१ प्रतिशत हिस्सा ओगटेको यस कम्पनीको कुल आम्दानीको ६४ प्रतिशत हिस्सा निर्यातबाटै प्राप्त हुने गरेको रेटिङ एजेन्सीको प्रतिवेदनमा उल्लेख छ ।
सन् १९९२ देखि व्यावसायिक कारोबार सुरु गरेको यो कम्पनी भारतीय बहुर्राष्ट्रिय कम्पनी डाबर इन्डियाको सहायक कम्पनी हो । यसमा ९७.५० प्रतिशत स्वामित्व डाबर इन्टरनेशनल लिमिटेडको छ ।
भारतको ठूला कम्पनीमध्ये एक डाबर इन्डियाले गत आर्थिक वर्षमा १ खर्ब २५ अर्ब भारतीय रुपैयाँ बराबरको कारोबार गरेको थियो । हाल यसको बजार पुँजीकरण ८ खर्ब ८३ अर्ब भारतीय रुपैयाँ रहेको छ र विश्वका १२० भन्दा बढी देशमा यसको व्यापार फैलिएको छ ।
डाबरले हेल्थकेयर, पर्सनल केयर र खाद्य सामग्रीअन्तर्गत २५० भन्दा बढी हर्बल तथा आयुर्वेदिक उत्पादनहरू बिक्री गर्दै आएको छ । नेपालमा यसका उत्पादनहरू विशेषगरी जुस, बेभरेज, च्यवनप्रास, ग्लुकोज, मञ्जन, कपालको तेल, डाइजेस्टिभ चक्की र महका रूपमा लोकप्रिय छन् ।
नेपालभर १ लाखभन्दा बढी खुद्रा पसलमार्फत आफ्नो सञ्जाल विस्तार गरेको डाबर नेपालले अल्पकालीन कर्जाका लागि ६ अर्ब ६० करोड रुपैयाँको रेटिङ गराएको छ ।








प्रतिक्रिया