लक्ष्मी ग्रुपको सुजल डेरीले ६ महिनामा बेच्यो डेढ अर्ब रुपैयाँको दुग्धजन्य उत्पादन

49
Shares

काठमाडौं । लक्ष्मी ग्रुपको सुजल डेरी प्रालिले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा डेढ अर्ब रुपैयाँको कारोबार गरेको छ । कम्पनीले चालु आवको ६ महिनाको अवधिमा १ अर्ब ५१ करोड ६० लाख रुपैयाँको कारोबार गरेको हो ।

कम्पनीले गत आवमा २ अर्ब ८८ करोड ३० लाख रुपैयाँको व्यापार गरेको थियो । त्यस्तै, कम्पनीले सन् २०२४ मा २ अर्ब ३३ करोड १० लाख रुपैयाँ, सन् २०२३ मा १ अर्ब ८६ करोड ९० लाख रुपैयाँ, सन् २०२२ मा १ अर्ब ७१ करोड ६० लाख रुपैयाँ र सन् २०२१ मा १ अर्ब २१ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीको व्यापार हेर्दा हरेक वर्ष बढ्दो क्रममा रहेको देखिन्छ । कम्पनीका अनुसार सन् २०२४ र सन् २०२५ मा २५ प्रतिशतले व्यापार बढेको छ ।

सन् २००५ मा स्थापना भएको कम्पनीले डेरीजन्य खाद्यवस्तु उत्पादन गरी बजारमा बिक्री वितरण गर्दै आएको छ । कम्पनीले स्ट्याडर्ड दूध, होल दूध, दही, आइसक्रिम, स्किम्ड मिल्क पाउडर, बटर, घ्यू, पनिर, होल मिल्क पाउडर आदि उत्पादन गर्दै आएको छ । कम्पनीले उक्त उत्पादन गरेको वस्तु सफल र लभबर्ड ब्रान्डमा बिक्री वितरण गर्दैै आएको छ । गणेशबहादुर श्रेष्ठ अध्यक्ष रहेको कम्पनीमा उनीसँगै सुनिल श्रेष्ठ, अन्जन श्रेष्ठ, निराजन श्रेष्ठ र निराकर श्रेष्ठको १८/१८ प्रतिशत स्वामित्व छ भने १० प्रतिशत एम/एस सुजल फुड प्रालिको छ ।

सुजल डेरीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ९५ करोड ६१ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ६० करोड ६६ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ३४ करोड ९५ लाख रुपैयाँको रेटिङ गराएको हो ।