गौर घटना: शान्ति कायम गर्न सर्वपक्षीय बैठकका ५ बुँदे निर्णय, भोलि ‘सद्भाव र्‍याली’ निकालिने

210
Shares

रौतहट । रौतहटको गौर नगरपालिका वडा नं. ६ स्थित सबगढा टोलमा उत्पन्न विवाद र तनावपूर्ण स्थितिलाई साम्य पार्न जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकले विभिन्न ५ बुँदे निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालको अध्यक्षतामा बसेको उक्त बैठकले क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न र सामाजिक सद्भाव बिगार्ने तत्वहरूलाई कारबाही गर्ने प्रतिबद्धता जनाएको छ ।

सबगढामा गत फागुन ७ गतेदेखि सुरु भएको विवादले उग्र रूप लिएपछि फागुन ९ गते दिउँसो १ बजेदेखि स्थानीय प्रशासनले निषेधाज्ञा (कर्फ्यू) जारी गरेको थियो । सोही सन्दर्भमा आज जिल्लाका सुरक्षा निकायका प्रमुखहरू, विभिन्न नगरपालिकाका प्रमुखहरू, राजनीतिक दलका प्रतिनिधि र नागरिक समाजका अगुवाहरूको उपस्थितिमा बैठक बसेको हो ।

बैठकका मुख्य निर्णयहरू:

१. घटनाप्रति खेद र शान्तिको अपील: सबगढामा भएको घटनाप्रति दुःख व्यक्त गर्दै बैठकले जिल्लामा सौहार्दपूर्ण वातावरण कायम गर्न सबै सरोकारवाला पक्षहरूबाट सार्वजनिक अपील गर्ने निर्णय गरेको छ ।

२. स्थानीय स्तरमा संवाद: विवाद समाधानका लागि दुवै पक्षका स्थानीय भद्रभलादमी र प्रतिनिधिहरूको उपस्थितिमा जिल्ला सुरक्षा समितिले औपचारिक तथा अनौपचारिक छलफल गरी समस्याको स्थायी समाधान खोज्ने पहल गर्नेछ ।

३. सामाजिक सञ्जालमा निगरानी: घटनालाई लिएर सामाजिक सञ्जालमा अनर्गल प्रचार गर्ने, अफवाह फैलाउने र साम्प्रदायिक विद्वेष फैलाउने खालका सामग्री पोस्ट गर्नेहरूलाई पहिचान गरी सुरक्षा निकायले कडा कानुनी कारबाही गर्ने निर्णय भएको छ ।

४. दोषीलाई कानुनी दायरामा ल्याइने: धार्मिक र सामाजिक सद्भाव बिथोल्न खोज्ने व्यक्तिहरूको निगरानी गर्ने र अनुसन्धानबाट दोषी देखिएका जोकोहीलाई पनि कानुनी दायरामा ल्याई कारबाही प्रक्रिया अगाडि बढाउन प्रशासनलाई आग्रह गरिएको छ ।

५. सद्भाव र्‍यालीको आयोजना: रौतहट जिल्लामा धार्मिक, सामाजिक र सांस्कृतिक सद्भाव कायम रहेको सन्देश दिन भोलि फागुन ११ गते बिहान ७:३० बजे नागरिक समाजको अगुवाइमा सबगढा क्षेत्रमा ‘सद्भाव र्‍याली’ निकाल्ने निर्णय भएको छ ।

बैठकमा गौर नगरपालिकाका प्रमुख शम्भु साह, परोहा नगरपालिकाका प्रमुख शेख वकिल, राजपुर नगरपालिकाका प्रमुख डा. मोजित आलम, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानका जिल्ला प्रमुखहरू, नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनमत पार्टी लगायतका प्रतिनिधिहरू र नागरिक समाजका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

प्रशासनले कर्फ्यूको अवस्थालाई स्थितिको मूल्याङ्कन गरी क्रमशः खुकुलो बनाउँदै लैजाने र जनजीवन सामान्य तुल्याउन पहल गर्ने समेत जनाएको छ ।