उद्योग वाणिज्य महासंघलाई चुनाव लाग्यो, ढकाल समूहको उमेदवारी घोषणा साेमबार

658
Shares

काठमाडौं । निजी क्षेत्रका व्यवासायीको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघमा चुनावी माहोल सुरु भएको छ । महासंघको ६० औं वार्षिक साधारण सभाबाट चयन हुने नयाँ कार्यसमितिको लागि उमेदवारी घोषणा हुन सुरु हुने भएको छ ।

महासंघको आगामी चैत २८ र २९ मा हुने वार्षिक साधारण सभासँगै नयाँ कार्यसमिति चयन हुने छ । नयाँ कार्यसमितिमा हालका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ विधानतः स्वत अध्यक्ष हुने छन भने अन्य पदमा चुनावी प्रतिस्पर्धा हुने भएको छ ।

महासंघको आसन्न निर्वाचनको लागि वरिष्ठ उपाध्यक्षमा हेमराज ढकालको प्यानलबाट उम्मेदवारी घोषणाको तयारी भएको छ । हाल वस्तुगत तर्फबाट उपाध्यक्ष रहेका ढकालको प्यानलबाट उपाध्यक्षसहितका अन्य पदमा चर्को प्रतिस्पर्धा हुने छ ।

महासंघको आगामी नेतृत्वको लागि उनको समूहले सोमबार अपराह्न उमेदवारी घोषणा गर्ने भएको छ । यद्यपी वरिष्ठ उपाध्यक्ष बाहेकको पदमा उमेदवारी घोषणा गर्ने तयारी भएको छ । वरिष्ठ उपाध्यक्षको उमेदवारी पछि घोषणा हुने पनि यो समूहले जानकारी दिएको छ ।

महासंघको आगामी नयाँ नेतृत्वको लागि एसोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठले उमेदवारी घोषणा गर्न लागेकी हुन । उनले एसोसिएट उपाध्यक्ष दोहोर्याउन चाहेकी छन् ।

यही प्यानलबाट जिल्ला नगर उपाध्यक्षमा उमेश डालमिया र कल्पना गैरेले उमेदवारी दिने भएका छन् । महासंघले संशोधन गरेको विधान अनुसार यसपटकदेखि दुईजना जिल्ला नगर उपाध्यक्ष हुने छन् ।

वस्तुगत उपाध्यक्षमा नरेशलाल श्रेष्ठ र उपाध्यक्ष प्रतावित महिलामा कमला श्रेष्ठसहितको प्यानलको घोषणा सोमबार हुने भएको छ ।

महासंघमा अर्को समूहबाट शिवप्रसाद घिमिरेले वरिष्ठ उपाध्यक्षमा उमेदवारी दिने घोषणा गरेका छन् । उनको प्यानलमा प्रवलजंघ पाण्डे, कृष्ण शर्मासहितका उमेदवार हुने भनिएपनि औपचारिक घोषणा भने भइसकेको छैन ।