बाजा बजाएको विषयले रौतहटमा तनाव: सेना र प्रहरीसहित ५ सय बढी सुरक्षाकर्मी परिचालन

504
Shares

रौतहट । रौतहटको गौर नगरपालिका-६, सबगढवामा दुई समुदायबीच उत्पन्न तनावलाई नियन्त्रणमा लिन नेपाली सेनासहित ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

बिहीबार राति एक विवाहमा बाजा (डीजे) बजाउने विषयलाई लिएर सुरु भएको विवादले शुक्रबार उग्र रूप लिएपछि स्थिति तनावपूर्ण बनेको हो ।

मस्जिदमा नमाज पढिरहेको समयमा बाजा बजाएको भन्दै केही व्यक्तिले डीजे टोलीमाथि कुटपिट गरेपछि विवाद सुरु भएको थियो ।

सोही घटनाको विरोधमा शुक्रबार बिहानैदेखि दुवै पक्षबीच झडप र ढुंगा हानाहान भएको प्रहरीले जनाएको छ। स्थिति नियन्त्रणमा लिने क्रममा केही सर्वसाधारण र प्रहरी घाइते भएका छन्, जसको उपचार भइरहेको छ।

रौतहट प्रशासनका अनुसार हाल नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका ५ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरी सुरक्षा व्यवस्था कडा पारिएको छ । जिल्ला प्रशासन कार्यालयले सबैलाई संयमित रहन आग्रह गर्दै घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।