एप्पलले सस्तो म्याकबुक ल्याउँदै, फागुन २० गते सार्वजनिक हुने

63
Shares

एजेन्सी । एप्पलले सन् २०२६ को आफ्नो पहिलो ठूलो कार्यक्रमको घोषणा गरेको छ ।

यसमा कम्पनीले आफ्नो अहिलेसम्मकै सस्तो म्याकबुक नयाँ बजेट आईफोन १७ई र नयाँ आईप्याड सार्वजनिक गर्न सक्नेछ । यो कार्यक्रम फागुन २० (४ मार्च) मा नेपाली समय अनुसार साँझ करिब ७ः४५ बजे सुरु हुनेछ ।

रिपोर्टहरूका अनुसार, एप्पलले पहिलोपटक म्याकबुकमा आफ्नो एम सिरिजको सट्टा आईफोनमा प्रयोग हुने ए सिरिजको चिप दिन सक्छ । यसलाई विशेषगरी विद्यार्थी र अफिस प्रयोगकर्ताहरूका लागि तयार पारिएको छ । यसको मूल्य १ लाख १२ हजारदेखि १ लाख २८ हजार रुपैयाँको बीचमा हुन सक्छ ।

कम्पनीले न्युयोर्कमा भइरहेको यस कार्यक्रमका लागि पठाएको निमन्त्रणा कार्डमा एप्पलको लोगो पहेंलो, हरियो र नीलो रंगमा राखिएको छ । यसबाट नयाँ ल्यापटप धेरै चम्किला रंगहरूमा आउने अनुमान गरिएको छ ।

एप्पलले आफ्नो बजेट आईफोन लाइनअपमा आईफोन १७ई लोन्च गर्न सक्छ । यसमा आईफोन १७ कै ए१९ चिप हुने अपेक्षा गरिएको छ जुन पुराना मोडलहरूको तुलनामा निकै छिटो हुनेछ ।

डिस्प्लेः ६.१ इन्चको ओएलईडी स्क्रीन ।

परिवर्तनः यस सिरिजमा पहिलोपटक म्यागसेफ चार्जिङको सपोर्ट पाइन सक्छ ।

मूल्यः यसको सुरुवाती मूल्य १ लाख रुपैयाँ हाराहारीमा हुन सक्छ ।

आईप्याड प्रेमीहरूका लागि पनि यस कार्यक्रममा धेरै कुराहरू हुन सक्छन् । कम्पनीले आईप्याड एयरलाई एम४ चिपका साथ अपडेट गर्न सक्छ ।

यसबाहेक १२औं जेनेरेशनको बेस मोडल आईप्याड पनि सार्वजनिक हुन सक्छ जसमा पहिलोपटक एप्पल इन्टेलिजेन्सको सपोर्ट मिल्ने अपेक्षा गरिएको छ । साथै, लामो समयदेखि प्रतीक्षामा रहेको स्टुडियो डिस्प्लेको नयाँ संस्करण पनि पेश हुन सक्छ ।

कम्पनीले सिरीको नयाँ एआई अवतारको झलक देखाउन सक्छ । यो पहिलेभन्दा धेरै स्मार्ट हुनेछ र प्रयोगकर्ताका प्रश्नहरूको अझ राम्रोसँग जवाफ दिन सक्षम हुनेछ । एप्पलले यसलाई आफ्नो एप्पल इन्टेलिजेन्स सेवा अन्तर्गत प्रवर्धन गरिरहेको छ जसले आईफोन र म्याकको प्रयोगलाई निकै सजिलो बनाउनेछ ।

एप्पलले यसपटक कार्यक्रमको ढाँचा अलि फरक राखेको छ । न्युयोर्कको मुख्य कार्यक्रमका साथै लन्डन र शाङ्हाईमा पनि प्रेसका लागि कार्यक्रमहरू राखिएका छन् । यसलाई इभेन्टको सट्टा एक्सपेरियन्स नाम दिइएको छ । अर्थात्, त्यहाँ उपस्थित मानिसहरूले तुरुन्तै नयाँ ग्याजेटहरू परीक्षण गर्न सक्नेछन् ।