संसारभरि युट्युब केही समयका लागि बन्द

147
Shares

एजेन्सी । विश्वकै सबैभन्दा लोकप्रिय भिडियो प्लेटफर्म युट्युबको सेवा अचानक ठप्प भएको छ ।

डाउनडिटेक्टरका अनुसार, विश्वभरि बिहान करिब ६ बजेर ३५ मिनेटदेखि झण्डै ८ बजेसम्म लाखौं प्रयोगकर्ताहरूलाई यसको प्रयोग गर्न समस्या भइरहेको थियो ।

सबैभन्दा धेरै समस्या यसको मोबाइल एपमा देखिएको थियो जहाँ प्रयोगकर्ताहरूलाई समथिङ वेन्ट रङ सन्देश देखाइरहेको थियो । यद्यपि, दुईतीन पटक रिफ्रेस गर्दा भिडियोहरू देखिन थालेका थिए ।

तर, यो पूर्ण रूपमा काम गरिरहेको थिएन । अर्कोतर्फ, यसको वेबसाइट भने चलिरहेको थियो ।

आउटेज ट्य्राकिङ वेबसाइट डाउनडिटेक्टरका अनुसार, अमेरिकामा करिब २.८३ लाख मानिसले युट्युब नचलेको गुनासो गरेका थिए । भारतमा बिहान ७ बजेतिर डाउनडिटेक्टरमा उजुरीको संख्या १८ हजार नाघेको थियो । त्यहाँ ७१ प्रतिशत प्रयोगकर्तालाई एप प्रयोग गर्न समस्या भएको थियो ।

युट्युबको टोलीले यस आउटेजको बारेमा बिहान सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै लेख्यो, ‘तपाईंलाई अहिले युट्युब चलाउन समस्या भइरहेको छ भने तपाईं एक्लो हुनुहुन्न । हाम्रा टोलीहरूले यस मामिलाको अनुसन्धान गरिरहेका छन् र जे अपडेट हुनेछ हामी यहाँ जानकारी दिनेछौं ।’

त्यसपछि अर्को अपडेटमा युट्युबले रिकमेन्डेशन सिस्टममा भएको एउटा खराबीका कारण युट्युबका विभिन्न प्लेटफर्महरू जस्तै होमपेज, युट्युब एप, युट्युब म्युजिक र युट्युब किड्समा भिडियोहरू नदेखिइरहेको जनायो । होमपेज अहिले ठीक भएको छ तर अझै पनि यसलाई पूर्ण रूपमा ठीक गर्न काम गरिरहेको उसले जानकारी दियो । छिट्टै थप जानकारी दिइने पनि उसले भन्यो ।

आउटेज एउटा यस्तो अवस्था हो जब इन्टरनेट, एप, वा वेबसाइट जस्ता कुनै सेवाले अचानक काम गर्न बन्द गर्छ वा उपलब्ध हुँदैन । यो केही समयका लागि हुन सक्छ ।

सर्भर फेल हुनु, नेटवर्क समस्या, मर्मतसम्भार, मौसमको असर, हार्डवेयरमा खराबी वा धेरै लोड पर्नु यसको कारण हुन सक्छ ।