
काठमाडौं । प्रतिनिधिसभाको चुनावी सरगर्मी बढेसँगै राजनीतिक दल र उम्मेदवार सामाजिक सञ्जाल फेसबुकबाट स्पोन्सर्ड एड गरेर डलर खर्च गर्न हौसिएका छन् ।
पछिल्लो समय फेसबुकमार्फत हुने यस्तो खर्च अस्वाभाविक रूपमै बढ्दै गएको देखिन थालेको छ ।
चुनाव आउन अब २ साता मात्रै बाँकी भएकाले दैनिक रूपमै फेसबुकमा डलर खर्च गरेर व्यक्तिगत र राजनीतिक एजेन्डाको प्रचारसमेत बढ्न थालेको देखिन्छ।
आगामी २१ फागुनको प्रतिनिधिसभा लक्षित गरेर भएको यस्तो फेसबुक एडमा व्यक्तिगत रूपमा धेरै खर्च गर्नेमा डडेल्धुराबाट चुनावी प्रतिस्पर्धामा रहेका नेपाली कांग्रेसका उम्मेदवार नैनसिंह महर छन् ।
उनले पछिल्लो दुई साता मात्रै ११ सय ९९ डलर खर्च गरेका छन् । उनले ४६ वटा कन्टेन्टका लागि उक्त रकम खर्च गरेको फेसबुकको एड लाइब्रेरीमा उपलब्ध तथ्यांकले देखाएको छ । यस्तो खर्च नेपाली रुपैयाँमा करिब पौने २ लाख रुपैयाँ हुन आउँछ।
पछिल्लो एक महिनामा फेसबुकमार्फत खर्च गर्ने नेपालका राजनीतिक दल वा व्यक्तिहरूमा ‘माइभ्वाइस काउन्ट’ अग्र स्थानमा आउँछ । एआईमार्फत बनाइएको भिडियोमार्फत युवाको मत प्रभावित गर्ने र निर्वाचन बहिष्कार गर्नुपर्छ भन्दैसमेत एड गरेर यसले एक महिनामै २ हजार २ सय ३५ डलर खर्च गरेको छ।
यस्तो खर्चका लागि यसले ७४ वटा एड प्रयोग गरेको छ । माई भ्वाइस काउन्ट एपको प्रचारका लागि यसले फेसबुकमा बुस्ट गरेर यस्तो खर्च गरिरहेको छ ।
राजनीतिक दलमा सबैभन्दा बढी खर्च गर्नेमा गतिशील लोकतान्त्रिक पार्टी रहेको छ । यो पार्टीले एक महिनामा ७ वटा एडमार्फत ७ सय ४१ डलर खर्च गरेको छ ।
यो राजनीतिक दलले पछिल्लो तीन महिनामा ३८ वटा एडमार्फत १ हजार ५ सय ५१ डलर खर्च गरेको छ । बुद्ध एयरका मालिक वीरेन्द्रबहादुर बस्नेत सदस्य रहेको यो राजनीतिक दल उनकै नाममा चिनिएको पार्टी हो । तर यो पार्टीले देशैभरबाट समानुपातिकमा ११ र प्रत्यक्षतर्फ २ जना मात्रै उम्मेदवार उठाएको छ ।
काठमाडौंबाट १ र बाहिरबाट एक जना मात्रै प्रत्यक्षतर्फ उम्मेदवार उठाएको यो पार्टीले फेसबुकमा स्पोन्सर्ड एडलाई भने व्यापक बनाएको छ । काठमाडौं ५ बाट यो पार्टीको तर्फबाट कलाकार निशा अधिकारीले उम्मेदवारी दिएकी छिन् ।
पछिल्लो तीन महिनामा कुलमान घिसिङको उज्यालो नेपाल पार्टीले पनि १२ सय ७० डलर खर्च गरेको छ । नयाँ पार्टी भएकाले धेरै जनमानसमा पुग्न पनि यसले फेसबुकमा खर्च गरेको देखिएको छ ।
फेसबुकमा यस्तो खर्च गर्ने दल र व्यक्तिहरूमा भारतराज जिताऔं अभियान, डा. अजय क्रान्ति, राष्ट्रिय परिवर्तन पार्टी ओखलढुंगा, वीरेन्द्र बहादुर बस्नेत, श्री गुरुङ, रमन कर्ण जिताऔं अभियान महोत्तरी २, साझा पार्टी, सुनिलकुमार शर्मा, निशा अधिकारी, राजन भट्टराई, कौशल गुरुङ कास्की २ सहितका छन् ।









प्रतिक्रिया