सर्वोत्तम सिमेन्टले ३ महिनामै गर्‍यो २ अर्बको व्यापार, साढे ३२ करोड खुद नाफा

14
Shares

काठमाडौं । सर्वोत्तम सिमेन्टले चालु आर्थिक वर्षको ३ महिनामा २ अर्ब रुपैयाँको व्यापार गरेको छ । कम्पनीले चालु आवको ३ महिनाको अवधिमा १ अर्ब ९८ करोड रुपैयाँको व्यापार गरेको हो ।

गत आवमा ९ अर्ब ५४ करोड ४० लाख रुपैयाँको कारोबार गरेको कम्पनीले सन् २०२४ मा ६ अर्ब ४२ करोड ३० लाख रुपैयाँ, सन् २०२३ मा ५ अर्ब ३९ करोड १० लाख रुपैयाँ र सन् २०२२ मा ७ अर्ब ८८ करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीले चालु आवको तीन महिनाको अवधिमा ३२ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले गत आवमा १ अर्ब २ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

सन् २०१० मा स्थापना भएको कम्पनी २०१९ मा पब्लिक कम्पनीको रुपमा परिणत गरेको थियो । कम्पनीले विभिन्न प्रकारका सिमेन्ट उत्पादन गरी बजारमा बिक्री वितरण गर्दै आएको छ । कम्पनीले क्लिङ्कर र सिमेन्ट उत्पादन गर्दै आएको हो । कम्पनीले सुरुमा वार्षिक ४ लाख मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने क्षमताका साथ उद्योग निर्माण गरेको थियो । हाल उद्योगले वार्षिक १० लाख मेट्रिक टन क्लिङ्कर र ग्रान्डिङ सिमेन्ट उत्पादन गर्दै आएको छ ।

सौरभ ग्रुपद्वारा सञ्चालित कम्पनीले ओपीसी र पीपीसी सिमेन्ट उत्पादन गरी सर्वोत्तम ब्रान्डमा बिक्री वितरण गर्दै आएको छ । कम्पनी सर्वोत्तम होल्डिङ प्रालिको सहायक सिमेन्ट कम्पनी हो । होल्डिङले देशका विभिन्न तीन वटा स्थानमा ग्रान्डिङ उद्योग सञ्चालन गर्दै आएको छ । साथै, होल्डिङको दुई वटा माइनिङ कम्पनी पनि छ ।

सिमेन्ट र होल्डिङ कम्पनीले संयुक्त रुपमा गत आवमा १४ अर्ब ८६ करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो । त्यसैगरी, सन् २०२४ मा ६ अर्ब ४४ करोड २० लाख रुपैयाँ, सन् २०२३ मा ५ अर्ब ४१ करोड १० लाख रुपैयाँ र सन् २०२२ मा ९ अर्ब १९ करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो । कम्पनीले गत आवमा १ अर्ब ३१ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

होडिङको गत आवमा १३१ प्रतिशत नाफा कमाएको थियो । विभिन्न स्थानमा रहेको ग्रान्डिङ सिमेन्ट युनिट अधिग्रहण गरेसँगै व्यापार उल्लेख्य बढेको कम्पनीले जनाएको छ ।
सिमेन्ट कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ६ अर्ब १६ करोड १७ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ९ करोड १७ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ६ अर्ब ७ करोड रुपैयाँको रेटिङ गराएको हो ।