हिँडिरहेका वृद्धमाथि हातपात गर्ने कार चालक खोज्दै प्रहरी

469
Shares

काठमाडौं । पैदलयात्रीमाथि हातपात गर्ने एक कार चालकको खोजी प्रहरीले थालेको छ ।

सामाजिक सञ्जालमा कार चालकले गाडी रोकेर सडकमा हिँडिरहेका पैदलयात्रीलाई मुक्का प्रहार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको हो ।

सार्वजनिक भिडियोमा साझा यातायातको बस पनि देखिएकाले घटना काठमाडौं उपत्यकाभित्रै भएको अनुमान गरिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले भिडियो प्रहरीसम्म पुगेको बताउँदै संलग्न व्यक्ति र सवारी साधनको पहिचानका लागि अनुसन्धान सुरु गरिएको जानकारी दिएको छ ।

कार र व्यक्तिको पहिचान गर्ने काम भइरहेको परिसरले जनाएको छ । संलग्नलाई कानुनी कारबाहीको दायरामा ल्याइने प्रहरीको भनाइ छ ।

भिडियोमा कारबाट झरेका एक पुरुषले गालीगलौज गर्दै पैदलयात्रीमाथि हातपात गरेको देखिन्छ । केही समयपछि एक महिला पनि त्यहाँ पुगेर गाली गरेको आवाज सुनिन्छ ।