
काठमाडौं । नेपाली बजारमा मेरो टीभी ब्रान्डमा केबल टीभीको सेवा दिँदै आएको विज्ञापन टेकले गत आर्थिक वर्षमा एक अर्ब रुपैयाँको कारोबार गरेको छ । कम्पनीले गत आवमा ९८ करोड ६० लाख रुपैयाँको कारोबार गरेको हो ।
कम्पनीले सन् २०२४ मा ९७ करोड ७० लाख रुपैयाँ र सन् २०२३ मा ७४ करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो ।कम्पनीले गत आवमा गरेको व्यापारमध्ये ६३ प्रतिशत इन्टरनेट सेवाबाट भएको रेटिङमा उल्लेख छ । कम्पनीले गत आवमा ४८ प्रतिशत नाफा कमाएको छ । सन् २०२४ मा ५२ प्रतिशत नाफा कमाएको थियो ।
उच्च प्रतिस्पर्धी बजारले गर्दा गत आवमा १४.८७ प्रतिशतले ग्राहक घटेको कम्पनीले जनाएको छ । कम्पनीको हाल २ लाख ६७ हजार ६ सय ३० ग्राहक छन् ।
कम्पनीको हाल २५ करोड १० लाख रुपैयाँ कुल नगद सञ्चय छ । सन् २०२४ मा २२ करोड ८० लाख रुपैयाँ थियो ।
सन् २०१८ मा स्थापना भएको कम्पनीले डिजिटल टीभी, आइपी टीभी, आइपी टीभी स्काई केबल ब्रान्ड र इन्टरनेट सेवा वेब सर्फर ब्रान्डमा सेवा दिँदै आएको छ । कम्पनीको देशभर उपस्थिति छ ।
कम्पनीको देशभर १ सय ५५ वटा शाखा र ८० वटा स्थानीय केबल अपरेटर छन् । नेपालको इन्टरनेट सेवा प्रदायक क्षेत्रमा कम्पनी सातौं स्थानमा छ । जसमा कम्पनीले ५.२२ प्रतिशत बजार हिस्सा ओगटेको छ ।
सुरेन्द्र क्षेत्री अध्यक्ष रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि २ अर्ब ७८ करोड ३१ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि २ अर्ब ५५ करोड ८२ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि २२ करोड ४९ लाख रुपैयाँको रेटिङ गराएको हो ।










प्रतिक्रिया