दाना बेच्ने श्रीनगर एग्रीटेकको व्यापार २९%ले बढ्यो, ३ महिनामा ४२ करोड

56
Shares

काठमाडौं । श्रीनगर एग्रीटेक इन्डष्ट्रिजले चालु आर्थिक वर्षको पहिलो ३ महिनाको अवधिमा साढे ४२ करोड रुपैयाँको व्यापार गरेको छ ।

गत आवमा १ अर्ब ४० करोड ७० लाख रुपैयाँको कारोबार गरेको कम्पनीले सन् २०२४ मा १ अर्ब ९ करोड ३० लाख रुपैयाँ, सन् २०२३ मा ८० करोड ८० लाख रुपैयाँ, सन् २०२२ मा ७८ करोड ५० लाख रुपैयाँ र सन् २०२१ मा ६६ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीका अनुसार चालु आवको ३ महिनाको अवधिमा व्यापार २१ प्रतिशतले बढेको छ । सन् २०२४ को तुलनामा २०२५ मा व्यापार २९ प्रतिशतले बढेको कम्पनीले जनाएको छ ।

सन् २००४ मा स्थापना भएको यो कम्पनी सन् २०२३ मा पब्लिक कम्पनीका रूपमा परिणत भएको थियो । कम्पनीले विभिन्न प्रकारका दाना उत्पादन गर्दै आएको छ ।

कम्पनीले पोल्ट्री (कुखुरा), गाईवस्तु र माछाका लागि म्यास, पेलेट र एक्सट्रुडेड गरी तीन प्रकारका दाना उत्पादन गर्दछ । कम्पनीले पोल्ट्री र गाईवस्तुको दाना ‘सुनौलो’ ब्रान्डमा र माछाको दाना ‘हिमदाना’ ब्रान्डमा बिक्री वितरण गर्दै आएको छ ।

कम्पनीसँग वार्षिक १ लाख ३५ हजार ७ सय ८० मेट्रिक टन दाना उत्पादन गर्ने क्षमता छ । दानासँगै कम्पनीले बिस्तारै खाद्य क्षेत्रमा पनि व्यापार विस्तार गर्ने जनाएको छ । हालै मात्र ‘वध युनिट’ निर्माण सम्पन्न गरेको कम्पनीले खाद्य क्षेत्रमा पनि व्यावसायिक कारोबार सुरु गर्ने भएको हो ।

सेयर संरचनाअनुसार सतिसचन्द्र श्रेष्ठको २५ प्रतिशत, चन्द्रपंकज डेभलपरको ७ प्रतिशत, शिखर इन्स्योरेन्स कम्पनीको ६ प्रतिशत र सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको ३ प्रतिशत लगानी छ । त्यस्तै, ८ सय ४१ जनाको ३९ प्रतिशत र बाँकी २० प्रतिशत सेयर सर्वसाधारण (पब्लिक) सेयरधनीको रहेको छ ।

कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि कुल १ अर्ब १२ करोड ९० लाख रुपैयाँको रेटिङ गराएको छ । जसमा दीर्घकालीन कर्जाका लागि ७२ करोड ९० लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ४० करोड रुपैयाँ रहेको छ ।

Skip This