
विराटनगर । गत वैशाख तेस्रो साता भएको कोशी प्रदेशको पहिलो लगानी सम्मेलनमा सम्झौता पत्रमा हस्ताक्षर भएका परियोजनामध्ये नौ महिनाको अवधिमा ५० वटा परियोजना कार्यान्वयनको चरणमा प्रवेश गरेका छन् ।
वैशाख १८ र १९ गते भएको उक्त लगानी सम्मेलनमा १ खर्ब ५७ अर्ब ३८ करोड लागतका ५१ वटा परियोजनाका नाममा समझदारी पत्रमा हस्ताक्षर गरिएको थियो ।
त्यसमध्ये पाँच लगानीकर्ताको प्रस्ताव परियोजना विकास सम्झौता (पिडीए) चरणमा प्रवेश गरेका छन् । तीमध्ये दुई परियोजना मर्ज भएर साझा लगानीका आधारमा अगाडि बढाइने सहमति भएको छ ।
लगानी सम्मेलन सकिएको नौ महिनापछि सम्झौताको बिहीबार समीक्षा गरिएको थियो । समीक्षाका क्रममा ५० लगानीकर्ताका प्रस्ताव लगानी प्राधिकरणमा पेस गरिएको लगानी प्राधिकरण कोशीका प्रमुख कार्यकारी निर्देशक डा. सरोज कोइरालाले जानकारी गराए ।
लगानी सम्मेलनमा १ खर्ब ५७ अर्ब १८ करोडका परियोजना प्रस्तुत भएका थिए । लगानी प्राधिकरण कोशीका प्रमुख कार्यकारी निर्देशक कोइरालाले कार्यअवधिको हिसाबले नौ महिनामा लगानी सम्मेलनको सकारात्मक सन्देश गएको दाबी गरेका थिए ।
नौ महिनाको प्रगति विवरण प्रस्तुत गर्दै कोइरालाले ५० परियोजना कुनै न कुनै रूपमा अगाडि बढिरहेको बताए । यस अवधिमा ११ वटाले विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) चरणमा प्रवेश गरिसकेको उनको भनाइ थियो ।
लगानी सम्मेलनमा कृषिमा ३ अर्बका आठ वटा, ऊर्जा क्षेत्रमा ८ अर्ब ६२ करोडका तीन वटा, उद्योगमा ६६ अर्ब ८७ करोडका १२ वटा, पूर्वाधारमा ३८ अर्ब ४१ करोडका नौ वटा, आइटी क्षेत्रमा ४७ करोडका दुई वटा, फोहोर व्यवस्थापनका दुई परियोजनाका लागि ६० करोड र पर्यटन क्षेत्रमा ३४ अर्ब १९ करोडका १० परियोजना थिए । जसमा निजी क्षेत्रका १९ वटा परियोजनामा १६ अर्ब ९६ करोडको लगानी प्रतिबद्धता थियो ।
अहिलेसम्म दिर्घायु एग्रो एन्ड इन्डस्ट्रिज प्रा.लि.ले ३४ करोड लगानी गर्ने भनेको मल्टिचेम्बर कोल्ड स्टोरेज तथा एग्रो प्रोसेसिङ चेम्बर (दुहबी), सुनसरीको दुहबी–४ मा रिभाइभ इन्फ्राटेक एन्ड इन्भेस्टमेन्ट प्रा.लि.ले ५६ करोड लगानी सम्झौता गरेको फोहोरमैला प्रशोधन परियोजना, बराहक्षेत्र नगरपालिका–१० मा २० करोड लगानी सम्झौता गरेको प्रेसिडेन्ट एग्रोटेक प्रा.लि.को प्राङ्गारिक मल परियोजनाको पीडीएका लागि मस्यौदा समितिमा पठाइएको छ ।
त्यसैगरी सुनसरीको बर्जु गाउँपालिकास्थित बर्जु ताल पर्यटकीय योजना समेत पीडीए चरणमा पुगेको जानकारी कोइरालाले दिए । ४ अर्ब २८ करोडको उक्त परियोजनाको काम चाँडै सुरु हुने उनले जनाएका छन् ।
निर्देशक कोइरालाका अनुसार सम्झौता भएका सबै परियोजना पाँच वर्षमा सम्पन्न गर्ने लक्ष्यअनुरूप विस्तृत परियोजना प्रतिवेदन (डिपीआर), व्यावसायिक परियोजना तयारी तथा सर्वे प्रक्रिया सुरु गरिएको छ ।
अहिलेसम्म ५० परियोजनाले प्रस्ताव पेस गरेका छन् । तीमध्ये अध्ययन गर्ने समयअनुसार बाँडफाँड गरेर काम भइरहेको छ । लगानी प्राधिकरणलाई २४ वटा परियोजनाको कागजात अध्ययन गरिसक्ने समय तीन महिना तोकिएको थियो ।
१५ वटाको ६ महिना र १२ वटाको एक वर्षसम्ममा कागजात अध्ययन र कानुनी प्रक्रिया सक्नुपर्ने म्याद छ । नौ महिनासम्म आइपुग्दा अहिलेसम्म सकारात्मक नतिजा आएको प्रगति लगानी प्राधिकरणको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
त्यसमध्ये लगानी सम्मेलनमा एमओयु भएको पाँचखपन हाइड्रोपावर (संखुवासभा) को एक अर्ब ४२ करोड रुपैयाँ लगानी सुनिश्चित भइसकेको जनाइएको छ ।
हेवा खोलाबाट ६.९ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यसहित पाँचखपन हाइड्रोपावर कम्पनी प्रा.लि.को वित्तीय व्यवस्थापन सम्पन्न भएको छ । यो संघीय सरकारअन्तर्गत रहेको परियोजना भए पनि प्रदेश लगानी सम्मेलनमा प्रस्तावित परियोजनामा यसलाई समावेश गरिएको छ ।
पर्यटन क्षेत्रमा होटल एशियाटीकको पाँचतारे स्टार प्रोजेक्ट एक अर्ब ७५ करोड लागतमा ९० करोडको लगानी सुनिश्चित भएको दाबी छ । अर्को, सुनसरीको इटहरीमा डाटा सेन्टर र मोरङको बुढीगंगामा आरआर हस्पिटल निर्माणाधीन अवस्थामा रहेको जनाइएको छ ।
यस बाहेक साँगुरीगढीमा सिट्रस, एभोकाडो र किबी खेतीका लागि पहिलो चरणमा १० बिघा जमिन व्यवस्थापन भइसकेको र बाँकी २० बिघा प्रक्रियामा रहेको, झापामा अग्र्यानिक मलको पाइलट प्रोजेक्ट सुरु भएको जनाइएको छ । इलामको देउमाई नगरपालिकामा कफी फर्मका लागि जग्गा व्यवस्थापनको काम सुरु गरिएको जानकारी दिइएको छ ।
कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले लगानी सम्मेलनका नाममा आएका प्रतिबद्धताहरूलाई कार्यान्वयनमा लैजानका लागि हरेक तीन महिनामा छलफल गर्ने रणनीति लिएको बताए ।
गत वैशाखमा लगानी सम्मेलनपछि लगानीकर्ताहरूसँग व्यक्तिगत र सामूहिक छलफल भए पनि बिहीबार व्यापक रूपमा छलफल गरेर देखिएका कानुनी उल्झनहरू समाधान गर्ने प्रयत्न गरिएको कार्कीको भनाइ थियो ।
‘प्रदेश समृद्धिको आधारः उद्योग, कृषि, पर्यटन, ऊर्जा र पूर्वाधार’ भन्ने मूल नाराका साथ आयोजना गरिएको सो सम्मेलनमा ७१ वटा गौरवका आयोजनाहरू लगानीका लागि प्रस्तुत (सोकेस) गरिएको थियो ।








प्रतिक्रिया