अर्थतन्त्रलाई बिग्रन नदिन समयमै सही सूचना प्रवाह हुनुपर्छ : अर्थमन्त्री

77
Shares

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले अर्थतन्त्र लयमा सञ्चालन हुन समयमै सही सूचना प्रवाह अत्यावश्यक रहेको बताएका छन् ।

मिडियामा सूचनाको हक प्रयोगसम्बन्धी विषयमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनले सूचना पहुँचमा रहेको असमानताका कारण बजारमा ठूलो असन्तुलन देखिएको बताए ।

सूचनाको हकसम्बन्धी कानून मात्र नभई विभिन्न मापदण्ड तथा अन्य कानूनले पनि सूचना प्रवाहको व्यवस्था गरेको भए पनि व्यवहारमा पुँजीबजारका सबै लगानीकर्ताले एउटै समयमा समान सूचना नपाउँदा प्रतिस्पर्धा प्रभावित भइरहेको उनको भनाइ छ ।

खनालका अनुसार पुँजीबजारमा ‘इन्साइडर ट्रेडिङ’ का कारण केही व्यक्तिले सूचनामाथि एकाधिकार कायम गरिरहेका छन् । सबै लगानीकर्ताले समान समयमा समान सूचना नपाउँदा निर्णय प्रक्रियामा असमानता सिर्जना हुने र त्यसले बजारलाई विकृत बनाउने उनले बताए ।

कसैले सूचना रियल–टाइममा पाउँदा र कसैले १० दिनपछि मात्रै पाउँदा अवसर र लाभमा ठूलो अन्तर पर्ने उल्लेख गर्दै उनले धातु बजारमा सुन–चाँदीको मूल्यबारे समयमै सूचना पाउने र ढिलो पाउने व्यवसायीबीच नाफा–नोक्सानीमा ठूलो फरक पर्ने उदाहरण प्रस्तुत गरे ।

अर्थतन्त्र सही तरिकाले सञ्चालन हुन सही सूचना प्रवाह अनिवार्य हुने उनले बताए । सूचनाको हकसम्बन्धी ऐनले मात्र होइन, लेखामापदण्डसहित विभिन्न कानूनले पनि सूचना प्रवाहको विषयलाई सम्बोधन गरेको भए पनि व्यवहारमा त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको उनको भनाइ छ ।

खनालले नेपालका लेखामापदण्डहरूले ठूला कम्पनी तथा अर्थतन्त्रमा ठूलो प्रभाव पार्ने घरानाहरूले आफ्नो कारोबार, त्यसको सामाजिक प्रभाव र सार्वजनिक गर्नुपर्ने विवरण स्पष्ट रूपमा तोकेको बताए । तर कुनै कम्पनीले लेखामापदण्डअनुसार आवश्यक सूचना सार्वजनिक गरे–नगरेको विषयमा पत्रकारहरूले पर्याप्त निगरानी र विश्लेषण नगरेको उनको टिप्पणी छ ।

समान अवसरको व्यवस्था विश्वभर प्रचलित भए पनि नेपालमा कम्पनीहरूले दलित, जनजाति तथा पिछडिएका वर्गलाई कति रोजगारी दिएका छन् भन्ने विवरण सहज रूपमा उपलब्ध नभएको उनले बताए । नागरिकसम्म सही, समयमै र समान रूपमा सूचना प्रवाह गर्ने क्षेत्रमा अझै ठूलो सम्भावना बाँकी रहेको उनको भनाइ छ ।