बालेनको डेरामा चोरी गर्ने तीन जना पक्राउ


काठमाडौं । रास्वपाका वरिष्ठ नेता तथा काठमाडौं महानगरका निवर्तमान मेयर बालेन्द्र साहको धुम्बाराही चप्पल कारखानास्थित डेरामा चोरी गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार चप्पल कारखानास्थित सीतादेवी गुरुङको घरमा रहेको बालेनका डेरामा चोरी गर्ने बालाजुका ४२ वर्षीय मनिष राजवाहक, सिन्धुपाल्चोक, लिसंखुपाखर–६, पड्कु घर भई काठमाडौं, गैरीगाउँ बस्ने ४६ वर्षीय खिमबहादुर खड्का र डोटी, दिपायल-६ घर भई धादिङको धुनिवेँशी, खानीखोला बस्ने ४५ वर्षीय सञ्जय श्रेष्ठ पक्राउ परेका हुन् ।

जेन–जी आन्दोलनका क्रममा फरार भएका कैदी खोज्ने क्रममा उनीहरू पक्राउ परेका हुन् । त्यसमध्ये मनिष राजवाहक जेन(जी आन्दोलनका क्रममा रास्वपा सभापति रवि लामिछानेसँगै नख्खु कारागारबाट भागेका थिए ।

२०७९ पुस १८ मा चोरी मुद्दामा ३ वर्ष ६ महिनाको सजायका लागि जेल चलान भएका थिए । उनीविरुद्ध २०७२ जेठ २४ मा प्रहरी वृत्त कालिमाटीबाट सार्वजनिक अपराध र महाराजगञ्ज वृत्तबाट २०७२ असार ८ मा चोरी मुद्दा चलेको थियो ।

Skip This