दुई विमानको पखेटा ठोक्किएपछि…


एजेन्सी । मंगलबार साँझ मुम्बई विमानस्थलमा एयर इन्डिया र इन्डिगोका विमानहरूको पखेटाको टुप्पो आपसमा ठोक्किएको छ ।

यस घटनाबारे विमानन नियामक नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए) ले पनि विज्ञप्ति जारी गरेको छ ।

डीजीसीएका अनुसार, ‘३ फेब्रुअरी २०२६ मा मुम्बई विमानस्थलमा एयर इन्डियाको उडान एआई २७३२ उडानअघि एम४ तर्फ पार्क गरिएको अवस्थामा थियो। त्यही समयमा इन्डिगोको ए३२० विमान अवतरणपछि सोही दिशातर्फ अगाडि बढिरहेको थियो।’

डीजीसीएका अनुसार, ट्याक्सिङका क्रममा दुवै विमानका दायाँ पखेटाको टुप्पो आपसमा ठोक्किए । यद्यपि, अहिले दुवै विमानलाई अनुसन्धानका लागि पठाइएको छ । डीजीसीएले मुम्बई कार्यालयबाट अधिकारीहरू घटनास्थलमा अनुसन्धानका लागि पुगिसकेको जानकारी दिएको छ ।

समाचार एजेन्सी पीटीआईले एयर इन्डियाका प्रवक्तालाई उद्धृत गर्दै उडान संख्या एआई२७३२ मुम्बईबाट कोयम्बटुर जाँदै थियो र ढिलाइका साथ उडान भर्ने तयारीमा थियो ।

टेकअफअघि जब विमान ट्याक्सीवेमा पर्खिरहेको थियो, त्यही बेला अर्को एयरलाइनको विमानसँग सम्पर्कमा आएको हो ।

प्रवक्ताले भने, ‘दुवै विमानका पखेटाको टुप्पो आपसमा सम्पर्कमा आए, जसका कारण हाम्रो विमानको विंगटिपमा क्षति पुगेको छ। सावधानीका रूपमा थप प्राविधिक जाँचका लागि विमानलाई उडान भर्नबाट रोकिएको छ। सबै यात्रुहरूलाई सुरक्षित रूपमा विमानबाट बाहिर निकालिएको छ।’

उता, इन्डिगोका प्रवक्ताले एक विज्ञप्तिमा हैदराबादबाट मुम्बई पुगेको उनीहरूको विमानको पखेटाको टुप्पो ट्याक्सिङका क्रममा अर्को विमानको पखेटाको टुप्पोसँग सम्पर्कमा आएको बताएका छन्।
प्रवक्ताले भने, ‘पार्किङपछि सबै यात्रुहरूलाई सुरक्षित रूपमा बाहिर निकालिएको छ। विमानको जाँच भइरहेको छ। प्रोटोकलअनुसार सम्बन्धित अधिकारीहरूलाई तुरुन्तै जानकारी दिइएको छ र घटनाको अनुसन्धान जारी छ।’

यो घटना मंगलबार साँझ साढे सात बजे मुम्बई विमानस्थलमा भएको हो, जसलाई भारतका सबैभन्दा व्यस्त विमानस्थलहरूमध्ये एक मानिन्छ।

Skip This