कर्जा नोक्सानी व्यवस्था घटेसँगै नेपाल बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?


काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नेपाल बैंकको नाफा बढेको छ । कर्जा नोक्सानी व्यवस्था घटेका कारण बैंकको खुद ब्याज आम्दानी र ‘फि एन्ड कमिसन’ आम्दानी घटेपनि नाफा भने बढेको हो ।

चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्म नेपाल बैंकले १ अर्ब ३० करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको नाफा १८३.०४ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४६ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकको खुद ब्याज आम्दानी ३.९७ प्रतिशतले घटेको छ । गत आवको यही अवधिमा ४ अर्ब ६२ करोड ६६ लाख रूपैयाँ रहेको बैंकको खुद ब्याज आम्दानी घटेर ४ अर्ब ४४ करोड २९ लाख रूपैयाँ पुगेको हो । खुद फि तथा कमिसन आम्दानी १७.१६ प्रतिशतले घटेर ४४ करोड ८४ लाख रूपैयाँ पुगेको छ ।

त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी १.५९ प्रतिशतले घटेर ५ अर्ब ३४ करोड ९१ लाख रूपैयाँ पुगेको छ । यस अवधिमा बैंकको कर्जा नोक्सानी व्यवस्थामा छुट्याएको रकम २ अर्ब ५२ करोड ७४ लाख रुपैयाँबाट घटेर ४७ करोड ९९ लाख रुपैयाँमा झरेको छ । सोही कारण बैंकको आम्दानी घटेपनि नाफा भने बढेको हो । बैंकको सञ्चालन मुनाफा ३९४.६४ प्रतिशतले बढेर २ अर्ब ६ करोड १५ लाख रूपैयाँ पुगेको छ ।

नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी बढेको छ । चालु आवको दोस्रो त्रैमासमा बैंकको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ७६ पैसा छ । गत आवको दोस्रो त्रैमासमा यस्तो आम्दानी ६ रूपैयाँ २७ पैसा थियो । पुस मसान्तसम्ममा बैंकको प्रतिसेयर नेटवर्थ २६२ रुपैयाँ ४३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १३.५७ गुणा रहेको छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा ५० करोड ३६ लाख रूपैयाँ छ । गत असार मसान्तमा १ अर्ब ४१ करोड ८६ लाख रुपैयाँ रहेको बैंकको सञ्चित नोक्सानी पुससम्म आउँदा घटेर ९१ करोड ४९ लाख रुपैयाँ पुगेको छ ।

१४ अर्ब ६९ करोड ४० लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २४ अर्ब ७८ करोड २४ लाख रुपैयाँ छ । गत असार मसान्तमा ३ खर्ब ३२ अर्ब ०९ करोड रूपैयाँ रहेको बैंकको निक्षेप पुस मसान्तसम्म बढेर ३ खर्ब ६४ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ । कर्जा २ खर्ब २० अर्ब ५० करोड रूपैयाँबाट बढेर २ खर्ब ३० अर्ब ३० करोड रुपैयाँ पुगेको छ ।

बैंकको निष्क्रिय कर्जा गत आर्थिक वर्षको दोस्रो त्रैमासमा ४.९९ प्रतिशत रहेकोमा बढेर चालु आर्थिक वर्षको सोही अवधिमा ५.३४ प्रतिशत पुगेको छ । प्राथमिक पुँजीकोष अनुपात ९.४९ प्रतिशत र आधार दर ४.९६ प्रतिशत छ।