निष्क्रिय कर्जा बढेसँगै घट्यो प्रभु बैंकको नाफा, कति पुग्यो सञ्चित नोक्सानी ?


काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा प्रभु बैंकको नाफा घटेको छ । कर्जा नोक्सानी व्यवस्था बढेपछि खुद ब्याज आम्दानी र ‘फि एन्ड कमिसन’ आम्दानी सामान्य बढे पनि बैंकको नाफा भने घटेको छ ।

चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्म प्रभु बैंकले १ अर्ब १ करोड ४५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको नाफा २४.०८ प्रतिशतले घटेको हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ३३ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकको खुद ब्याज आम्दानी २.३८ प्रतिशतले बढेको छ । गत आवको यही अवधिमा ४ अर्ब ८६ करोड ७९ लाख रुपैयाँ रहेको बैंकको खुद ब्याज आम्दानी बढेर ४ अर्ब ९८ करोड ४० लाख रुपैयाँ पुगेको हो । खुद फि तथा कमिसन आम्दानी ४.५९ प्रतिशतले बढेर १ अर्ब १७ करोड ३८ लाख रुपैयाँ पुगेको छ ।

त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ०.४३ प्रतिशतले बढेर ६ अर्ब ६९ करोड ६४ लाख रुपैयाँ पुगेको छ । यस अवधिमा बैंकको कर्जा नोक्सानी व्यवस्थाका लागि छुट्याइएको रकम ८१ करोड ४२ लाख रुपैयाँबाट बढेर १ अर्ब ४५ करोड ५६ लाख रुपैयाँ पुगेको छ । सोही कारण बैंकको आम्दानी केही बढे पनि नाफामा उच्च गिरावट भएको हो । बैंकको सञ्चालन मुनाफा २२.०५ प्रतिशतले घटेर १ अर्ब ९६ करोड ६५ लाख रुपैयाँमा झरेको छ ।

नाफा घटेसँगै बैंकको प्रतिसेयर आम्दानी घटेको छ । चालु आवको दोस्रो त्रैमासमा बैंकको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ६२ पैसा छ । गत आवको दोस्रो त्रैमासमा यस्तो आम्दानी ११ रुपैयाँ ३५ पैसा थियो । पुस मसान्तसम्ममा बैंकको प्रतिसेयर नेटवर्थ १४६ रुपैयाँ १७ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २१.२७ गुणा रहेको छ ।

चालु आर्थिक वर्षको वितरणयोग्य नाफा ७९ करोड १० लाख रुपैयाँ ऋणात्मक छ । बैंकले ब्याज उठाउन नसकेपछि ८३ करोड ८३ लाख रुपैयाँ नियामकीय जगेडा कोषमा जम्मा गरेको छ । गत असार मसान्तमा २ अर्ब ५६ करोड ५५ लाख रुपैयाँ रहेको बैंकको सञ्चित नोक्सानी पुससम्म बढेर ३ अर्ब ३५ करोड ६४ लाख रुपैयाँ पुगेको छ ।

२३ अर्ब ५४ करोड २५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १४ अर्ब २२ करोड २७ लाख रुपैयाँ छ । गत असार मसान्तमा ३ खर्ब ४२ अर्ब १९ करोड रुपैयाँ रहेको बैंकको निक्षेप पुस मसान्तसम्म घटेर ३ खर्ब ४० अर्ब ४० करोड रुपैयाँमा झरेको छ । कर्जा २ खर्ब २५ अर्ब ४६ करोड रुपैयाँबाट बढेर २ खर्ब २६ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ ।

बैंकको निष्क्रिय कर्जा गत आर्थिक वर्षको दोस्रो त्रैमासमा ५.०६ प्रतिशत रहेकोमा बढेर ७.९४ प्रतिशत पुगेको छ । प्राथमिक पुँजीकोष अनुपात ८.६८ प्रतिशत र त्रैमासको औसत आधार दर ५.५० प्रतिशत छ ।