
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा घटेको छ । कर्जा नोक्सानी व्यवस्था बढेको र खुद ब्याज आम्दानीमा कमी आउँदा ‘फि एन्ड कमिसन’ आम्दानी सामान्य बढे पनि बैंकको नाफा भने घटेको छ ।
चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्म नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १ अर्ब ६१ करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको नाफा ४३.०३ प्रतिशतले घटेको हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ८३ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकको खुद ब्याज आम्दानी १२.८३ प्रतिशतले घटेको छ । गत आवको यही अवधिमा ७ अर्ब ३६ करोड ५१ लाख रुपैयाँ रहेको बैंकको खुद ब्याज आम्दानी घटेर ६ अर्ब ४२ करोड ३ लाख रुपैयाँ पुगेको हो । खुद फि तथा कमिसन आम्दानी ८.६६ प्रतिशतले बढेर १ अर्ब ९ करोड २९ लाख रुपैयाँ पुगेको छ ।
त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ४.७४ प्रतिशतले घटेर ८ अर्ब ५८ करोड ४८ लाख रुपैयाँमा झरेको छ । यस अवधिमा बैंकको कर्जा नोक्सानी व्यवस्थाका लागि छुट्याइएको रकम १ अर्ब ७७ करोड ३६ लाख रुपैयाँबाट बढेर ३ अर्ब ९ करोड ४७ लाख रुपैयाँ पुगेको छ । सोही कारण बैंकको आम्दानीको तुलनामा नाफामा उच्च गिरावट भएको हो । बैंकको सञ्चालन मुनाफा ४०.५९ प्रतिशतले घटेर २ अर्ब ४० करोड २१ लाख रुपैयाँमा झरेको छ ।
नाफा घटेसँगै बैंकको प्रतिसेयर आम्दानी घटेको छ । चालु आवको दोस्रो त्रैमासमा बैंकको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ४५ पैसा छ । गत आवको दोस्रो त्रैमासमा यस्तो आम्दानी १६ रुपैयाँ ६० पैसा थियो । पुस मसान्तसम्ममा बैंकको प्रतिसेयर नेटवर्थ १९४ रुपैयाँ ७७ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २०.२० गुणा रहेको छ ।
चालु आर्थिक वर्षको वितरणयोग्य नाफा १ अर्ब १६ करोड ५९ लाख रुपैयाँ ऋणात्मक छ । बैंकले ब्याज उठाउन नसकेपछि १ अर्ब ८२ लाख रुपैयाँ नियामकीय जगेडा कोषमा जम्मा गरेको छ । गत असार मसान्तमा २ अर्ब ४५ करोड ५१ लाख रुपैयाँ रहेको बैंकको सञ्चित नोक्सानी पुससम्म बढेर ३ अर्ब ६२ करोड ११ लाख रुपैयाँ पुगेको छ ।
३४ अर्ब १२ करोड ८६ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ३५ अर्ब ९६ करोड ३१ लाख रुपैयाँ छ । गत असार मसान्तमा ४ खर्ब ७२ अर्ब ३५ करोड रुपैयाँ रहेको बैंकको निक्षेप पुस मसान्तसम्ममा ५ खर्ब १९ अर्ब १० करोड रुपैयाँ पुगेको छ । कर्जा ३ खर्ब २३ अर्ब १८ करोड रुपैयाँबाट बढेर ३ खर्ब २८ अर्ब १६ करोड रुपैयाँ पुगेको छ ।
बैंकको निष्क्रिय कर्जा गत आर्थिक वर्षको दोस्रो त्रैमासमा ५.८६ प्रतिशत रहेकोमा बढेर ७.९० प्रतिशत पुगेको छ । प्राथमिक पुँजीकोष अनुपात ९.७२ प्रतिशत र त्रैमासको औसत आधार दर ५.१६ प्रतिशत छ ।








प्रतिक्रिया