
काठमाडौं । निष्क्रिय कर्जा बढेर पुँजी कोषमा समस्या परेको सिन्धु विकास बैंकको सम्पत्तिको गुणस्तरमा सुधार हुँदै गएको छ ।
निष्क्रिय कर्जा बढेर कर्जा नोक्सानी व्यवस्था गर्नुपर्दा बैंकको प्राथमिक पुँजी कोषमा समस्या देखिएको थियो । गत आर्थिक वर्षको चौथो त्रैमासबाट रिकभरीमा केही सुधार देखिँदा बैंकको प्राथमिक पुँजी कोष अनुपात राष्ट्र बैंकले तोकेको अनुपातमा पुगेको छ ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म बैंकले १ करोड ५४ लाख ६८ हजार रुपैयाँ नोक्सानीमा रहेको वित्तीय विवरण प्रकाशित गरेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकले ४ करोड ८७ लाख ४ हजार रुपैयाँ नाफा कमाएको थियो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकले ८ करोड ६१ लाख रुपैयाँ प्रोभिजन राइटब्याक गर्दा नाफा उल्लेख्य थियो ।
तर, चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकले १७ लाख ८८ हजार रुपैयाँ कर्जा नोक्सानी व्यवस्था गरेको छ ।
बैंकको खुद ब्याज आम्दानीमा सामान्य सुधार भई ५ करोड ६६ लाख ९९ हजार रुपैयाँबाट बढेर ५ करोड ८८ लाख ५ हजार रुपैयाँ पुगेको छ । बैंकको सञ्चित नोक्सानी २२ करोड ८५ लाख ८३ हजार रुपैयाँ छ । त्यस्तै, चुक्ता पुँजी ५५ करोड ७४ लाख ५६ हजार रुपैयाँ र जगेडाकोषमा १९ करोड ६१ लाख ८७ हजार रुपैयाँ छ ।
बैंकको सञ्चित नोक्सानीका कारण प्रतिसेयर नेटवर्थ ९४ रुपैयाँ १९ पैसा रहेको छ भने प्राथमिक पुँजी कोष अनुपात ११.०१ प्रतिशत छ । त्यस्तै, निष्क्रिय कर्जा ६.३९ प्रतिशत र त्रैमासको औसत आधार दर ७.८४ प्रतिशत छ ।








प्रतिक्रिया