६ महिनामै ३२ अर्बको मोबाइलको कारोबार, ३९ प्रतिशतले बढ्यो बजार


काठमाडौं । नेपालमा चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिना (साउन–पुस)मा करिब ३२ अर्ब ६१ करोड रुपैयाँको मोबाइलको कारोबार भएको छ । यो समयमा आयात भएका १२ लाख ५२ हजार वटा मोबाइलको भन्सार मूल्य नै २३ अर्ब २९ करोड रुपैयाँ रहेको छ ।

६ महिनामा भित्रिएको यो मोबाइल आयातमा नेपाली बजारमा हुने विक्री मूल्य ४० प्रतिशतसम्म जोडिने र यो मूल्य थप ९ अर्ब ३१ करोड रुपैयाँका कारण ३२ अर्ब रुपैयाँको कारोबार भएको हो । १२ लाख वटा स्मार्ट फोन आयात गर्न राज्यले ४ अर्ब ३४ करोड रुपैयाँ राजस्व मात्रै संकलन गरेको छ ।

गत वर्ष २०८१/८२ को पहिलो ६ महिनामा ११ लाख ११ हजारवटा स्मार्टफोन भित्रिएका थिए । गत वर्ष १६ अर्ब ७१ करोड रुपैयाँ भन्सार मूल्यको मोबाइल आयात भएको थियो । यो आयातबाट नेपाली बजारमा गत वर्षको पहिलो ६ महिनामा भएको बिक्री मूल्य ६ अर्ब ६८ करोड थप गरेर भएको अनुमान छ ।

यो सहित गत वर्ष पहिलो ६ महिनामा २३ अर्ब ३९ करोड रुपैयाँको मोबाइल कारोबार भएको देखिन्छ । यो कारोबार अनुसार गत वर्षको तुलनामा यो वर्ष ३९ प्रतिशतले मोबाइलको बजार बढेको देखिन्छ ।

नेपालमा हरेक महिना मोबाइलको आयात बढ्दै गएको छ । नेपालमा भित्रिएका स्मार्टफोनको खपत बढेकोले मासिक रुपमा भइरहेको आयातसमेत बृद्धि भएको हो ।

नेपाल भित्रिएका मोबाइलमा १३ प्रतिशतका दरले मूल्य अभिबृद्धि कर ९भ्याट० र ५ प्रतिशतका दरले अन्तशुल्क लाग्छ । यो रकमलाई मोबाइल व्यवासायीले एकमुष्ट रुपमा मोबाइल आयात गरेवापत सरकारलाई १८‍.६५ प्रतिशत राजस्व तिर्छन् ।

नेपाल भित्रिएका मोबाइलमा आयातकर्ताले र बिक्रेताले राख्ने ५.५ प्रतिशतको मार्जिन, होलसेल हुँदै रिटेलसम्म पुग्दा जोडिने थप मार्जिन जोडिने गरेको छ । व्यवासीले बिक्री गरेर आम उपभोक्ताले खरिद गर्दासम्म आयात गरेको मूल्यमा उपभोक्तासम्म पुग्दा थप ४० प्रतिशतसम्म मूल्य जोडिने गरेको पनि मोबाइल आयातकर्ता संघको भनाइ छ ।

पछिल्लो समय महंगा स्मार्टफोनको प्रयोग बढेसँगै आयात पनि सोही अनुपातमा बृद्धि भइरहेको तथ्यांकले देखाएको छ । तथ्यांक अनुसार गत वर्षको मंसिरसम्मको तुलनामा यो वर्षको सोही अवधिसम्ममा स्मार्ट फोनको आयात पनि १ लाख भन्दा बढीले बढेको छ ।

पछिल्लो समय भित्रिएको मोबाइलमा २०–२५ देखि ३०–३५ हजार रेन्जका मोबाइलको खपत धेरै देखिएको मोबाइल व्यवसायीको भनाइ छ । औसतमा २५–३० हजार रुपैयाँको मोबाइल प्रयोग हुन थालेको पनि व्यवसायीले मासिक रुपमा बिक्री गर्ने तथ्यांकले देखाइरहेको छ ।