संगिता मिश्रसँग विशेष अदालतले माग्यो ५ लाख धरौटी


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी पूर्वअतिरिक्त सचिव डा. सगिता मिश्रसँग विशेष अदालतले ५ लाख रुपैयाँ धरौटी मागेको छ । उनलाई भ्रष्टाचारको मुद्दामा विशेष अदालतले बुधबार उक्त धरौटी माग गरेको हो ।

न्यायाधीशत्रय नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले मिश्रसँग धरौटी रकम माग गर्ने आदेश दिएको हो ।

कात्तिक २ गते अख्तियार दुरूपयोग अनुसन्धान आयोगले म्यामोग्राफी मेसिन खरिदमा अनियमितता गरेको ठहर गर्दै स्वास्थ्य सेवा विभागका तत्कालीन महानिर्देशक डा.मिश्रसहित १४ जनाविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो।

उनीहरूले झुट्टा बिल बिजक, गलत प्रतिवेदन र मिलेमतोका आधारमा राज्यलाई करिब १४ करोड रूपैयाँभन्दा बढी हानी पुर्‍याएको अख्तियार दुरुपयोग अनुसन्धान अयोगको दाबी छ ।