५० लाखले अन्तर्राष्ट्रिय उडान गर्दा देशभित्रै यात्रा गर्नेको संख्या ४५ लाख ६९ हजार

बुध्द एयरको ५६% बजार हिस्सा


काठमाडौं । नेपाली आकाश प्रयोग गरेर ५० लाख ४५ हजार यात्रुले अन्तर्राष्ट्रिय हवाई उडानको सेवा लिँदा आन्तरिक वायुसेवाबाट देशभित्रै यात्रा गर्नेको संख्या सन् २०२५ को एक वर्षमा ४५ लाख ६९ हजार रहेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले उपलब्ध गराएको तथ्यांकअनुसार नेपालबाट अन्तर्राष्ट्रिय उडानमा जाने २५ लाख ८८ हजार र नेपाल भित्रिने २४ लाख ३७ हजार यात्रु रहेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरेर हुने उडान तथा अवतरणको यात्रु र आन्तरिक जहाजमार्फत देशैभित्र यात्रा गर्ने यात्रुको गरी सन् २०२५ मा भएको सेवाबाट ९६ लाख १४ हजार यात्रुले सेवा लिएका छन् ।

आन्तरिक उडानमा भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २३ लाख ३२ हजार यात्रु बाहिरिँदा २२ लाख ३७ हजार यात्रु भित्रिएका छन् । आन्तरिक उडानमा गत वर्ष सन् २०२४ को तुलनामा यो वर्ष डेढ लाख यात्रु थपिएका छन् ।

गत वर्ष ४४ लाख १२ हजार यात्रुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक उडानको सेवा लिएकामा यो वर्ष सन् २०२५ को एक वर्षमा ४५ लाख ६९ हजार यात्रु पुगेका छन् । यो संख्यामध्ये ५१ हजार ४२८ हेलिकप्टर उडानका यात्रु छन् भने बाँकी सबै आन्तरिक उडानका वायुसेवाले दिएको यात्रु रहेको पनि तथ्यांकमा देखिएको छ ।

अन्तर्राष्ट्रिय उडानमा ६ लाख यात्रुलाई सेवा दिएर वायुसेवा निगम सबैभन्दा अगाडि

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले सन् २०२५ मा ६ लाख ६ हजार ३३३ यात्रुलाई सेवा दिएर अन्तर्राष्ट्रिय उडानमा सबैभन्दा बढी यात्रु सेवा दिएको छ । वायुसेवा निगमले २ लाख ८८ हजार ९०५ यात्रुलाई नेपाल भित्र्याउँदा बाहिर ३ लाख १६ हजार यात्रुलाई नेपालबाट बाहिर लगेको छ ।

निगमले पछिल्लो एक वर्षमा ३५ सय १७ उडान गरेको छ । यसले गरेको यो उडान नेपालबाट भएका विभिन्न गन्तव्यमा छन् । निगम नेपालबाट सबैभन्दा धेरै गन्तव्यमा पुग्ने र यात्रु सेवा दिने कम्पनी पनि हो । निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि ४ वटा जहाजमध्ये २ वटा न्यारोबडी र २ वटा वाइडबडी छन् ।

नेपाली वायुसेवा हिमालय एयरलाइन्सले पछिल्लो एक वर्षमा ४ लाख ७४ हजार यात्रुलाई सेवा दिएको छ । यो वायुसेवाले नेपालबाट गर्ने अन्तर्राष्ट्रिय उडानमध्ये २ लाख २१ हजार ५९२ यात्रुलाई स्वदेश भित्र्याएको छ भने २ लाख ३८ हजार ४५० यात्रुलाई नेपालबाट बाहिर लगेको छ ।

नेपालमा अन्तर्राष्ट्रिय उडान गर्ने विभिन्न ३० वटा वायुसेवा छन् । यसमध्ये नेपाली वायुसेवामा निगम र हिमालय एयरलाइन्सबाहेक बुध्द एयरले पनि काठमाडौंबाट भारतको बनारस र कोलकातामा उडान गर्छ । यो वायुसेवाले गरेको उक्त गन्तव्यको उडानका लागि एक वर्षमा १६ हजार ५९९ यात्रुलाई सेवा दिएको छ ।

बुध्दलेअन्तर्राष्ट्रिय उडानमा ७ हजार ९७३ यात्रुलाई काठमाडौं भित्र्याउँदा ८ हजार ६२६ यात्रुलाई भारत पुर्‍याएको छ । यसका लागि बुध्दले ३७२ वटा उडान गरेको पनि नेपाल नागरिक उड्डयन प्राधिकरणले उपलब्ध गराएको एक तथ्यांकले देखाएको छ ।

अग्रणी बुध्द एयरको यात्रुसेवा ८५ हजारले घट्यो

आन्तरिक उडानको अग्रणी वायुसेवा कम्पनी बुध्द एयरको भने यात्रु उडान क्षमता घटेको छ । यो वायुसेवा आन्तरिक उडानमा सबैभन्दा धेरै यात्रुलाई सेवा दिने कम्पनी भए पनि यसले गत वर्षको तुलनामा यो वर्ष सन् २०२५ मा उडाएका यात्रु ८५ हजार ४७३ ले घटेको छ । यो संख्या ३.२२ प्रतिशतले घटेको हो ।

आन्तरिक उडानमा वर्षेनी सबैभन्दा धेरै यात्रुलाई सेवा दिने यो वायुसेवा कम्पनीसँग जहाज पनि अरू वायुसेवाभन्दा धेरै छन् । बुध्दसँग सुगम क्षेत्रमा मात्रै उडान गर्ने १७ वटा हवाई जहाज छन् । यो वायुसेवाले सन् २०२५ मा २५ लाख ६३ हजार यात्रुलाई सेवा दिएको छ । यसअघि २६ लाख ४८ हजार यात्रुलाई गत वर्ष सन् २०२४ मा सेवा दिएको थियो ।

बुध्द एयरले दिएको यात्रु सेवाको हिसाबले यसको बजार हिस्सा ५६ प्रतिशत देखिन्छ । यो बजार हिस्सा नेपालमा उडान गर्ने कुल वायुसेवाको यात्रु उडानमध्ये हो । सुगम क्षेत्रकै यात्रु उडानको संख्याका हिसाबले भने बुध्द एयरको बजार हिस्सा करिब ५८ प्रतिशत हुन्छ ।

सहरी क्षेत्रका विमानस्थलमा उडान गर्ने वायुसेवामा बुध्दसँगको प्रतिस्पर्धामा यति र श्री एयरलाइन्स मात्रै छन् । आन्तरिक उडानमा सुगम अर्थात् सहरी क्षेत्रका विमानस्थलमा मात्रै उडान गर्ने बुध्द, यति र श्रीको यात्रुसंख्या भने ४ लाख ४४ हजार छ ।

आन्तरिक उडानमा बुध्द एयरपछि दोस्रो धेरै यात्रु सेवा दिनेमा यति एयरलाइन्स छ ।

यो वायुसेवाले पनि आन्तरिक उडानमा सुगम क्षेत्रमा मात्रै उडान सेवा दिइरहेको छ । यो वायुसेवासँग पनि सबै एटीआर-७२ नामक ७२ सिट क्षमताका जहाज छन् । यतिले सन् २०२५ मा १० लाख ९ हजार यात्रुलाई सेवा दिएको छ । यसले गत वर्ष ९ लाख ५० हजार यात्रुलाई सेवा दिएको थियो ।

आन्तरिक उडानमा श्री एयरलाइन्स यात्रु सेवाका हिसाबले तेस्रो प्रतिस्पर्धी कम्पनी हो । यसले ८ लाख ७० हजार यात्रुलाई सेवा दिएको छ । यात्रु सेवाको दायरा बढाउँदै गएको यो वायुसेवाले गत वर्ष सन् २०२४ मा ६ लाख ९४ हजार यात्रुलाई सेवा दिएको थियो ।

तारा एयरको पनि गत वर्ष सन् २०२४ को तुलनामा २०२५ मा यात्रु उडान संख्या बढेको छ । यो वायुसेवाको यात्रु सेवा २ हजार ६८४ ले बढेको छ । यसले सन् २०२५ मा २२ हजार ५ सयलाई सेवा दिएको छ । यसअघि यस्तो हवाई यात्रुलाई दिएको सेवाको संख्या १९ हजार ८ सय थियो ।

सीता एयरको पनि यात्रु संख्या १७ हजारबाट बढेर १९ हजार पुगेको छ । समिट एयरलाइन्सको यात्रु सेवा १५ हजारबाट २२ हजार पुगेको छ ।

हेलिकप्टर सेवा प्रदायकको एकमुष्ट यात्रु सेवा र नेपाल वायुसेवा निगमको पनि यात्रु क्षमता घटेको छ । निगमका ११ हजार २७५ यात्रु सन् २०२४ मै थिए भने सन् २०२५ मा यसको यात्रु क्षमता घटेको छ । यसको यात्रु सेवा ११ हजार ७ जना मात्रै छ ।