खेलकुद मन्त्री बब्लु गुप्ताले दिए राजीनामा, रास्वपाबाट उम्मेदवार बन्ने तयारी


काठमाडौं । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले आफ्नो पदबाट राजीनामा दिएका छन् । आगामी निर्वाचनमा उम्मेदवार बन्ने तयारीमा रहेका उनले मन्त्री पद त्यागेका हुन् ।

मन्त्री गुप्ताले आइतबार राति नै प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर आफ्नो राजीनामाबारे जानकारी गराइसकेको बताएका छन् । आज सार्वजनिक बिदा परेकाले उनको राजीनामा पत्र भोलि (सोमबार) मात्रै औपचारिक रूपमा दर्ता हुनेछ ।

गुप्ता आगामी निर्वाचनमा सिरहा क्षेत्र नम्बर १ बाट चुनाव लड्ने तयारीमा छन् उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट चुनावी मैदानमा उत्रने तयारी गरे पनि अहिलेसम्म टिकटको टुङ्गो भने लागिसकेको छैन ।

हाल जनकपुरधाममा रहेका गुप्ता रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहको चुनावी अभियानमा सहभागी भइरहेका छन्। निर्वाचनमा केन्द्रित हुनका लागि उम्मेदवारी दर्ता गर्नुअघि नै उनले मन्त्री पदबाट बाहिरिने निर्णय लिएका हुन्।