
जनकपुरधाम । पूर्व राजा ज्ञानेन्द्र शाह आगामी माघ १२ गते जनकपुरधाम आउने भएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) धनुषाले आइतबार विज्ञप्ति जारी गर्दै शाहको भ्रमणबारे औपचारिक जानकारी दिएको हो ।
राप्रपा धनुषाका जिल्ला अध्यक्ष रामचन्द्र यादवका अनुसार आइतबार बसेको पार्टी कार्यसमितिको बैठकले पूर्व राजाको स्वागत तथा व्यवस्थापनका लागि विशेष निर्णय गरेको छ ।
भ्रमणलाई भव्य र व्यवस्थित बनाउन पार्टीका सुशासन विभागका केन्द्रीय सदस्य श्रवण कुमार झा (लालबाबु) को संयोजकत्वमा १००१ सदस्यीय ‘मूल समारोह स्वागत समिति’ गठन गरिएको छ।
भ्रमणका क्रममा पूर्वराजा शाहले जनकपुरस्थित प्रसिद्ध जानकी मन्दिर र राम मन्दिरमा विशेष पूजाअर्चना तथा दर्शन गर्ने कार्यक्रम तय भएको छ ।
राप्रपाले भ्रमणको तयारीका लागि विभिन्न उपसमितिहरू समेत गठन गरी कामलाई तीव्रता दिएको जनाएको छ । राप्रपा धनुषाले पूर्व राजाको यस भ्रमणलाई ऐतिहासिक बनाउन सम्पूर्ण तयारी भइरहेको दाबी गरेको छ ।








प्रतिक्रिया