
कर्णाली । माघ १ गते सञ्चालन भएको ‘दोस्रो प्रादेशिक मह महोत्सव’ शनिबार सम्पन्न भएको छ ।
कर्णालीका मौरपालक तथा स्थानीय परम्परागत (रैथाने) बाली उत्पादक किसानले तीन दिनसम्म सञ्चालन भएको महोत्सवमा आफ्ना उत्पादनहरूलाई प्रदर्शनीमार्फत बिक्रीवितरण पनि गरेका छन् ।
चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवस–२०८२ का अवसरमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेश, कृषि विकास निर्देशनालय सुर्खेत, वीरेन्द्रनगर नगरपालिका र राष्ट्रिय तथा अन्तरराष्ट्रिय विकास साझेदार संस्था लिबर्डसहितका दर्जन बढी संस्थाको समन्वयमा नेपाल मौरीपालक महासङ्घ कर्णाली प्रदेश सुर्खेतले वीरेन्द्रनगरमा ‘दोस्रो प्रादेशिक मह महोत्सव’को आयोजना गरेको थियो ।।
नेपाल मौरीपालक महासङ्घ कर्णाली प्रदेश अध्यक्ष लिलारम ढकालले महोत्सवमा चार क्विन्टल ७६ केजी मह बिक्री भएको बताए । १० लाखको बिक्री वितरण भएको बताउँदै मौरीपालक किसानलाई प्रोत्साहित, व्यवसाय प्रवर्द्धन, मह उत्पादनमा वृद्धि, बजारीकरण र प्रचारप्रसारलाई व्यापक बनाउने उद्देश्यले सञ्चालन गरिएको ‘दोस्रो प्रादेशिक मह महोत्सव’बाट राम्रो सन्देश प्रवाह भएको बताए ।
महोत्सवमा कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले जैविक विविधता संरक्षणबाट मात्र मानव अस्तित्व रक्षा पछिल्लो समयमा मानव गतिविधिका कारण जैविक विविधता नास हुँदै गइरहेको बताए ।
कर्णाली प्रदेश सरकारका कृषि विकास रणनीति बनाएर पर्यावरणीय कृषि प्रणालीमा जोड दिएको बताउँदै उनले महोत्सव सञ्चालनले जैविक विविधता संरक्षणमा सहयोग पुग्ने जानकारी दिए ।
उनका अनुसार जैविक विविधता कायममा मौरीको महत्त्वपूर्ण भूमिका भएकाले प्रकृति जोगाउन मौरी संरक्षण पनि त्यत्तिकै अपरिहार्य रहेको छ ।
महोत्सवमा सरकार ज्ञान, प्रविधि र बजार दिन तयार रहेको भन्दै उनले हाम्रो उत्पादनलाई विश्वबजारमा पुर्याएर अर्थोपार्जनका लागि आफ्नो लगानी गर्न मौरीपालक व्यवसायीहरूलाई आग्रह गरेका थिए ।








प्रतिक्रिया