
एजेन्सी । विश्व अर्थतन्त्र अपेक्षा गरिएको भन्दा बढी सबल साबित भइरहेको छ ।
त्यसअन्तर्गत सन् २०२६ को कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वृद्धि गत जुन महिनाको प्रक्षेपणभन्दा केही सुधार हुने अपेक्षा गरिएको विश्व बैंकले मंगलबार जनाएको छ । तर, यो वृद्धि विकसित देशहरूमा मात्र केन्द्रित भएको र चरम गरिबी घटाउन समग्रमा निकै कमजोर रहेको चेतावनी पनि उसले दिएको छ ।
विश्व बैंकको अर्धवार्षिक विश्व आर्थिक परिदृश्य (ग्लोबल इकोनोमिक प्रोस्पेक्ट्स) प्रतिवेदनले विश्वव्यापी उत्पादन वृद्धि सन् २०२५ को २.७ प्रतिशतबाट यस वर्ष केही घटेर २.६ प्रतिशतमा सीमित हुने र सन् २०२७ मा पुनः २.७ प्रतिशतमा फर्किने देखाउँछ ।
सन् २०२६ को जीडीपीको प्रक्षेपण जुन महिनामा सार्वजनिक गरिएको पछिल्लो भविष्यवाणीभन्दा ०.२ प्रतिशत विन्दुले बढेको छ जबकि २०२५ को वृद्धि अघिल्लो प्रक्षेपणभन्दा ०.४ प्रतिशत विन्दुले बढी हुनेछ ।
भन्सार शुल्कका कारण सिर्जित व्यापार अवरोधका बावजुद अमेरिकामा अपेक्षा गरिएभन्दा राम्रो वृद्धिको कारणले यो माथिल्लो संशोधनको करिब दुईतिहाइ हिस्सा ओगटेको विश्व बैंकले जनाएको छ ।
यसले अमेरिकी जीडीपीको वृद्धि सन् २०२६ मा २.२ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ । त्यो सन् २०२५ मा २.१ प्रतिशत थियो । यो जुन महिनाको प्रक्षेपणको तुलनामा क्रमशः ०.२ र आधा प्रतिशत विन्दुले बढी हो ।
सन् २०२५ को सुरुमा भन्सार शुल्कबाट बच्नका लागि भएको आयात वृद्धिका कारण सो वर्षको अमेरिकी आर्थिक वृद्धिमा अवरोध पुगेपछि सन् २०२६ मा ठूला कर सहुलियतहरूले वृद्धिलाई सहयोग पुर्याउनेछ । त्यसलाई लगानी र उपभोगमा पर्ने भन्सार शुल्कको नकारात्मक प्रभावले सन्तुलित पार्ने विश्व बैंकले जनाएको छ ।
तर, वर्तमान प्रक्षेपणहरू कायम रहेमा सन् २०२० को दशक १९६० पछिको विश्वव्यापी वृद्धिको लागि सबैभन्दा कमजोर दशक हुने बाटोमा रहेको र यो उदीयमान बजार तथा विकासशील देशहरूमा आर्थिक मन्दी र बेरोजगारी टार्नका लागि निकै कम हुने विश्वव्यापी ऋणदाताले जनाएको छ ।
‘प्रत्येक बित्दो वर्षसँगै विश्व अर्थतन्त्र वृद्धि उत्पन्न गर्न कम सक्षम र नीतिगत अनिश्चितताप्रति बढी लचिलो देखिँदै गएको छ,’ विश्व बैंकका मुख्य अर्थशास्त्री इन्दरमित गिलले एक विज्ञप्तिमा भनेका छन्, ‘तर, सार्वजनिक वित्त र कर्जा बजारलाई क्षति नपुर्याई आर्थिक गतिशीलता र लचिलोपन लामो समयसम्म फरक दिशामा जान सक्दैनन् ।’
उदीयमान बजार र विकासशील अर्थतन्त्रहरूको वृद्धि सन् २०२५ को ४.२ प्रतिशतबाट घटेर २०२६ मा ४ प्रतिशतमा खुम्चिनेछ । यो जुन महिनाको प्रक्षेपणको तुलनामा क्रमशः ०.२ र ०.३ प्रतिशत विन्दुले बढी हो । तर, चीनलाई बाहेक गर्ने हो भने यस समूहको सन् २०२६ को वृद्धिदर ३.७ प्रतिशत हुनेछ । यो सन् २०२५ को तुलनामा अपरिवर्तित रहेको विश्व बैंकले जनाएको छ ।
चीनको वृद्धि सन् २०२५ को ४.९ प्रतिशतबाट घटेर सन् २०२६ मा ४.४ प्रतिशतमा झर्नेछ । तर, वित्तीय प्रोत्साहन र गैर–अमेरिकी बजारहरूमा बढेको निर्यातका कारण यी दुवै प्रक्षेपण जुन महिनाको तुलनामा ०.४ प्रतिशत विन्दुले बढी छन् ।








प्रतिक्रिया