
काठमाडौं । नेपाली कांग्रेसको विवाद समाधानका लागि दुई पक्षबीच छलफल भएको छ ।
संस्थापन पक्ष र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा जारी विशेष महाधिवेशन पक्षबीच मंगलबार भएको पहिलो चरणको छलफल सकिएको हो ।
लाजिम्पाटमा मंगलबार बिहान साढे ८ बजेदेखि साढे ११ बजेसम्म चलेको दुई पक्षीय नेताहरूको संवाद सौहार्दपूर्ण रहेको सहभागी नेताहरूले बताएका छन् ।
संस्थापन पक्षका नेता रमेश लेखकले पहिलो चरणको छलफल सकारात्मक भएको बताए । उनले विषयहरूको पहिचान गरिएको र पार्टीलाई एकताबद्ध राख्न सबै सहमत भएको जानकारी दिए । वार्ता सकारात्मक रहेकाले मंगलबार दिउँसो साढे २ बजे पुनः बैठक बस्ने तय भएको छ ।
छलफलमा सहभागी अर्का नेताले पनि संवाद सकारात्मक दिशामा अगाडि बढेको र आजै सहमतिमा पुग्ने गरी गृहकार्य भइरहेको बताए ।
गगन-विश्वप्रकाश पक्षधरले भने पहिलो चरणमा आफूहरूको प्रस्ताव सुन्ने काम भएको जानकारी दिए।
वार्तामा सभापति शेरबहादुर देउवा पक्षबाट लेखकसँगै बालकृष्ण खाण, नेता शेखर कोइराला पक्षबाट जीवन परियार र मीनेन्द्र रिजाल तथा महामन्त्रीद्वयको पक्षबाट प्रदीप पौडेल, मधु आचार्य, गुरुराज घिमिरे र देवराज चालिसे सहभागी थिए ।
स्रोतका अनुसार संस्थापन पक्ष विशेष महाधिवेशनको स्वामित्व लिन र त्यहाँबाट पारित नीतिगत निर्णयहरूलाई स्वीकार गर्न तयार देखिएको छ । यसका लागि गत पुस १८ गतेको केन्द्रीय कार्यसमिति बैठकले विशेष महाधिवेशनको औचित्य समाप्त भएको भनी गरेको निर्णयलाई आजै बस्ने केन्द्रीय समिति बैठकबाट उल्ट्याउने तयारी गरिएको छ ।
विशेष महाधिवेशन पक्षले वार्तामा मुख्य चारवटा प्रस्ताव अगाडि सारेको छ । जसमा विशेष महाधिवेशनको स्वामित्व ग्रहण, आगामी निर्वाचनमा वितरण हुने टिकटमा सभापतिको सट्टा कार्यवाहक सभापतिको हस्ताक्षर चल्नुपर्ने, महामन्त्री गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अगाडि सार्नुपर्ने र आगामी निर्वाचनमा आफ्नो पक्षलाई ४० प्रतिशत टिकट सुनिश्चित गर्नुपर्ने माग रहेको स्रोतको दाबी छ ।
संस्थापन पक्ष नीतिगत स्वामित्व र ४० प्रतिशतको हिस्सामा केही लचिलो देखिए पनि सभापतिको हस्ताक्षर र प्रधानमन्त्रीको उम्मेदवारीको विषयमा भने अझै ठोस सहमति जुट्न सकेको छैन ।
विशेष पक्षले भने पूर्णबहादुर खड्कालाई जेठसम्म कार्यवाहक सभापति दिनुपर्ने र देउवा चुनाव लड्न नहुने अडान समेत राखेको बुझिएको छ ।
यता भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको बन्द सत्रमा महामन्त्रीद्वयले प्रस्तुत गरेको प्रतिवेदनमाथि विभिन्न समूहमा छलफल भइरहेको छ । बन्द सत्रले पार्टीको पुरानो निर्वाचन समिति भङ्ग गरी वरिष्ठ अधिवक्ता सीताराम केसीको संयोजकत्वमा पाँच सदस्यीय नयाँ निर्वाचन समिति समेत गठन गरिसकेको छ ।
आम चुनावको मुखमा पार्टी विभाजन हुन नहुने दबाबका बीच दुवै पक्ष ‘विन-विन’ को अवस्था खोजिरहेका छन् । दिउँसोका लागि डाकिएको केन्द्रीय कार्यसमितिको बैठकअघि हुने दोस्रो चरणको वार्ताले कांग्रेसको आन्तरिक विवादको भविष्य तय गर्ने देखिएको छ ।








प्रतिक्रिया