‘रोयल टुलिप चितवन’को महाप्रबन्धकमा कृष्णप्रसाद तिमल्सिना नियुक्त

105
Shares

काठमाडौं। सौराहामा सञ्चालित पाँचतारे लक्जरी रिसोर्ट ‘रोयल टुलिप चितवन’को महाप्रबन्धकमा कृष्णप्रसाद तिमल्सिना नियुक्त भएका छन । केटीएम हस्पिटालिटी लिमिटेडले सञ्चालन गरेको  अन्तर्राष्ट्रिय चेनको प्रिमियम रिसोर्टले बिहीबारदेखि तिमल्सिनालाई महाप्रबन्धकको जिम्मेवारी दिएको हो ।

तिमल्सिनाको होटल क्षेत्रमा ३० वर्षको अनुभव छ । उनले अन्तर्राष्ट्रिय क्षेत्रमा काम गरेको अनुभव बटुलेका छन ।

महाप्रबन्धक तिमल्सिनासँग नेपाल तथा चीनका प्रतिष्ठित अन्तर्राष्ट्रिय चेन होटल तथा रिसोर्टहरूको नेतृत्वदायी पदमा रही काम गरेको अनुभव छ । उनले पोखराको माउन्टेन ग्लोरीलगायत विभिन्न अन्तर्राष्ट्रिय होटल चेनमा काम गरिसकेका छन् । यस रिसोर्टमा उच्च प्रतिस्पर्धाबाट छानिएका विभिन्न तहका कर्मचारीहरू आफ्नो पेशामा दक्ष र व्यवसायिक छन । सबै कर्मचारीहरूले आवश्यक तालिम लिइसकेका छन ।

‘होटल निर्माणका क्रममा स्वदेशी उत्पादनको अधिकतम प्रयोग गरिएको थियो। जनशक्ति पनि स्वदेशी नै उपयोग गर्ने नीति अनुरुप अन्तर्राष्ट्रिय अनुभव बटुलेका तिमल्सिनालाई नियुक्त गरेको हो,’ केटीएम हस्पिटालिटी लिमिटेडका अध्यक्ष रामेश्वर शाहले भने, ‘फ्रान्सको प्रख्यात लुभ्र होटल्स ग्रुपसँग सहकार्य गरेर चितवनमा खुलेको होटलमा प्रायजसो जनशक्ति नेपाली नै छन् । प्राविधिक जनशक्ति ब्राण्डसँग समन्वय र परामर्शमा लिइएको हो।’

रोयल टुलिप फ्रान्सको लुभ्र होटल्स ग्रुपअन्तर्गतको प्रिमियम ब्राण्ड हो । जसले विश्वभर ७० भन्दा बढी देशमा १ हजार ७५६ भन्दा बढी होटल सञ्चालन गरिरहेको छ। युरोप, एसिया, अफ्रिका र मध्यपूर्वमा आफ्नो उपस्थिति जमाइसकेको यो ब्राण्डले लक्जरी आवास र उत्कृष्ट सेवाका लागि अन्तर्राष्ट्रिय ख्याति प्राप्त गरेको छ।

रोयल टुलिप ब्राण्डले विशेष गरी आफ्ना पाहुनालाई स्थानीय संस्कृति र अन्तर्राष्ट्रिय मापदण्डको सुन्दर समन्वय प्रदान गर्ने रणनीति अपनाउँदै आएको छ। यही मोडलअनुसार नेपालमा पनि स्थानीय संस्कृति र विश्वस्तरीय सुविधाको अद्भुत मेलमिलाप गराइएको छ।

यो रिसोर्टमा ६५ वटा सुन्दर ढंगले डिजाइन गरिएका आवासहरू रहेका छन । विशेष पुल भिला, वाटर भिला र मचान सुइटहरूले मनमोहक दृश्य र विलासी सुविधा प्रदान गर्छ।

रिसोर्टका प्रमुख आकर्षणमा अन्तर्राष्ट्रिय मापदण्डको स्पा र वेलनेस सेन्टर, आधुनिक फिटनेस सेन्टर, रमणीय पौडी पोखरी, फरेस्ट फ्लेम रेस्टुरेन्ट, मचान लाउन्ज, जीवन्त तनाबी स्पोट्र्स बार, शिशुकुञ्ज (बच्चाका लागि खेल्ने स्थान), बोटिङ तथा फिसिङ सहित सुविधायुक्त पानी पोखरी घर, किलोमिटरको वाकिङ ट्रेल तथा हेलिप्याड रहेको छ ।

आदिम कालदेखि चितवन क्षेत्रमा बसोबास गर्दै आएका माझी र थारु समुदायको सम्पन्न संस्कृतिलाई जीवन्त राख्न ‘माझीघर’ निर्माण गरिएको छ, जसले अन्तर्राष्ट्रिय पर्यटकलाई नेपाली संस्कृतिको प्रामाणिक अनुभव प्रदान गर्नेछ।

रोयल टुलिप चितवनले विश्वस्तरीय गुणस्तर र उत्कृष्ट आतिथ्यता प्रदान गर्दै स्थानीय संस्कृति र परम्पराको संरक्षण गर्ने मूल उद्देश्य राखेको छ। यसले विदेशी मुद्रा आर्जनमा वृद्धि ल्याउने मात्र नभइ स्थानीय रोजगारी सृजना, क्षमता विकास र सांस्कृतिक संरक्षणमा पनि महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरेको छ ।