
एजेन्सी । इरान सरकारले हालका वर्षहरूमा आफ्नो शासनलाई चुनौती दिने देशव्यापी विरोध प्रदर्शनका लहरहरूलाई बल प्रयोग गरेर सामना गर्दै आएको छ । तर, पहिलोपटक इरानका शासकहरूले अझ जटिल चुनौतीको सामना गरिरहेका छन् । तेहरानले बढ्दो आन्तरिक अशान्ति र बाह्य सैन्य खतराको सम्मिश्रण बेहोरिरहेको छ ।
इरान सरकार दुवैलाई सम्बोधन गर्ने मामिलामा गतिरोधमा फसेको देखिन्छ । उससँग न त विरोध प्रदर्शनलाई इन्धन दिइरहेको आर्थिक पतनलाई उल्टाउने कुनै स्पष्ट रणनीति छ, न त इरानी नेताहरू इजरायल र अमेरिकालाई शान्त पार्न र अर्को चरणको आक्रमणको जोखिम टार्न आफ्नो आणविक कार्यक्रममा पर्याप्त सम्झौता गर्न इच्छुक देखिएका छन् ।
विरोध प्रदर्शनले इरानलाई एक हप्तादेखि आन्दोलित बनाएको छ । तर, यी प्रदर्शनहरूले गत दुई ठूला विद्रोहहरूको आकार र दायरालाई भेटाएका छैनन् । सन् २०२२ मा महिलाहरूको नेतृत्वमा भएको र सन् २०१९ मा पेट्रोलको मूल्यवृद्धिका कारण सुरु भएको आन्दोलनको आकार अहिलेको भन्दा ठूलो थियो । तैपनि यसले उच्च अधिकारीहरूलाई झस्काएको छ र अमेरिका तथा इजरायलबाट तत्काल प्रतिक्रिया आएको छ ।
अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले हस्तक्षेप गर्ने धम्की दिँदै शुक्रबार सामाजिक सञ्जालमा पोस्ट गर्दै इरानले शान्तिपूर्ण प्रदर्शनकारीहरूलाई दमन गरेमा अमेरिका उनीहरूको सहयोग गर्न जाने र आफूहरू पूर्ण तयारीका साथ तम्तयार रहेको बताएका छन् ।
इजरायली विदेशमन्त्री र धेरै सरकारी अधिकारीहरूले प्रदर्शनकारीहरूको पक्षमा आवाज उठाएका छन् । इजरायलकी नवप्रवर्तन, विज्ञान र प्रविधिमन्त्री गिला गम्लिलले बिहीबार सामाजिक सञ्जालमा पोस्ट गरिएको एक भिडियोमा भनिन्, ‘इजरायल तपाईंहरूको साथमा छ र हामी तपाईंहरूलाई सम्भव भएसम्म सबै तरिकाले समर्थन गर्छौं ।’
शनिबार अमेरिकी सेनाले इरानको सबैभन्दा नजिकको सहयोगीमध्ये एक भेनेजुएलामा आक्रमण गरी भेनेजुएलाका नेता निकोलस मदुरोलाई कब्जामा लियो । वाशिङटनले निकट भविष्यका लागि त्यो दक्षिण अमेरिकी देश सञ्चालन गर्ने योजना बनाएको एक पत्रकार सम्मेलनमा ट्रम्पले बताएपछि विदेशमन्त्री मार्को रुबियोले अन्य देशहरूले यसलाई ध्यान दिनुपर्ने बताएका छन् ।
इरानका नेता र राजनीतिक व्यक्तित्वहरू त्रसित र स्तब्ध सुनिएका छन् । इरानका लागि यसका असरहरूलाई कम आँक्न सकिँदैन ।
इरानका कट्टरपन्थी विश्लेषक अली गोलहाकीले एक टेलिफोन अन्तर्वार्तामा बताएअनुसार, भेनेजुएला र सिरिया दुवै देशका नेताहरूको पतनमा अर्थतन्त्रको दयनीय अवस्थाले केन्द्रीय भूमिका खेलेको छ । त्यसले जनतामा असन्तोष र सुरक्षाबलमा निराशाको भुमरी सिर्जना गरेको छ । ‘हामी अत्यन्तै सावधान रहनुपर्छ । यहाँ पनि उस्तै परिदृश्य नदोहोरियोस् । इरानका लागि यही पाठ हो,’ गोलहाकीले भने, ‘दंगा नियन्त्रण प्रहरी, सुरक्षाबल र सेना आफ्नो जीविकोपार्जनका लागि संघर्ष गरिरहँदा रक्षापंक्ति ध्वस्त हुन्छ ।’
शुक्रबार ट्रम्पले इरानमा आक्रमण गर्ने धम्की दिएपछि आन्तरिक र बाह्य सुरक्षाको जिम्मा पाएको देशको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले जनआक्रोश बढ्न नदिन कम हिंसाका साथ कसरी विरोध प्रदर्शनलाई नियन्त्रण गर्ने भन्नेबारे छलफल गर्न अबेर राति आपतकालीन बैठक बस्यो । संवेदनशील विषयमा छलफल गरिरहेका हुनाले नाम नखुलाउन अनुरोध गर्ने सरकारी परामर्शसँग परिचित तीन इरानी अधिकारीहरूका अनुसार, उनीहरू सैन्य आक्रमणको सम्भावनाको तयारी पनि गर्न चाहन्थे ।
विरोध प्रदर्शन चर्किएसँगै उच्च अधिकारीहरूले निजी बैठक र कुराकानीहरूमा इस्लामिक गणतन्त्र अस्तित्व रक्षाको स्थितिमा पुगेको स्वीकार गरेको ती तीन अधिकारीहरूले बताए । अशान्ति बढाइरहेको धराशायी अर्थतन्त्रको गम्भीर चुनौती वा इजरायल र अमेरिकासँगको थप द्वन्द्वको खतरासँग जुध्न अधिकारीहरूसँग थोरै विकल्पहरू मात्र बाँकी देखिएका छन् ।
इरानका राष्ट्रपति मसुद पेजेस्कियानले हालैका हप्ताहरूमा सार्वजनिक रूपमा बारम्बार यस्तै कुरा भनेका छन् । एक विन्दुमा उनले इरानका धेरै समस्याहरू समाधान गर्न आफूसँग कुनै विचार नभएको घोषणा समेत गरे ।
‘समाजमा अन्यायपूर्ण हुने कुनै पनि नीति असफल हुने निश्चित छ,’ पेजेस्कियानले बिहीबारको भाषणमा भने, ‘हामीले जनताको कुरा सुन्नुपर्छ भन्ने कुरा स्वीकार गर्नुहोस् ।’ विरोध प्रदर्शन सुरु भएपछिको उनको यो पहिलो सार्वजनिक सम्बोधन थियो ।
देशको आर्थिक संकट समाधान गर्न सरकारले अहिलेसम्म गरेका कामहरू, जस्तै केन्द्रीय बैंकका गभर्नर फेर्ने र मुद्रा नीतिमा परिवर्तनको घोषणा गर्ने जस्ता कार्यहरू, ले निकै कम नतिजा ल्याएका छन् । अर्थतन्त्रलाई साँच्चिकै सुधार्नका लागि ठूला नीतिगत परिवर्तनहरू आवश्यक पर्छन् जसको परिणामस्वरूप प्रतिबन्धहरू हटाउन वाशिङटनसँग आणविक सम्झौता र भ्रष्टाचारमाथि कडा कारबाही हुनुपर्छ । इरान सरकार यस्ता कदम चाल्न कि त अक्षम देखिएको छ कि त इच्छुक छैन ।
देशका समस्याहरू एकअर्कासँग जेलिएको विश्लेषकहरू बताउँछन् । सन् २०१८ मा ट्रम्पले इरानसँगको आणविक सम्झौताबाट बाहिरिएपछि तेल बिक्री र अन्तर्राष्ट्रिय बैंकिङ कारोबारमा लगाएको अमेरिकी प्रतिबन्धले अर्थतन्त्रलाई गम्भीर क्षति पुर्याएको थियो । सेप्टेम्बर महिनामा संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले पुनः प्रतिबन्धहरू लगाएपछि इरानी मुद्रा अझ तल झर्यो । व्यापक भ्रष्टाचार र कुव्यवस्थापनले पनि यसमा भूमिका खेलेको छ ।
इजरायलसँगको निरन्तर द्वन्द्वले इरानको समस्यामा जटिलता थपेको छ । इजरायलले आणविक र सैन्य संरचनाहरूलाई लक्षित गर्दै हत्या र विस्फोटका घटनाहरू गराएको छ भने इरानले लेबनन, गाजापट्टी र पश्चिमी किनारामा उग्रवादी समूहहरूलाई हतियार र आर्थिक सहयोग प्रदान गर्दै आएको छ ।
इजरायलले जुन महिनामा इरानमाथि अचानक आक्रमण गर्यो । त्यसपछि १२ दिने द्वन्द्व सुरु गर्यो र अमेरिकाले इरानका आणविक केन्द्रहरूमा बमवर्षा गरी ठूलो क्षति पुर्याएपछि यो टुंगिएको थियो । सरकारी वार्ताहरूसँग परिचित तीन अधिकारीहरूले एक सातादेखि चिन्ता बढेको बताए । आन्तरिक अस्थिरता जारी रह्यो भने इजरायलले पुनः आक्रमण गर्ने अवसर देख्ने चिन्ता बढेको छ । ट्रम्प र इजरायली अधिकारीहरूको टिप्पणीले ती डरहरूलाई बढाएको अधिकारीहरूले थपे ।
नाम नखुलाउन अनुरोध गर्ने बैठकको विवरणसँग परिचित दुई अधिकारीका अनुसार, पेजेस्कियानले गत साता आफ्नो आर्थिक सल्लाहकार समितिसँग दुईवटा आपतकालीन बैठकहरू गरे र संकट गहिरिएमा मार्गदर्शन र लिखित बुँदाहरू मागेका थिए । केही सल्लाहकारहरूले सुझाव दिएअनुसार पेजेस्कियानले सार्वजनिक भाषणहरूमा दोष अन्यत्र सार्नुपर्छ र इरानको दोहोरो शक्ति संरचनातर्फ संकेत गर्नुपर्छ । त्यसमा मुख्य निर्णयहरू सर्वोच्च नेता आयातोल्लाह अली खमेनीले गर्ने गर्छन् ।
शनिबार खमेनीले राष्ट्रपतिभन्दा कडा अडान लिए र सार्वजनिक भाषणमा दंगा गर्नेहरूलाई तह लगाउनुपर्छ भने । इरानी मुद्राको अवमूल्यन र अन्य आर्थिक समस्याहरूको लागि उनले विदेशी शत्रुहरूलाई दोष दिए । तर, उनले तेहरानका व्यापारीहरूलाई घटबढ भइरहेको मूल्यको विरोध गर्ने अधिकार रहेको कुरा स्वीकार गरे ।
हालको अशान्ति यसै साता ती व्यापारीहरूले विरोधस्वरूप आफ्ना पसलहरू बन्द गरेसँगै सुरु भएको हो । आन्दोलन अन्य शहरहरूमा फैलिएपछि सरकारले स्थितिलाई नियन्त्रणमा लिन आइतबारसम्मका लागि चारदिने देशव्यापी बिदा घोषणा गर्यो । आइतबार तेहरानको बजारका अधिकांश पसलहरू बन्द रहे र छिटपुट विरोध प्रदर्शन तथा दंगा नियन्त्रण प्रहरीको बाक्लो उपस्थितिका खबरहरू आए ।
सामाजिक सञ्जालमा पोस्ट गरिएका भिडियोहरू, इरानी सञ्चारमाध्यमहरू र बीबीसी फारसी सेवाका अनुसार विगत केही दिनमा धेरै ठाउँमा अशान्ति दंगामा परिणत भएको छ । त्यहाँ युवाहरूले सरकारी भवनहरूमा आक्रमण गर्ने, सुरक्षाबलसँग भिड्ने र कार, मोटरसाइकल तथा फोहोरका डिब्बाहरूमा आगो लगाउने गरिरहेका छन् । सुरक्षाबलले प्रदर्शनकारीहरूलाई कुटपिट गरेको छ र अश्रुग्यास प्रयोग गरेको छ । पश्चिमी इरानका शहरहरूबाट आएका केही भिडियोहरूमा गोली चलेको आवाज पनि सुन्न सकिन्छ । आधिकारिक सञ्चारमाध्यमका रिपोर्ट, मानवअधिकारवादी समूह र अन्त्येष्टिका भिडियो फुटेजहरूका अनुसार कम्तीमा आठ प्रदर्शनकारी र दुई सुरक्षा एजेन्ट मारिएका छन् ।
बैठकसँग परिचित दुई व्यक्तिका अनुसार, इरानका विदेशमन्त्री अब्बास अराग्चीले बिहीबार सरकारसम्बद्ध मिडिया संगठनका केही प्रमुखहरूसँग निजी रूपमा भेट गरे र उब्जिँदै गरेको संकटलाई इस्लामिक गणतन्त्रको शासन र राष्ट्रको अस्तित्वका लागि लडाइँ भने । अराग्चीले सञ्चारमाध्यमका प्रतिनिधिहरूलाई वाशिङटनसँगको वार्ताको सम्भावना हाल अस्तित्वमा नरहेको र वाशिङटनसँग संलग्न हुने वा नहुने भन्ने निर्णय आफ्नो हातमा नभएको बताएको ती दुई व्यक्तिले जानकारी दिए ।
एक हप्तादेखि भीडहरू सरकारप्रति आक्रोश व्यक्त गर्न र इस्लामिक मौलवी शासनको अन्त्यको माग गर्न सडकमा उत्रिएका छन् । विरोध प्रदर्शनहरू प्रायः साना शहरहरू, गरिब क्षेत्रहरू र विश्वविद्यालयका क्याम्पसहरूमा भएका छन् । त्यहाँ मानिसहरूले खमेनीको मृत्यु होस् र स्वतन्त्रताको नारा लगाइरहेका थिए ।
केहीले दमनकारीको अन्त्य होस्, चाहे राजा होस् वा सर्वोच्च नेता भन्दै अधिनायकवादी शासनको व्यापक निन्दा पनि गरेका छन् भनेर इरानभित्रका कार्यकर्ता र बासिन्दाहरूले बताए ।
तर, तेहरान शहरको मुटुमा रहेको बजार, विश्वविद्यालय क्याम्पस र केही श्रमिक वर्गका बस्तीहरू बाहेक शहर सामान्य देखिएको बासिन्दाहरूले अन्तर्वार्तामा बताए र सामाजिक सञ्जालका भिडियोहरूले पनि त्यस्तै संकेत गरेका छन् । तेहरानको उत्तरमा रहेका स्की रिसोर्टहरू सम्पन्न पर्यटकहरूले भरिभराउ थिए ।
जेलमा रहेकी नोबेल शान्ति पुरस्कार विजेता नर्गिस मोहम्मदी र फिल्म निर्देशक जाफर पनाही तथा मोहम्मद रसुलोफ लगायत १७ जना इरानी लोकतन्त्रवादी कार्यकर्ताहरूले एक संयुक्त विज्ञप्ति जारी गर्दै सुरक्षाबललाई प्रदर्शनकारीहरूमाथि आक्रमण नगर्न आग्रह गरेका छन् । ‘इरानलाई बचाउने एक मात्र मार्ग इस्लामिक गणतन्त्रबाट मुक्ति हो । यो माग न त अस्थायी छ, न त यसलाई दबाउन सकिन्छ,’ विज्ञप्तिमा भनिएको छ ।








प्रतिक्रिया