मुख्यमन्त्री कँडेलद्वारा भेरी पम्पिङ आयोजनाको अनुगमन


सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले सोमबार भेरी पम्पिङ आयोजनाको अनुगमन गरेका छन ।

सन् २०५० सम्म वीरेन्द्रनगरमा वृद्धि हुनसक्ने जनसङ्ख्यालाई मध्यनजर गरेर अघि बढेको आयोजनाको सोमबार अनुगमन गरेका छन् ।

मुख्यमन्त्री कँडेलले आयोजना लक्ष्यअनुसार तीव्र गतिमा अघि बढेकामा प्रशंसा गर्दै यसलाई निरन्तरता दिनुपर्ने बताए ।

उनले भने, ‘यो आयोजना तीनै तहका सरकारको संयुक्त लागतमा निर्माण भइरहेको छ । आयोजनामा सङ्घीय सरकारको ८० प्रतिशत, प्रदेश सरकारको १३ प्रतिशत र नगरपालिकाको सात प्रतिशत लगानी छ ।’

आयोजनाको निर्माण चिनियाँ कम्पनी ‘सिज्याङ टम्र्स इन्टरनेशनल इकोनोमी एण्ड टेक्निकल कर्पोरेसन’ले गत वर्षदेखि कामलाई निरन्तरता दिएको मुख्यमन्त्री कँडेलले जानकारी दिए ।

उनले भने, ‘विगतमा निर्माण प्रक्रियाका कतिपय चरण पूरा नगरी कार्यान्वयनमा जाँदा केही ढिलाइ भएको थियो । अहिले प्रभावकारी रूपमा काम भइरहेको छ ।’

विगतमा केही समस्या भए पनि प्रदेश सरकार र नगरपालिकाबीच सहकार्य र समन्वय निरन्तर भइरहेको मुख्यमन्त्री कँडेलले जानकारी दिए ।

उनले ठेकेदार कम्पनीलाई यही गतिमा कामलाई निरन्तरता दिन निर्देशन दिए ।

मुख्यमन्त्री कँडेललाई आयोजना परामर्शदाता प्रमुख रमेश अधिकारीले भौतिक प्रगति करिब १४ प्रतिशत भएको जानकारी दिए ।

उनले पहिलो चरणमा तीन अर्ब पाँच करोड आठ लाख १५ हजार २८०.६१ रुपैयाँ लागतमा काम भइरहेको जानकारी दिए ।

भेरी नदीबाट सात किमी दूरीमा रहेको वीरेन्द्रनगर नगरपालिका–११ को अमृतडाँडामा मुख्य रिजर्भ ट्याङ्की निर्माण भइरहेको छ ।

आयोजना सन् २०२७ मा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

‘पम्पिङ’ प्रविधिबाट सुरु गरिएको उक्त परियोजनाले वीरेन्द्रनगरका बासिन्दालाई सन् २०५० सम्म खानेपानी पुग्ने अनुमानसहित निर्माण सुरु गरिएको हो ।