प्राथमिक उपचारपछि सबै यात्रु घर फर्किसके : बुध्द एयर


काठमाडौं । बुध्द एयरले भद्रपुरमा भएको जहाज दुर्घटनामा परि घाइते भएका यात्रुहरु सामान्य उपचारपश्चात घर फर्किसकेको जानकारी दिएको छ ।

बुध्द एयरले आज बिहान आफ्नो आधिकारिक पेजमा सूचना जारी गर्दै दुर्घटनामा परेका यात्रुहरु सामान्य उपचारपश्चात आफ्नो घर फर्केको जानकारी दिएको हो ।

काठमाडौंबाट भद्रपुरका लागि उडेको कलसाइन ९०१ रहेको बुध्द एयरको एटीआर ७२ जहाज भद्रपुर विमानस्थलमा अवतरण गर्ने क्रममा रन-वेको पूर्वतर्फ ३०० मिटर ओभर रन भई जहाज घाँसे झाडी र माटोमा भासिएर शुक्रबार राति दुर्घटना भएको थियो ।

जहाजमा ५१ जना यात्री, चार जना चालक दलका सदस्य र एक जना विमानका इन्जिनियर थिए । कोपाइलटसहित ७ यात्रु सामान्य घाइते घाइते भएका थिए ।

बुध्द एयरले परिस्थिति काबु बाहिर गएको घटनाप्रति कम्पनी निकै गम्भीर भएको बताएको छ । दुर्घटनापश्चात तत्कालै उद्धार कार्यमा तदारुकताका खटिएका नेपाली प्रहरी, नेपाली सेना, नागरिक उड्डयन प्राधिकरण र बुध्द एयरका कर्मचारीप्रति आभारसमेत व्यक्त गरेको छ ।

बुध्द एयरले घटनाको विस्तृत छानबिनका लागि नागरिक उड्डयन प्राधिकरणलाई पूर्ण रूपमा सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएको छ ।