
गोरखा । सन् २०२५ भरि १५ हजार विदेशी पर्यटकले मनास्लु क्षेत्रको अवलोकन भ्रमण गरेका छन् ।
बेमौसमी बाढीपहिरो, हिमपात र जेनजी आन्दोलनका बाबजुद पनि मनास्लु क्षेत्र भ्रमण गर्ने पर्यटकको सङ्ख्या वृद्धि भएको हो ।
त्यसअघि २०२४ मा मनास्लु क्षेत्र भ्रमण गर्ने विदेशी पर्यटकको सङ्ख्या १२ हजार ८०० थियो ।
मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) ले तयार गरेको अभिलेखअनुसार सन् २०२५ भरि १४ हजार ९८० जना पर्यटक गोरखाको मनास्लु क्षेत्र भित्रिएका छन् । चौध हजार ७३८ विदेशी, सार्क राष्ट्रबाट ३४४ र २४० जना स्वदेशी पर्यटक भित्रिएको मनास्लु संरक्षण क्षेत्र आयोजना ९एमक्याप०ले जनाएको छ ।
एमक्याप प्रमुख सन्तोष शेरचनका अनुसार मनासलु क्षेत्र प्रवेश गर्नका लागि १४ हजार ७२१ जनाले अनलाइनमार्फत अनुमति लिएका थिए । यस्तै, १७ जना पर्यटकले एमक्यापको जगत र सामागाउँस्थित चेकपोष्टबाट अनुमति लिएको उनले जानकारी दिए ।
सन् २०२५ मा पर्यटन भित्रिएबापत तीन करोड ८५ लाख ८६ हजार संरक्षण क्षेत्र प्रवेश शुल्क सङ्कलन भएको एमक्याप प्रमुख शेरचनले बताए । जसमध्ये सार्क राष्ट्रका पर्यटकबाट तीन लाख ४४ हजार र नेपाली पर्यटकबाट ४८ हजार सङ्कलन भएको छ ।
मनास्लु क्षेत्र प्रवेशका लागि सार्क राष्ट्रका पर्यटकले प्रतिव्यक्ति रु एक हजार र अन्य राष्ट्रका पर्यटकले रु तीन हजार बुझाउनुपर्ने व्यवस्था रहेको उहाँको भनाइ छ ।
एमक्यापको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८०/८१ मा नौ हजार ७८२ जना, आव २०७९/८० मा सात हजार ७०५ र आव २०७८/७९ मा दुई हजार २८४ जना पर्यटकले मात्र पर्यटकले मनासलु क्षेत्र भ्रमण गरेका थिए । बर्सेनि पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै जानु सुखद भएको एमक्याप प्रमुख शेरचनको भनाइ छ ।
सो क्षेत्र भ्रमण गर्ने पर्यटकको संख्या २०७७/७८ मा सबैभन्दा कम अर्थात् जम्मा एक सय ९४ जना, आव २०७६/७७ मा पाँच हजार ३३८ र आव २०७५/७६ मा सात हजार ६५५ जना रहेको थियो ।








प्रतिक्रिया