
काठमाडौं । नेपाल आयल निगमले आज विहान (१७ पुस)देखि लागू हुनेगरी इन्धनको शुल्क घटाएको छ । आयल निगमले पेट्रोलमा ४ र डिजेलमा ५ रुपैयाँ घटाउदा आन्तरिकतर्फको हवाई इन्धनमा समेत प्रतिलिटर ६ रुपैयाँका दरले घटाएको छ ।
इन्धनको मूल्य प्रति लिटरमै ६ रुपैयाँ घटेका कारण निर्णय गरेर भोलिपल्टैबाट कार्यान्वयन गर्ने व्यवस्था भएको र सोही अनुसार आयल निगमले नयाँ मूल्य दिएसँगै इन्धनको चार्ज घटाउने नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए ।
उनका अनुसार हवाई इन्धनको मूल्यमा १ रुपैयाँ मात्रै पनि तलमाथि हुँदा स्वचालित रुपमा बढ्ने र घट्ने गरेको छ । यसपालि ६ रुपैयाँ प्रतिलिटरकै दरले घटेका कारण आज नेपाल आयल निगमबाट परिमार्जन भएको मूल्य प्राप्त हुनासाथै नयाँ इन्धन शुल्क तोकिने छ ।
इन्धन शुल्कका परिवर्तन भएसँगै हवाई भाडासमेत परिवर्तन हुने छ । वास्तवमा हवाई भाडा थपघट नहुने भएपनि हवाई इन्धनको मूल्यका कारण ग्राहकले तिर्ने हवाई टिकटको शुल्क भने परिवर्तन हुने छ ।
उड्डयन प्राधिकरणका अनुसार सुगमदेखि दुर्गम क्षेत्र सबैतिर इन्धनको मूल्य घट्ने छ । इन्धनको मूल्य अनुसार हवाई भाडामासमेत परिवर्तन आउने भएकोले काठमाडौंबाट नजिकको गन्तव्यमा कम र टाढाको गन्तव्यमा तुलनात्मक रुपमा बढी इन्धन शुल्क घट्ने भएको छ ।








प्रतिक्रिया