सन् २०२६ मा आउँदै छन् लोभलाग्दो डिजाइन र फिचरसहितका यस्ता कार


काठमाडौं । विश्वभरि विद्युतीय गाडी (ईभी) को लहर तीव्र गतिमा फैलिरहेको छ ।

डिजेल र पेट्रोल गाडीको विकल्पका रूपमा उदाएका ईभीहरू अब ‘विकल्प’ मात्र नभई प्रविधि र विलासिताको नयाँ मानक बनिसकेका छन् । प्रमुख अटोमोबाइल कम्पनीहरूले आफ्ना उत्पादनलाई अझ परिष्कृत, शक्तिशाली र पहुँचयोग्य बनाउँदै लैजाँदा सन् २०२६ ईभी बजारका लागि एक ‘क्रान्तिकारी वर्ष’ हुने देखिएको छ।

सन् २०२६ मा अटोमोबाइल बजारमा ह्युन्डाई, टेस्ला र बीवाईडी बाहेक अन्य धेरै प्रतिष्ठित कम्पनीहरूले पनि आफ्ना ‘गेम चेन्जिङ’ मोडलहरू ल्याउँदैछन् । विशेषगरी प्रिमियम र लक्जरी ब्रान्डहरूले सन् २०२६ लाई पूर्ण रूपमा विद्युतीय युगमा प्रवेश गर्ने वर्षका रूपमा लिएका छन् । यसैगरी केही कम्पनीहरूले आफ्ना नयाँ मोडल र अद्यावधिक संस्करणहरू बजारमा उतार्ने तयारी गरेका छन् ।

यस आलेखमा सन् २०२६ मा सडकमा गुड्ने केही प्रतीक्षित विद्युतीय गाडी र तिनका विशेषताका बारेमा चर्चा गरिएको छ ।

१. ह्युन्डाई आयोनिक ९ः ठूला परिवारका लागि ‘लक्जरी’ विकल्प
ह्युन्डाईले सन् २०२६ को मध्यतिर आफ्नो बहुप्रतीक्षित आयोनिक ९ बजारमा ल्याउँदैछ ।

यो गाडी विशेषगरी धेरै स्पेस खोज्ने र ठूला परिवारका लागि डिजाइन गरिएको हो । कारमा १०० किलोवाट आवरको बलियो ब्याट्री प्याक रहनेछ, जसले एक पटकको फुल चार्जमा करिब ५०० किलोमिटरको रेन्ज दिनेछ । ८०० भोल्टको ई–जीएमपी प्ल्याटफर्ममा आधारित यो कारलाई अल्ट्रा–र्यापिड चार्जरबाट मात्र २० मिनेटमा १० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।

कारको सिंगल मोटर भेरिएन्टमा २१५ हर्सपावर र ड्युअल मोटरमा ३८० हर्सपावर हुनेछ । सातजना वयस्कलाई आरामदायी यात्रा गराउन सक्ने यसको इन्टेरियर र ५ वर्षको वारेन्टीले यसलाई डिजेल एसयूभीको बलियो प्रतिस्पर्धी बनाउनेछ ।

२. टेस्लाः रोबोट्याक्सीदेखि नयाँ ‘हाईल्यान्ड’ सम्म
विद्युतीय गाडीको दुनियाँमा टेस्ला सधैं अगाडि छ । सन् २०२६ सम्ममा टेस्लाले आफ्ना चर्चित मोडल ३ र मोडल वाईलाई नयाँ अवतारमा प्रस्तुत गर्नेछ । टेस्लाका मेरुदण्ड कार मोडल थ्री ‘हाइल्यान्ड’ र मोडल वाई ‘जुनाइपर’ को अद्यावधिक डिजाइन र परिष्कृत सफ्टवेयर फिचरहरूका साथ बजारीकरण गरिनेछ ।

टेस्ला मोडल एस र एक्स ‘प्लेड’ संस्करणहरूले हाइ स्पिडको अनुभव दिनेछन् । मोडल एसले ६६० किलोमिटरको रेन्ज दिनेछ भने यसले मात्र ३.१ सेकेन्डमा शून्यबाट १०० किलोमिटर प्रतिघन्टाको गति समात्न सक्छ ।

सन् २०२६ मा टेस्लाले आफ्नो रोबोट्याक्सी, टेस्ला सेमी (ट्रक), रोडस्टर र साइबरट्रकलाई व्यापक रूपमा बजारमा विस्तार गर्ने योजना बनाएको छ ।

३. बीवाईडीः चिनियाँ शक्तिको नयाँ आयाम
चिनियाँ कार निर्माता कम्पनी बीवाईडीले सन् २०२६ मा एट्टो ८ र हान एल जस्ता शक्तिशाली मोडलहरू ल्याउँदैछ । एट्टो ८ले मात्र ३.९ सेकेन्डमा १०० किलोमिटरको रफ्तार लिनेछ र यसमा १ हजार किलोवाटको सुपर फास्ट चार्जिङ क्षमता हुनेछ । ७०० किलोमिटरभन्दा बढी रेन्ज र १ हजार हर्सपावरको विकल्पसहित आउन लागेको हान एल हाईटेक फिचर खोज्नेहरूका लागि उत्कृष्ट हुनेछ ।

बीवाईडीले आफ्ना चर्चित मोडलहरू डल्फिन, एट्टो २ र एट्टो ३ का नयाँ संस्करण पनि सार्वजनिक गर्ने तयारी गरेको छ । विशेषगरी डल्फिनमा ‘ब्लेड ब्याट्री २.०’ र क्वालकमको नयाँ चिपसेट रहनेछ, जसले गाडीको सफ्टवेयरलाई थप स्मार्ट बनाउनेछ ।

४. किया ईभीथ्रीः सानो तर प्रभावशाली
शहरका लागि उपयुक्त सानो र किफायती एसयूभी हो, कियाको ईभीथ्री । यसले विलासी कार किन्न नसक्ने तर ईभीको अनुभव लिन चाहने ग्राहकलाई आकर्षित गर्नेछ । यसको लङ रेन्ज भेरिएन्टमा ८१.४ किलोवाट आवरको ब्याट्री हुनेछ, जसले ४८२ किलोमिटर रेन्ज दिनेछ । रिसाइकल्ड फेब्रिकबाट बनेको ड्यासबोर्ड र १२.३ इन्चका दुईवटा स्क्रिनले कारलाई आधुनिक देखाउँछ । करिब ३५ हजार डलरको बेस प्राइसमा आउने यस कारले मध्यमवर्गीय परिवारका लागि राम्रो विकल्प दिनेछ ।

५. एमजी एस५ ईभीः सुरक्षा र प्रविधिको संगम
सन् २०२६ मा एमजीले आफ्नो एसफाइभ ईभीको नयाँ संस्करण ल्याउने तयारी गरेको छ । यसमा ४९ र ६२ किलोवाट आवरका दुई ब्याट्री विकल्प हुनेछन् । १५१ किलोवाटको नयाँ मोटरले यसलाई थप शक्तिशाली बनाउनेछ । पानारोमिक सनरूफ, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र आईस्मार्ट टेलिम्याटिक्स जस्ता विशेषताले यसलाई प्रविधिमैत्री बनाएका छन् ।

६. होन्डा ‘जिरो सिरिज’
होन्डाले सन् २०२६ देखि आफ्नो नयाँ ईभी सिरिज ‘जिरो सिरिज’ सार्वजनिक गर्दैछ । यसमा ‘सैलुन’ र ’स्पेस–हब’ गरी दुईवटा कन्सेप्ट कारहरू छन् । होन्डाले यो सिरिजनमा ‘थिन, लाइट र वाइज’को सिद्धान्त अपनाएको छ । यी कारहरू निकै पातलो ब्याट्री र हल्का वजनका हुनेछन् जसले गर्दा भित्री भाग निकै फराकिलो हुनेछ ।

यसमा लेभल–३ अटोनोमस ड्राइभिङ फिचर हुनेछ जसले गर्दा राजमार्गमा चालकले स्टेयरिङ छोडेर बस्न सक्नेछन् ।

७. टोयोटाका नेक्स्ट–जेन ईभी
टोयोटाले सन् २०२६ मा आफ्नो नयाँ जेनरेशनको ब्याट्री प्रविधि भएका कारहरू ल्याउँदैछ । टोयोटाले ‘प्रिज्म्याटिक’ ब्याट्री प्रयोग गर्नेछ जसले हालको बीएडफोरएक्स मोडलको तुलनामा दोब्बर रेन्ज (करिब ८००–१००० किमी) दिनेछ । यी कारहरू सफ्टवेयरमा आधारित हुनेछन् जसलाई एरिन ओएस भनिन्छ । यसले गाडीको पर्फर्मेन्सलाई मोबाइल फोन जस्तै अपडेट गर्न अनुमति दिनेछ ।

सन् २०२६ मा टोयोटा -याभ फोर छैटौं जेनेरेसनमा प्रवेश गर्दैछ । टोयोटाले सबै र्‍याभ फोरलाई हाइब्रिड बनाएको छ । यसको बाहिरी बनावट अझै पनि ‘एडभेन्चर–रेडी’ र बोल्ड छ तर भित्री भागमा आधुनिक प्रविधि र राम्रो सामग्रीको प्रयोग गरिएको छ । यसमा थप शक्ति (पावर) र राम्रो माइलेज पाइनेछ । सबैभन्दा राम्रो पक्ष भनेको यसमा अझै पनि भौतिक बटनहरू कायम राखिएको छ ।

८. लुसिडको ग्राभिटी
लक्जरी ईभी निर्माता लुसिडले आफ्नो पहिलो एसयूभी ग्राभिटी सन् २०२६ सम्ममा व्यापक रूपमा उपलब्ध गराउनेछ । यो विश्वकै सबैभन्दा पावरफुल इलेक्ट्रिक एसयूभीमध्ये एक हुनेछ । यसले ७०० किलोमिटरभन्दा बढी रेन्ज दिनेछ र यसको इन्टेरियरमा ३४ इन्चको ‘कर्भ्ड ६के’ डिस्प्ले रहनेछ ।

९. साओमीले ल्याउँदैछ नयाँ एसयूभी
स्मार्टफोन बनाउने साओमीले आफ्नो पहिलो सेडान एसयू७ को सफलतापछि सन् २०२६ मा एसयू८ ल्याउने तयारी गरेको छ । यो कार साओमीको ‘हाइपर ओएस’ मा चल्नेछ, जसले गर्दा साओमीका फोन, ट्याब्लेट र घरका स्मार्ट उपकरणहरूसँग गाडी पूर्ण रूपमा सिंक हुनेछ ।

१०. अडी क्यूथ्री
२०२६ अडी क्यू थ्री नयाँ जेनरेशनमा प्रवेश गर्दैछ । कारमा अझ सार्प डिजाइन, स्मार्ट प्रविधि र परिष्कृत सवारी अनुभव पाइनेछ । अघिल्लो मोडलको तुलनामा यसको बाहिरी र भित्री बनावट निकै लग्जरियस बनाइएको छ । यो फक्सवागनको पछिल्लो प्लेटफर्ममा आधारित छ, जसले गर्दा यसमा इन्धनको कम खपत र क्याबिनमा बढी ठाउँ उपलब्ध हुनेछ ।

यसमा २५५ हर्सपावरको शक्तिशाली टर्बो–४ इन्जिन र सुधारिएको ड्युआल–क्लच ट्रान्समिटन जडान गरिएको छ । भित्रपट्टि नयाँ डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र ठूलो टचस्क्रिन दिइएको छ । कार माइल्ड–हाइब्रिड प्रविधि र भविष्यमा पूर्ण विद्युतीय ‘इट्रन’ संस्करण पनि आउने सम्भावना छ ।

११. माज्दा
माज्दाको सिएक्स फाइभ तेस्रो जेनरेशनमा प्रवेश गर्दैछ । यसको डिजाइन पहिलेभन्दा अझ परिष्कृत र आक्रामक बनाइएको छ । यसमा २.५ लिटरको इन्जिन र ६–स्पीड अटोमेटिक गियरबक्स कायमै रहनेछ । तर, २०२७ मा यसको हाइब्रिड संस्करण आउने चर्चा छ । क्याबिनमा सबैभन्दा ठूलो परिवर्तन भनेको टचस्क्रिन नियन्त्रणको प्रयोग हो, जुन माज्दाका पुराना प्रशंसकहरूका लागि केही विवादास्पद हुन सक्छ । यद्यपि, यसको भित्री सजावट र सामग्रीको गुणस्तर सधैँझैं उत्कृष्ट रहनेछ ।

१२. जीप चेरोकी हाइब्रिड
दुई वर्षको अनुपस्थितिपछि जीप चेरोकी नयाँ अवतारमा फर्किएको छ । यो एक ‘सेल्फ–चार्जिङ’ हाइब्रिड एसयूभी हो जसले पहिलेभन्दा थप माइलेज दिने अनुमान गरिएको छ । यसको डिजाइन पहिलेको तुलनामा अझ वर्गाकार र पावरफुल देखिन्छ । यसमा अफ–रोडिङ क्षमताका साथै आधुनिक ड्यासबोर्ड र स्क्वेर स्टेयरिङ ह्विल दिइएको छ ।

१३. जेनेसिस जीभी९०
जेनेसिस जीभी९० सबैभन्दा विलासी र फ्ल्यागशिप इलेक्ट्रिक एसयूभी हो । यसको डिजाइन ‘नियोलुन’ कन्सेप्टबाट प्रभावित छ, जुन निकै सरल र आकर्षक छ । यसमा ठूलो ब्याट्री र सुपर–फास्ट चार्जिङको सुविधा हुनेछ । भित्री भाग कुनै महँगो लाउन्ज जस्तो हुनेछ, जहाँ केही संस्करणहरूमा पछाडि खुल्ने ‘कोच डोर’ समेत हुन सक्छन् ।

१४. स्लेट ट्रक
यो एक सस्तो र सानो इलेक्ट्रिक ट्रक हो । यो इलेक्ट्रिक ट्रक दुई ढोका भएको र सरल डिजाइनको छ । यसले एकपटकको चार्जमा १५० देखि २४० माइलसम्मको दूरी तय गर्न सक्छ । यो विशेषगरी शहरमा सामान ओसारपसार गर्न र साना व्यवसायका लागि डिजाइन गरिएको हो । यसका बडी प्यानलहरू सजिलै फेर्न सकिने खालका छन् ।

१५. रिभियन
रिभियन आरटु एक मध्यम आकारको इलेक्ट्रिक एसयूभी हो । यसले टेस्ला मोडल वाईसँग प्रतिस्पर्धा गर्नेछ । यसको मूल्य लगभग ४५ हजार डलरबाट सुरु हुने र ३०० माइल भन्दा बढीको रेन्ज दिने अपेक्षा गरिएको छ । यसमा सिंगल, ड्युआल र ट्राइ–मोटर विकल्पहरू उपलब्ध हुनेछन् । रिभियनका लागि यो मोडल बजारमा आफ्नो पकड बलियो बनाउने मुख्य हतियार हुनेछ ।

१६. फोर्ड मुस्ताङ -याप्टर
फोर्डले आफ्नो प्रसिद्ध मुस्ताङ कारलाई अफ–रोड अवतारमा उतार्दैछ । यसमा ५.० लिटरको भी८ इन्जिन हुनेछ जसले ४५० हर्सपावरभन्दा बढी शक्ति दिनेछ । यसमा अग्लो ग्राउन्ड क्लियरेन्स, ठूला टायर र अफ–रोड सस्पेन्सन हुनेछ । यो कार धूलो र बालुवामा पनि मुस्ताङको रफ्तारमा कुद्न सक्ने गरी बनाइएको छ ।

१७. मर्सिडीज–बेन्ज सीएलए क्लास
यो मोडल हाइब्रिड र इलेक्ट्रिक दुवै संस्करणमा उपलब्ध हुनेछ । हाइब्रिडमा १.५ लिटर टर्बो इन्जिन र ४८–भोल्टको सिस्टम हुनेछ । इलेक्ट्रिक संस्करणमा सीएलए २५०प्लस र सीएलए ३५०प्लस मोडलहरू रहनेछन्, जसमा रियर–ह्विल र अल–ह्विल ड्राइभको विकल्प पाइनेछ ।

१८. बीएमडब्ल्यु थ्री सिरिज
बीएमडब्ल्यूको यो आठौं जेनरेशनको स्पोर्टी सेडान हो । यसमा पेट्रोलियम इन्जिन र पूर्ण विद्युतीय दुवै विकल्प उपलब्ध हुनेछन् । यसको डिजाइन ‘न्यु क्लासे’ कन्सेप्टमा आधारित हुनेछ, जसमा निकै आधुनिक र सरल भित्री डिजाइन पाइनेछ । यसमा ‘पानोरामिक भिजन’ नामक नयाँ स्क्रिन सिस्टम हुनेछ जसले ड्यासबोर्डको पूरै चौडाइ ओगट्नेछ ।

यसरी अटो इतिहास सन् २०२६ सम्म आइपुग्दा कारहरूमा आर्टिफिसियल इन्टेलिजेन्स, छिटो चार्ज हुने ब्लेड ब्याट्री र पूर्ण रूपमा लक्जरियस इन्टेरियरको संयोजन हुनेछ । पेट्रोलियम कारमा फिचरसँगै माइलेज बढ्नेछ । डिजाइन परिष्कृत हुनेछ । ईभी कार प्रयोगकर्तामा रेन्ज एन्जाइटी कम हुँदै जानेछ, चार्जिङ पूर्वाधार बढ्दै जानेछ ।