
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
देशको अर्थतन्त्र उकास्ने उद्देश्यसहित नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना गरेको ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक संवादमा अध्यक्ष ढकालले यस्तो बताएका हुन् ।
‘सरकारले विभिन्न क्षेत्रमा सुधारका काम गरे पनि निजी क्षेत्रको संरक्षणको विषय भने अझै राम्रोसँग काम भएको छैन । निजी क्षेत्रले निर्वाधरुपमा काम गर्न सक्ने, ढुक्क भएर लगानी गर्ने वातावरण अझै भएको छैन,’ अध्यक्ष ढकालले भने, ‘प्रदर्शनका नाममा गलत गर्नेहरुमाथि कारबाही नहुँदा दण्डहिनता मौलाउने हो कि भन्ने अवस्था अझै बनेको छ ।’
जेनजी प्रदर्शनका क्रममा भदौ २३ र २४ गते अराजकता मच्चाउनेहरुमाथि कारबाही नभएको भन्दै अध्यक्ष ढकालले यसले निजी क्षेत्र दण्डहिनता मौलाउने त्रासमा रहेको बताए । निजी क्षेत्रमाथि गरिएको आक्रमण र आगजनीले लगानीको वातावरणमा असर पुराएको बताएका ढकालले यसले रोजगारी सिर्जना र मुलुकको समृद्धिको यात्रामा असर गर्ने बताए ।
‘निजी क्षेत्र अझै पनि आन्दोलनका नाममा निसानामा पर्दैनन् भन्ने प्रत्याभूति सरकारले दिलाउन सकेको छैन,’ अध्यक्ष ढकालले भने, ‘निजी क्षेत्र अहिलेको जस्तो कमजोर र न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिए ।’
उनले, व्यापार, व्यवसाय र उद्योग सञ्चालन गर्न चाहनेलाई सबै राजनीतिक दल तथा सरकारले राम्रो वातावरण दिन आवश्यक रहेको बताए ।










प्रतिक्रिया