हेफर इन्टरनेशनल र बुचर प्रालिबीच समझदारी


काठमाडौं । नेपालभर बाख्रापालनमा संलग्न महिला नेतृत्वका सहकारीहरूका लागि संरचनागत, दिगो, भरपर्दो र स्थायी बजार केन्द्रित पहुँच विस्तार गर्ने उद्देश्यले समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ।

महिला किसानको अन्तर्राष्ट्रिय वर्ष २०२६ को अवसरमा हेफर इन्टरनेशनल प्रोजेक्ट नेपाल (एचपीएन) र नेपाली बुचर प्राइभेट लिमिटेडबीच समझदारी भएको छ ।

यो साझेदारीले बाख्रा मूल्य शृंखला सुदृढ गर्नुका साथै सहकारीहरूको नाफा वृद्धि र दिगो तथा समावेशी पशुपालन बजार प्रणाली प्रवद्र्धन गर्ने लक्ष्य राखेको छ ।

हेफर इन्टरनेशनलका अनुसार नेपाली बुचर प्रालि ‘ग्रो टुगेदर ग्रुप’ अन्तर्गतको सहायक कम्पनी हो । यो कम्पनीले काठमाडौं उपत्यकामा पाँच वटा आउटलेट सञ्चालन गरिरहेको नेपालकै अग्रणी मासु खुद्रा सञ्जालमध्ये एक हो ।

उच्च गुणस्तरका उत्पादन, खाद्य सुरक्षाका कडा मापदण्ड र कोल्ड चेन व्यवस्थापनका लागि परिचित नेपाली बुचरले मासु प्रशोधन, ह्यान्डलिङ र खुद्रा बजार व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।

यो कार्यक्रममार्फत मासुको आपूर्ति शृंखला र पेशागत खुद्रा सञ्जालमार्फत महिला नेतृत्वको सहकारीहरूले उत्पादन गरेका बाख्राहरूको बजार सुनिश्चित गरिनेछ । जसले साना किसान र शहरी उपभोक्ताबीचको दूरी घटाउने अपेक्षा गरिएको छ ।

साझेदारीअनुसार बाख्रापालनमा संलग्न महिला नेतृत्वको सहकारी तथा उत्पादक समूहका लागि बजार पहुँच सुदृढ गरिनेछ ।

यस्तै सहकारी र नेपाली बुचरबीच दीर्घकालीन र पेशागत व्यावसायिक सम्बन्ध स्थापना गर्ने, निष्पक्ष, बजार–सम्बद्ध मूल्य निर्धारण र पूर्वानुमान योग्य बिक्री अवस्थामार्फत सहकारीहरूको नाफा वृद्धि गर्ने, निजी क्षेत्रको अनुभव प्रयोग गरी उत्पादन गुणस्तर, आपूर्ति निरन्तरता र बजार तयारी सुधार गर्ने यो कार्यक्रमको प्रमुख उद्देश्य छ ।

यस्तै यो कार्यक्रममार्फत हेफर प्रोजेक्ट नेपालको कार्यक्षेत्रभित्र रहेका सहकारीहरूलाई बाख्राको व्यवस्थित र औपचारिक बिक्रीका लागि नेपाली बुचरसँग जोडिनेछ ।

एचपीएनले सहकारीहरूको सुशासन, व्यवसाय व्यवस्थापन, वित्तीय साक्षरता र उत्पादन सीपमा क्षमता अभिवृद्धि गर्नुका नेपाली बुचरले किसानहरूको वित्तीय सुरक्षाका लागि पारदर्शी र समयमै भुक्तानी सुनिश्चित गर्नेछ ।

पछिल्लो २८ वर्षदेखि हेफर प्रोजेक्ट नेपालले नेपालको मासुजन्य र दूधजन्य क्षेत्रका साथै ग्रामीण समुदाय, विशेषगरी महिला र युवालाई सशक्त बनाउँदै भोकमरी र गरिबी अन्त्य गर्ने दिशामा काम गर्दै आएको छ ।