
राज्यको केन्द्रीय बैंक (नेपालको हकमा नेपाल राष्ट्र बैंक)बाट वित्तीय कारोबार गर्नको लागि निश्चित नियमका आधारमा रही प्रदान गरिने इजाजतपत्र अनुसार स्थापना गरिएका संस्थाहरुलाई बैंक तथा वित्तीय संस्था भन्ने गरिन्छ । देश, काल र परिस्थिति अनुसार बैंकहरुलाई पनि वर्ग छुट्याउने गरिन्छ ।
नेपालमा हाल ४ प्रकारले बैंक तथा वित्तीय संस्थाको वर्गीकरण गरिएको पाहिन्छ । ‘क’ (वाणिज्य बैंक), ‘ख’ (विकास बैंक), ‘ग’ (वित्त कम्पनी) र ‘घ’ (लघु वित्त) रहेका छन । नेपाल सरकारको आवश्यक सेवा सञ्चालन ऐन, २०१४ को दफा ३ को उपदफा १ ले दिएको अधिकार अन्तर्गत बैंकिङ सेवा समेत रहेको छ । बैंकिङ सेवा आजको अत्यावश्यक सेवा भएको छ । आज बैंक बिना मान्छे पानी बिनाको माछा जस्तै भएको कुरा हामी सबैमा सर्वविदितै छ ।
विगत केहि वर्षदेखि नेपाली बैंकिङ क्षेत्रमा विभिन्न नाजायज एवं अराजक घटनाहरु देखिन थालेका छन । जाजरकोट, मकवानपुर, म्याग्दी सुनसरी, उदयपुर, कपिलवस्तु रूपन्देही, कास्की, सप्तरी, सिराहा धनुषा रौतहट आदि स्थानमा बैंक तथा वित्तीय संस्थाका कर्मचारी माथि अमानवीय व्यवहार भएको पाइन्छ ।
यो असाध्यै निन्दनीय छ । बैंक तथा वित्तीय संस्था एउटा संवेदनशील क्षेत्र हो । यस संस्था बिना आजको युग अपुरो हुन्छ ।
आज बैंक तथा वित्तीय संस्थाहरू माथि अराजक फैलाउने र फैलाउन उक्साहट गर्ने केही अमूक व्यक्तिहरूको कारण बैंक तथा वित्तीय संस्थामा एउटा आतंकित हलचल भएको देखिन्छ । बैंक तथा वित्तीय संस्थामाथि आक्रमण अराजक फैलाउने व्यक्तिहरू केवल सरकारमै आएछन् भने पनि बैंक तथा वित्तीय संस्था भन्दा पर रहन सक्दैन । त्यही नियम कानुन भन्दा बाहिर बस्न सक्दैन । उसलाई पनि यो बैंक तथा वित्तीय संस्था आवश्यक हुन्छ ।
बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरूलाई अमानवीय व्यवहार अन्तर्गत विभिन्न क्रियाकलापहरू अराजक गतिविधिहरू निन्दनीय हुन्छ । विभिन्न सङ्घसंस्थाका छाता संगठनहरूले पनि यसको घोर विरोध गरेका छन् ।
बैंक तथा वित्तीय संस्थाबाट कहीँ कतै त्रुटि भएको छ भने कर्मचारीहरू अनाधिकृत रुपमा नियम विपरीत गएको छ भने कानुनी राज्य अन्तर्गत कानुन पालना गरी अगाडि बढ्नु उपयुक्त हुन्छ । कानुन हुँदाहुँदै कानुनको बर्खिलापमा गएर कानुन आफ्नै हातमा लिएर पालना गर्नु लोकतन्त्रको सिद्धान्त विपरीत हुन जान्छ । छलफल संवाद र वार्ता मार्फत कुनै पनि काम अगाडि बढाउन सकिन्छ । यसरी हामी अगाडि बढ्दै जाने हो भने देश जनता राज्यप्रति उत्तरदायी हुनु भनेको एउटा असल र विवेकी देश हुनु हो ।
बैंक तथा वित्तीय संस्थाप्रति विभिन्न व्यक्तिहरू मार्फत समय अन्तरालमा एवं समयकालमा यस्तै प्रकारका उद्दण्डहरू अराजक गतिविधिहरु मच्चाउँदै जाने हो भने आफ्ना कर्मचारीका ज्यान जोगाउनको निम्ति भएपनि बैंक तथा वित्तीय संस्था बन्द गर्नुपर्ने कुरा नेपाल बैंकर्स संघका अध्यक्ष मार्फत पनि आएको छ ।
उद्दण्डलाई नै प्रश्रय दिने हो भने तथा सरकारले यो अराजक प्रवृत्ति नरोक्ने हो भने स्वभाविकै बैंक तथा वित्तीय संस्था बन्द गर्नुपर्ने अवस्था पनि आउन सक्छ ।
यसो भन्दै गर्दा सरकारले सहयोग गरेन भनेको हैन । जति गर्न सक्ने हो त्यो नगरेको अवश्य भान भएको हो । यसो भन्दै गर्दा अन्तिम अवस्थासम्म सहन सक्ने क्षमतासम्म सहेर दुःख खेपेर भए पनि बैंकिङ सेवा सञ्चालन गर्ने प्रतिबद्धता त छँदैछ । सहन सक्ने धैर्यताको बाँध फुटेको अवस्थामा बैंक तथा वित्तीय संस्था बन्द गरी बस्नै पर्ने पनि हुन्छ । यो भन्दा ठूलो दुर्भाग्य नेपालीहरूको लागि केही हुने छैन ।
बैंक तथा वित्तीय संस्था मुटुको चालको धड्कन झैं चलेको छ र चलाउनुपर्छ भन्ने ज्ञान हामी नेपालीमा आउनु पर्छ । संसार बदल्ने, विकासोन्मुख राष्ट्र बनाउने, विकासका ठूला आधार अगाडि बढाउने, लगायतका काम बैंक तथा वित्तीय संस्थाले नै हो गर्ने ।
आज कल्पना गर्नुस्, बैंक तथा वित्तीय संस्था मार्फत साधारण भत्तासमेत देखि लिएर हजारौं रकमहरू अनलाइन भइसकेका छन् । कारोबारहरू बैंक मार्फत गर्ने विभिन्न परिपाटीहरू नियामक निकाय मार्फत आइरहेका छन् । यसको पालना पनि भइरहेको छ ।
२१औं शताब्दीलाई प्रविधि, सूचना र वित्तीय अनुशासनको युग भनिन्छ । यसलाई गम्भीर मनन गर्नु हामी सबैको दायित्व हो । तलब, व्यापार, कर, भत्ता, बिमा, रेमिट्यान्स जस्ता आधारभूत आर्थिक गतिविधि बैंक तथा वित्तीय संस्था मार्फत नै हुने हुन् ।
यस्तो समयमा बैंक र वित्तीय संस्था नहुनु भनेको केवल सेवाको अभाव होइन, समग्र समाजलाई आर्थिक अराजकतर्फ धकेल्नु हो । बैंक पैसाको भण्डार मात्र होइन । यो नागरिकको बचत सुरक्षित गर्ने माध्यम हो, उद्यमशीलतालाई चलायमान बनाउने इन्धन हो र राज्य सञ्चालनको आधार हो ।
आजको युग भनेको डिजिटल युग हो । मोबाइल बैंकिङ, क्युआर भुक्तानी, अनलाइन कारोबार र अन्तर्राष्ट्रिय लेनदेन बैंक बिना कल्पनै गर्न सकिँदैन ।
बैंक नहुनु भनेको देशलाई विश्व अर्थतन्त्रबाट अलग पार्नु हो । अझ गम्भीर कुरा के हो भने बैंक र बैंकिङ कर्मचारी माथि हुने आक्रमण, दुव्र्यवहार र अराजक गतिविधि व्यक्तिमाथिको मात्र होइन, राष्ट्रको आर्थिक स्थायित्वमाथिको हमला हो । यस्तो प्रवृत्तिले लगानीकर्ताको विश्वास तोड्छ, उद्यमशीलता घटाउँछ र बेरोजगारी बढाउँछ ।
निकर्षमा भन्नु पर्दा बैंकलाई केवल सेवा प्रदायक संस्थाका रूपमा होइन, अत्यावश्यक राष्ट्रिय संरचनाका रूपमा बुझ्न आवश्यक छ । बैंक सुरक्षित भए मात्र बचत सुरक्षित हुन्छ, लगानी सुरक्षित हुन्छ र देशको भविष्य सुरक्षित हुन्छ ।
बैंक तथा वित्तीय संस्था बिनाको परिस्थिति एकपल्ट आँखा चिम्म गरेर सोचौं त । के वित्तीय संस्था बिना आज व्यवहार सञ्चालन गर्न सकिन्छ त ? जवाफ सजिलो छ, सकिँदैन ।
त्यसैले बैंकमा उद्दण्ड मच्चाएर समस्याको समाधान पनि हुँदैन । यो अराजक कार्यबाट अलग हुनु पर्छ ।
देशलाई हामीले अगाडि बढाउनको लागि आ–आफ्नो क्षेत्रबाट योगदानमा जुटौं, आफ्नो कर्म गरौं । कसैले केही लोभको लागि लहै लहैमा नपरौं । भोलि यो कार्यले तपाईं हामीले नै हो सास्ती खेप्ने हो । उचाल्नेले कसैलाई उचालेर छोडिदिन्छ, सुरक्षित भुइँमा अवतरण गराउँदैन । यो कुरा समयमा नै बुझौं र बुझाउँ ।
(लेखक कार्की डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालमा कार्यरत छन् ।)










प्रतिक्रिया