
एजेन्सी । चीनसँग हुन सक्ने सम्भावित भिडन्तहरूको तयारीस्वरूप भारतले हिमालय क्षेत्रभरि सडक, सुरुङ र ल्यान्डिङ स्ट्रिप्स निर्माण गर्न करोडौं डलर लगानी गरिरहेको द वाल स्ट्रिट जर्नलले समाचार प्रकाशन गरेको छ ।
यो पहल सन् २०२० मा गलवानमा भएको हिंस्रक भिडन्तपछि सुरु भएको हो । त्यसले वास्तविक नियन्त्रण रेखा भनिने २२ सय माइल लामो विवादित सीमामा महत्त्वपूर्ण लजिस्टिक कमजोरीहरू उजागर गरेको थियो ।
चीनले दशकौंदेखि आफ्ना सीमावर्ती क्षेत्रहरूमा रेलवे र सडकहरूको विस्तृत सञ्जाल विकास गरिसकेको भए तापनि भारत भने आफ्ना हिमाली सीमाक्षेत्रहरूमा द्रुत रूपमा सैनिक परिचालनका लागि आवश्यक पूर्वाधार निर्माणमा पछि परेको थियो । सन् २०२० को भिडन्तको क्रममा १४ हजार फिटको उचाइमा सैनिकहरूले काँडेतार बेरिएका लाठी र मुंग्राहरू प्रयोग गरेर मल्लयुद्ध गरेका थिए ।
विश्लेषकहरूका अनुसार, चीनले केही घण्टाभित्रै आफ्ना अड्डाहरूमा थप सैन्यबल पठाउन सक्थ्यो जबकि भारतलाई त्यस क्षेत्रका कच्ची वा अस्तित्वमै नभएका सडकहरूबाट थप सैनिक पठाउन एक हप्तासम्म लाग्न सक्थ्यो ।
‘सोचमा आएको यो एक नाटकीय परिवर्तन थियो,’ भारत–चीन सीमाका केही अत्यन्त संवेदनशील क्षेत्रहरू रहेको लद्दाखका अपरेशनल लजिस्टिकका पूर्व प्रमुख मेजर जनरल अमृत पाल सिंहले बताए, ‘हामीले हाम्रो समग्र दृष्टिकोण परिवर्तन गर्न आवश्यक छ भन्ने महसुस गर्याैं ।’
उच्च हिमाली भेगमा रहेका सैन्य पोस्टहरूलाई विकट नागरिक बस्तीहरूसँग जोड्नु कतिपय आयोजनाहरूको उद्देश्य हो । विशेषगरी, ती बस्तीहरू कठोर जाडोमा सम्पर्कविच्छेद हुन्छन् ।
सबैभन्दा महत्त्वाकांक्षी आयोजनाहरूमध्ये जोजिला सुरुङ एक हो । त्यो उत्तर भारतको पहाडमा करिब ११ हजार ५०० फिटको उचाइमा खनिएको छ । ७५ करोड डलरभन्दा बढी लागतको यस सुरुङको काम सन् २०२० को सीमा भिडन्तको लगत्तै सुरु भएको थियो ।
भारतको उत्तरी कमान्डका पूर्व कमान्डर लेफ्टिनेन्ट जनरल दीपेन्द्र सिंह हुड्डाका अनुसार, करिब दुई वर्षमा सम्पन्न हुने अपेक्षा गरिएको यो ९ माइल लामो आयोजनाले लद्दाखका सीमावर्ती पोस्टहरूमा आपूर्ति गर्ने कठिन कार्यलाई सहज बनाउनेछ । ती ठाउँहरू भारी हिमपातका कारण वार्षिक ६ महिनासम्म सम्पर्कविच्छेद हुन सक्छन् ।
अहिले आपूर्ति सामग्रीहरू ट्रक वा रेलमार्फत छिमेकी जम्मू–कश्मीरका डिपोहरूमा पुर्याइन्छ र त्यहाँबाट ट्रकका लस्करहरूले ती सामग्री लद्दाखको राजधानी लेह पुर्याउँछन् । त्यहाँबाट साना सवारीसाधनहरूले कच्ची बाटो पार गर्छन् र भरिया तथा खच्चरहरूले समुद्री सतहबाट २० हजार फिट उचाइसम्म आवश्यक खाद्यान्न तथा सामग्रीहरू पुर्याउँछन् ।
‘यो हरेक वर्ष नियमित रूपमा गरिने एक विशाल लजिस्टिक अभ्यास हो,’ हुड्डाले भने । प्रत्येक सैनिकलाई खाना, लुगाफाटा र टूथपेस्ट जस्ता अत्यावश्यक वस्तुहरू सहित प्रतिमहिना करिब २२० पाउन्ड सामग्री आवश्यक पर्दछ । सेन्ट्री पोस्ट र ब्यारेकहरू भएको ३० जना सैनिकको एउटा सामान्य पोस्टले दैनिक करिब १३ ग्यालन इन्धन खपत गर्दछ ।
जोजिला सुरुङले यात्राको समयलाई केही घण्टा घटाउनेछ र वर्षैभरि आपूर्ति सामग्री ढुवानी गर्न सम्भव बनाउनेछ । तापक्रम माइनस ४० डिग्री फरेनहाइटसम्म झर्न सक्ने चरम अवस्थामा १ हजारभन्दा बढी निर्माण कामदारहरूले श्रम गरिरहेका छन् । कामदारहरू र अन्ततः डिजेलबाट चल्ने सैन्य ट्रकहरूका लागि पर्याप्त भेन्टिलेसन कायम राख्नु एउटा प्रमुख इन्जिनियरिङ चुनौती हो ।
पांगोेङ त्सो तालको वरपर तनाव कायमै छ । त्यो सिमानामा अवस्थित छ र भारतीय तथा चिनियाँ सैनिकहरूबीच पटकपटक भिडन्त हुने ठाउँ बनेको छ । सन् २०२० को गलवान उपत्यकाको द्वन्द्वपछि दुवै देशले यस क्षेत्रमा सडक र भवनहरूको निर्माणलाई तीव्र बनाएका छन् ।
उदाहरणका लागि, अस्ट्रेलियन स्ट्राटेजिक पोलिसी इन्स्टिच्युटका वरिष्ठ फेलो राजेश्वरी पिल्लई राजागोपालनका अनुसार बेइजिङले गत वर्ष तालको उत्तरी र दक्षिणी किनारलाई जोड्ने एउटा पुल बनाएको छ जसले गर्दा सैनिकहरूले तालको घुमाउरो लामो बाटो प्रयोग गर्नुको साटो सीधै पार गर्न सक्ने भएका छन् ।








प्रतिक्रिया