रिलायन्सको आईपीओ भर्ने शुक्रबार अन्तिम दिन, आवेदन दिने समय केही घण्टामात्र बाँकी

203
Shares

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा आवेदन दिने शुक्रबार अन्तिम दिन हो । कम्पनीले सोमबारदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन तथा बिक्री खुला गरेकामा शुक्रबार ५ बजेसम्म मात्र आवेदन दिन पाइन्छ ।

हालसम्म आईपीओमा झण्डै २७ गुणा बढी आवेदन परेको छ । रिलायन्सले ९ लाख २४ हजार ७६८ कित्ता आईपीओमा बिक्री खुला गरेकामा शुक्रबार बिहानसम्म ४ लाख ७१ हजार जनाले २ करोड ४७ लाख ८४ हजार कित्ता सेयर माग गरिसकेका छन् ।

करिब ७६ करोड रूपैयाँ बराबरको सेयर जारी गर्न लागिएकामा लगानीकर्ताले २० अर्ब ३४ करोडभन्दा बढी रूपैयाँको सेयरका लागि आवेदन दिएका हुन् ।

यो आईपीओ ५०-५० कित्ताका दरले १८ हजार ४ सय ९५ जनालाई पर्नेछ । शुक्रबार बिहानसम्मको विवरण अनुसार आईपीओ भर्ने हरेक २५ मध्ये एक जनालाई सेयर पर्नेछ ।

रिलायन्सले नेपाल धितोपत्र बोर्डबाट जारी पुँजी १ अर्ब ९० लाखको १०.१४ प्रतिशतले हुन आउने १९ करोड २६ लाख ६० हजार रुपैयाँ बराबरको १९ लाख २६ हजार ६०० कित्ता आईपीओ बुक बिल्डिङमार्फत् जारी गर्ने अनुमति पाएकामा ४० प्रतिशत अर्थात् ७ लाख ६० हजार ६४० कित्ता सेयर योग्य लगानीकर्तालाई बाँडफाँड भइसकेको छ । बाँकी ६० प्रतिशत अर्थात् ११ लाख ५५ हजार ९६० कित्ता सेयर सर्वसाधारणमा जारी गर्ने अनुमति पाएकामा त्यसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि १ लाख १५ हजार ५९६ कित्ता , ५७ हजार ७९८ कित्ता सामूहिक लगानी कोषका लागि र ५७ हजार ७९८ कित्ता सेयर कम्पनीका कर्मचारीका लागि जारी भइ बाँकी रहेको ९ लाख २४ हजार ७६८ कित्ता सेयरमा सर्वसाधारणले आवेदन खुला भएको हो ।

वैदेशिक रोजगार र सामूहिक लगानी कोषतर्फ पनि करिब १७ गुणा बढी आवेदन परी सेयर बाँडफाँट भइसकेको छ ।

कम्पनीले पुस ७ गतेदेखि पुस ११ गतेसम्म आवेदन दिन सक्ने गरी सर्वसाधारणका आईपीओ खुलाएको हो । उक्त आईपीओमा लगानीकर्ताले प्रतिकित्ता ८२० रूपैयाँ ८० पैसाका दरले आवेदन दिनुपर्ने छ । प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले न्यूनतम ५० कित्ता र अधिकतम २० हजार कित्ता सम्म आवेदन दिन सकिनेछ । अर्थात् प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले ५० कित्ताको ४१ हजार ४० रुपैयाँ हुन आउँछ । तसर्थ, यो आईपीओ भर्नका लागि लगानीकर्तासँग ४१ हजार ४० रुपैयाँ हुनुपर्नेछ ।

रिलायन्स स्पिनिङ मिल्स नेपालको सबैभन्दा ठूलो धागो उत्पादक र रोजगारदाता उद्योग हो । कम्पनीले आफ्नो उत्पादनको ७० देखि ७५ प्रतिशतभन्दा बढी उत्पादनहरु भारत, टर्की, भियतनाम, बेलायत लगायत मुलुकहरुमा निर्यात गर्दै आएको छ । वार्षिक ५ करोड अमेरिकी डलरको निर्यात हुन्छ । कम्पनीको मूल–उद्योग सुनसरीको खनार र शाखा उद्योग दुहबीमा रहेको छ । नेपालका प्रतिष्ठित र सफल उद्योपतिहरु पवनकुमार गोल्याण, अक्षय गोल्याण र शशिकान्त अग्रवाल कम्पनीका संस्थापक लगानीकर्ता हुन् ।

कम्पनीको पछिल्लो ५ वर्षको प्रतिशेयर आम्दानी (ईपीएस) को अनुपात हेर्दा वार्षिक ४० रुपैयाँ रहेको छ । आर्थिक वर्ष २०७७/७८ मा ५३.९१ रुपैयाँ, २०७८/७९ मा ६१.१२ रुपैयाँ, २०७९/८० मा ५४.३४ रुपैयाँ, २०८०/८१ मा २.९५ रुपैयाँ र २०८१/८२ मा २७.८७ रुपैयाँ छ । गत आर्थिक वर्षमा अघिल्लो वर्षको तुलनामा ९ ईपीएस ९ गुणा बढेको छ । २०८१/८२ को लेखापरीक्षण गरिएको वार्षिक वित्तीय विवरणमा कम्पनीको वित्तीय अवस्था निकै मजबुत देखिन्छ ।

मंसिर पहिलो साता सार्वजनिक गरिएको लेखापरीक्षण प्रतिवेदनअनुसार कम्पनीले गत आर्थिक वर्षमा १ अर्ब ४८ करोड ९३ लाख ८४ हजार ५४७ रुपैयाँ कूल नाफा गरेको छ, जब कि अघिल्लो आर्थिक वर्षमा यो अंक ८६ करोड ५० लाख ६० हजार ३२५ रुपैयाँ मात्र थियो । गत आर्थिक वर्षमा कम्पनीको खुद नाफा ४७ करोड ५८ लाख ११ हजार ९७९ रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षमा खुद नाफा ५ करोड ३ लाख ८३ हजार ७९३ रुपैयाँ थियो । खुद नाफामा साढे ९ गुणा बढी वृद्धि भएको छ ।

आर्थिक वर्ष २०८०/८१ मा कम्पनीले ५ करोड ४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो भने प्रतिशेयर आम्दानी २ रुपैयाँ ९५ पैसा थियो । गत आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले खुद नाफा ४७ करोड ५८ लाख रुपैयाँ पुर्‍याएको छ । प्रतिशेयर आम्दानी पनि ८४४ प्रतिशतको दरले बढेको छ ।

कम्पनीको रेटिङ पनि राम्रो रहेको छ । साधारण सेयर निष्काशनको लागि ‘क्रेडिट रेटिङ नियमावली, २०६८’ को नियम ३ बमोजिम नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त क्रेडिट रेटिङ संस्था केयर रेटिङ नेपालबाट रेटिङ गराएको छ । केयर रेटिङले कम्पनीलाई ‘केयर एनपी सिंगल ए’ इस्यूअर रेटिङ प्रदान गरेको छ । यसले समयमा नै सुरक्षित रुपले वित्तीय दायित्व बहन गर्न पर्याप्त क्षमता रहेको कम्पनी हो भन्ने बुझाउँछ ।

Skip This