२६ प्रतिशतले बढ्यो मोबाइल आयात, ५ महिनामै पौने २७ अर्बको स्मार्टफोन बिक्री

35
Shares

काठमाडौं । हरेक महिना मोबाइलको आयात बढ्दै गएको पाइएको छ । नेपालमा भित्रिएका स्मार्टफोनको खपत बढेकोले मासिक रुपमा भइरहेको आयातसमेत बृद्धि भएको देखिएको छ ।

भन्सार विभागको तथ्यांक अनुसार नेपालमा चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ५ महिनामा १९ अर्ब १३ करोड ६९ लाख रुपैयाँ भन्सार मूल्यका मोबाइल आयात भएका छन् । विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्ममा आयात भएका यस्ता मोबाइलको संख्या मात्रै १० लाख ७० हजार थान रहेको छ ।

नेपाल भित्रिएका मोबाइलमा १३ प्रतिशतका दरले मूल्य अभिबृद्धि कर (भ्याट) र ५ प्रतिशतका दरले अन्तशुल्क लाग्छ । यो रकमलाई मोबाइल व्यवासायीले एकमुष्ट रुपमा मोबाइल आयात गरेवापत सरकारलाई १८‍.६५ प्रतिशत राजस्व तिर्छन् ।

नेपाल भित्रिएका मोबाइलमा आयातकर्ताले र बिक्रेताले राख्ने ५.५ प्रतिशतको मार्जिन, होलसेल हुँदै रिटेलसम्म पुग्दा जोडिने थप मार्जिन जोडिने गरेको छ । व्यवासीले बिक्री गरेर आम उपभोक्ताले खरिद गर्दासम्म आयात गरेको मूल्यमा उपभोक्तासम्म पुग्दा थप ४० प्रतिशतसम्म मूल्य जोडिने गरेको पनि मोबाइल आयातकर्ता संघको भनाइ छ ।

नेपाल भित्रिएका १९ अर्ब १३ करोड भन्सार मूल्यका मोबाइल बजारबाट उपभोक्ताकोमा पुग्द थप हुने ७ अर्ब ६५ करोडका कारण हाल नेपालमा मोबाइलको बजार २६ अर्ब ७९ करोड रुपैयाँको भएको देखिन्छ ।

पछिल्लो समय महंगा स्मार्टफोनको प्रयोग बढेसँगै आयात पनि सोही अनुपातमा बृद्धि भइरहेको तथ्यांकले देखाएको छ । तथ्यांक अनुसार गत वर्षको मंसिरसम्मको तुलनामा यो वर्षको सोही अवधिसम्ममा स्मार्ट फोनको आयात २६ प्रतिशतले बढेको छ । गत वर्षको मंसिरसम्ममा ९ लाख ९० हजार थान मोबाइल आयात भएकोमा यो वर्षको सोही अवधिमा यस्तो आयात बढेर १० लाख ७० हजार थान पुगेको पनि तथ्यांकमा देखिएको छ ।

मोबाइलको आयात गत वर्षको मंसिरसम्मको तलुनामा यो वर्षको सोही अवधिसम्ममा ३ अर्ब ९५ करोड ५८ लाख रुपैयाँले आयात बढेको छ । गत वर्ष १५ अर्ब १८ करोड रुपैयाँ भन्सार मूल्यका मोबाइल उक्त समयमा आएको भएपनि यो वर्ष बढेर १९ अर्ब १३ करोड रुपैयाँको पुगेको छ ।

पछिल्लो समय भित्रिएको मोबाइलमा २०–२५ देखि ३०–३५ हजार रेन्जका मोबाइलको खपत धेरै देखिएको मोबाइल व्यवसायीको भनाइ छ । औसतमा २५–३० हजार रुपैयाँको मोबाइल प्रयोग हुन थालेको पनि व्यवसायीले मासिक रुपमा बिक्री गर्ने तथ्यांकले देखाइरहेको छ ।