वाल्डो क्यासिनोमा हाई-टेक जुवा: अर्काको तास चिन्न लेन्स लगाएर ठगी

६ जना पक्राउ

623
Shares

काठमाडौं । हवाई टिकट र पाँचतारे होटलमा निःशुल्क बसोबासको प्रलोभन देखाएर भारतीय खेलाडीहरूलाई नेपाल ल्याई क्यासिनोमा आधुनिक प्रविधिको प्रयोग गरी ठगी गर्ने एउटा ठूलो भारतीय गिरोह पक्राउ परेको परेको छ ।

‘महाकाया ग्रुप’ को आयोजनामा काठमाडौंको ठमेलस्थित छायाँ सेन्टरमा रहेको ‘वाल्डो क्यासिनो’ मा डिसेम्बर ११ देखि १४ सम्म सञ्चालन गरिएको विशेष खेलका नाममा यस्तो ठगी धन्दा भएको खुलेको हो ।

सामाजिक सञ्जालमा विज्ञापन गरेर ठगी

गिरोहले भारतभर सामाजिक सञ्जालमार्फत विज्ञापन गरी क्यासिनो खेल्न नेपाल आउनेलाई पशुपति दर्शन, स्टार होटलमा निःशुल्क बस्न र आउन-जान हवाई टिकट समेत ‘फ्रि’ मा दिने प्रचार गरेको थियो । यही विज्ञापनका आधारमा आयोजकले भारतभरका यस्ता चर्चित खेलाडीहरूको खोजी गर्‍यो, जो क्यासिनोमा छिर्नेबित्तिकै जित हात पार्न सक्छन् । सोही प्रलोभनमा परेर करिब २०० जना भारतीय खेलाडीहरू ठूलो गेम जित्ने र पशुपति दर्शन गर्ने सोचसहित नेपाल आएका थिए ।

गेम आयोजक महाकाया ग्रुपका सुरेश महाजनको अगुवाइमा खेलाडीको खोजी भएको थियो । यसमा ‘बीपी ग्रुप’ का बिनोद भनिने जनार्दन उप्रेती जोडिएका थिए, जसले नेपालका होटलहरूमा खेलाडीको कोठा बुकिङदेखि अन्य व्यवस्थापनको जिम्मा लिएका थिए । उप्रेतीले होटल म्यारियोटमा ५० वटा, होटल अलफ्टमा ४० वटा र होटल र्‍याडिसनमा २० वटा कोठा बुक गरेका थिए । उनले नै वाल्डो क्यासिनोमा ‘इन्डियन फलास’ खेलाउन ७ देखि १० वटा टेबल बुक गर्ने जिम्मा लिएका थिए ।

यस इभेन्टमा एनटी ग्रुपका नितेद थक्कर, नातिक ग्रुपका नातिक, आरजी ग्रुपका रजत गोयल, एसजी ग्रुपका सन्तोष गोयल र सेठी ग्रुपका अमित सेठीको समूह समेत सहभागी हुन नेपाल आएका थिए ।

लेन्स र म्याग्नेटिक तासको प्रयोग

ठगीका लागि आयोजकले १० प्रतिशत कमिसनको प्रलोभनमा ‘डमी’ खेलाडीहरूलाई क्यासिनोमा प्रवेश गराएका थिए । जसमा दिनेश वर्मा र विक्रम सिंहले आँखामा विशेष प्रकारको ‘कन्ट्याक्ट लेन्स’ लगाएर खेल्ने गर्थे ।

जिल्ला प्रहरी परिसरका प्रवक्ता पवनकुमार भट्टराईका अनुसार उक्त लेन्स लगाएपछि म्याग्नेटिक तासको पछाडिको भाग सहजै देख्न सकिन्थ्यो । १ करोड रुपैयाँ जितेबापत १० लाख रुपैयाँ कमिसन पाउने शर्तमा उनीहरू आएका थिए । यी खेलाडीहरूले २ देखि ३ घण्टासम्म लेन्स लगाउने गरेका थिए ।

दिनेश वर्माले भारतबाट ४ सेट लेन्स र ५० प्याकेट चुम्बकीय तास खरिद गरेर ल्याएका थिए । जसमध्ये १२ सेट तास उप्रेतीमार्फत क्यासिनोभित्र छिराइएको थियो भने ३८ प्याकेट तास होटलमा राखिएको अवस्थामा फेला परेको छ ।

प्रवक्ता भट्टराईका अनुसार एक जोर लेन्स डमी खेलाडीले लगाएको अवस्थामा फेला परेको थियो भने अन्य २ जना लेन्स लगाएको अवस्थामै भाग्न सफल भएका थिए । तासलाई मिलाउने जिम्मा भने नेपाली महिलाहरू चिजा खड्का, भवानी पाण्डे, प्रतिमा भुजेल र प्रेरणाले लिएका थिए ।

अन्तर्राष्ट्रिय सञ्जाल

महाकाया समूहको सम्बन्ध नेपालसहित भारत, श्रीलंका, भियतनाम र कम्बोडियाको क्यासिनो बजारसम्म रहेको खुलेको छ । यस समूहले विगत दुई वर्षदेखि ‘क्यासिनो प्राइड’ मा इभेन्ट सञ्चालन गर्दै आएको र सो क्यासिनोका सञ्चालक विनय साह र दावा सेट्टी भनिने दावा शेर्पासँग पनि उनीहरूको सम्बन्ध रहेको पाइएको छ ।

दावा शेर्पा हाल प्रहरी हिरासतमा छन् । यसअघि यो समूहले भैरहवाको ‘एलिगेन्ट क्यासिनो’ मा समेत टेबलको सीमा (लिमिटेसन) नगरी यस्तै खेल खेलाएको अनुसन्धानमा देखिएको छ ।

विशेष सूचनाका आधारमा प्रहरीले गरेको अप्रेसनमा ठूलो परिमाणमा तास, हवाई टिकट, राहदानी, नेपाली तथा भारतीय नगद र विभिन्न बैंकका एटीएम कार्ड बरामद गरेको छ ।

हाल प्रहरी हिरासतमा सुरेश महाजन, दिनेश वर्मा, विक्रम सिंह, प्रमोद मौर्य तथा डिलर कर्मचारीहरू चिजा खड्का र भवानी पाण्डे रहेका छन् । तर, गिरोहका अन्य सदस्यहरू जनार्दन उप्रेती (विनोद), गौरव खत्री, निरज कुमार (मोनु), हिरा शेखर मल्ली पुरी, कमल खरबन्दा र मुकेश फरार रहेको भट्टराईले जानकारी दिए ।

त्यस्तै, ‘वाल्डो डाइनेस्टी इन्टरटेन्मेण्ट’ को नाममा कम्पनी रजिष्टार कार्यालयमा दर्ता भएको क्यासिनोका सञ्चालक छान मान छाङ पनि फरार छन् । यस कम्पनीमा हङकङको ‘वाइज पिस डेभलपमेण्ट लिमिटेड’ र पेमा गुरुङको शेयर लगानी रहेको छ । प्रहरीले आयोजकको योजना सफल हुन नदिएको र फरार रहेकाहरूको खोजी कार्य जारी राखेको जनाएको छ ।

Skip This