
एजेन्सी । टर्कीको औपचारिक भ्रमणबाट घर फर्कने क्रममा मंगलबार लिबियाका सेनाप्रमुखको विमान दुर्घटनामा परी मृत्यु भएको देशका प्रधानमन्त्रीले जानकारी दिएका छन् ।
टंकीको राजधानी अंकाराको औपचारिक भ्रमणबाट त्रिपोलीका लागि घर फर्कने उडानको क्रममा दुःखद दुर्घटनामा लेफ्टिनेन्ट जनरल मोहम्मद अल–हदादको उनका चार साथीहरूसहित मृत्यु भएको प्रधानमन्त्री अब्दुलहमद अल–दबेइबाहले एक विज्ञप्तिमा बताएका छन् ।
‘हामीले ठूलो दुःख र शोकका साथ अल–हदाद र उनका चार साथीहरूको मृत्युको खबर प्राप्त गरेका छौं,’ अल–दबेइबाहले थपे ।
संयुक्त राष्ट्र संघको समर्थन प्राप्त राष्ट्रिय एकता सरकारको नेतृत्व गर्ने प्रधानमन्त्रीले यस क्षतिलाई राष्ट्र र सैन्य संस्थाका लागि ठूलो वियोग भन्दै पीडित परिवारप्रति समवेदना प्रकट गरे ।
मृत्यु हुने अन्य चारजना स्थल सेनाका चिफ अफ स्टाफ मेजर जनरल अल–फितौरी घ्राइबेल। सैन्य उत्पादन प्राधिकरणका निर्देशक ब्रिगेडियर जनरल महमुद अल–कातिउई, लिबियाली सेनाका चिफ अफ स्टाफका सल्लाहकार मोहम्मद अल–असावी डियाब र मिडिया कार्यालयका फोटोग्राफर मोहम्मद ओमार अहमद महजुब हुन् ।
टर्कीको सञ्चारमाध्यम सिएनएन टर्कले उक्त विमानमा तीनजना चालक दलका सदस्य रहेको र ती सबै फ्रान्सेली नागरिक भएको रिपोर्ट गरेको छ ।
टर्कीका अधिकारीहरूले यसअघि नै मंगलबार साँझ अंकाराबाट उडेको केही समयपछि अल–हदाद र अरूलाई बोकेको एउटा बिजनेस जेटसँग सम्पर्क टुटेको जानकारी दिएका थिए ।
राति ८ः१० बजे अन्कारा एसेनबोगा विमानस्थलबाट त्रिपोलीका लागि उडेको टेल नम्बर ९एच–डिएफजे भएको फाल्कन ५० बिजनेस जेटसँग स्थानीय समयअनुसार राति ८ः५२ बजे विमानस्थल अधिकारीहरूको सम्पर्क टुटेको टर्कीका गृहमन्त्री अली येर्लिकायाले बताए ।
‘हायमाना नजिकै विमानबाट आपतकालीन अवतरणको सूचना प्राप्त भएको थियो यद्यपि त्यसपछि विमानसँग सम्पर्क पुनः स्थापित हुन सकेन,’ येर्लिकायाले भने । हायमाना अंकाराबाट करिब ८० किलोमिटर दक्षिण–पश्चिममा अवस्थित छ ।
टर्कीका सेनाहरू हायमाना जिल्लाको केसिककावाक गाउँबाट करिब २ किलोमिटर दक्षिणमा विमानको भग्नावशेषसम्म पुगेको पछिल्लो विज्ञप्तिमा येर्लिकायाले बताएका छन् ।
सम्पर्क टुट्नुअघि जेटले विद्युतीय आपतकालीन अवस्था घोषणा गरेको र विमानस्थल फर्कन अनुरोध गरेको सिएनएन टर्कले रिपोर्ट गरेको छ ।
टर्कीका न्यायमन्त्री यिलमाज टन्चले दुर्घटनाको बारेमा अनुसन्धान सुरु गरिएको बताएका छन् । दुर्घटनाका सबै पक्षहरूलाई निकै सावधानीपूर्वक हेरिने उनको भनाइ छ ।
मंगलबारअघि टर्कीको सशस्त्र बलले अल–हदादलाई अंकारामा औपचारिक अतिथिको रूपमा सैन्य समारोहका साथ स्वागत गरिएको जनाएको थियो । समारोहपछि उनले टर्कीका चिफ अफ जनरल स्टाफ जनरल सेल्चुक बायराक्तारोग्लुसँग द्विपक्षीय वार्ता गरेका थिए ।










प्रतिक्रिया