
काठमाडौं । करिब एक दशकपछि काठमाडौंको खुलामञ्च खुला भएको छ ।
२०७३ वैशाखदेखि विभिन्न बहानामा बन्द रहेको खुलामञ्च आइतबारदेखि काठमाडौं महानगरपालिकाले खुला गरेको हो । महानगरपालिकाले पुनर्निर्माण, सजावट र रंगरोगनपश्चात सर्वसाधारणको लागि खुलामञ्च खुला गरेको हो ।
खुलामञ्चमा अधिकाँश राजनीतिक कार्यक्रम सञ्चालन हुँदै आएको थियो । केहि समय यसमा पुरानो बसपार्क पनि सञ्चालन भएको थियो । खुलामञ्चमा अन्तिम पटक २०७३ फागुन १ गते नेत्रविक्रम चन्द नेतृत्वको पार्टीको कार्यक्रम भएको थियो ।
अन्तर्राष्ट्रिय ध्यान दिवसको अवसरमा खुल्ला मञ्चमा पहिलो कार्यक्रम आयोजना गरिएको छ ।
अबको करिब दुई हप्तामा निर्माण व्यवसायीले काम सम्पन्न गरी हस्तान्तरण गरेपछि खुल्ला मञ्च नियमित रूपमा सञ्चालनमा आउनेछ । यद्यपि सर्वसाधारणको पहुँचमा भने आजैबाट खुला गरिएको महानगरले जनाएको छ ।
खुलामञ्च केवल एक चौर मात्र नभई नेपालको लोकतान्त्रिक आन्दोलन र राजनीतिक परिवर्तनको साक्षी पनि हो । तर विगत एक दशकदेखि यो ऐतिहासिक स्थल कहिले निर्माण सामग्री थुपार्ने थलो त कहिले अस्थायी बसपार्कका रूपमा प्रयोग हुँदै आएको थियो ।
अब यो क्षेत्र बिहानी हिँडडुल, योग, ध्यान र खेलकुदका लागि उपयोग गर्न सकिने भएको महानगरको दाबी छ ।








प्रतिक्रिया